चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरोले सडक भासिएपछि अवरुद्ध भएको सडक सञ्चालन गर्ने तयारीस्वरूप डाँडामाथिबाट खोलिएको वैकल्पिक ट्र्याक फराकिलो बनाउन थालिएको छ।
निर्माण सामग्री तथा आवश्यक उपकरण पहिरो गएको स्थानसम्म पुर्याउन सहज होस् भनेर सडकको माथिल्लो भागमा रुख कटान तथा झाडी फाँडेर ट्र्याक खोलिएको हो। नौबिसे–मुग्लिन सडक आयोजनाको पश्चिमखण्डका इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार पहिरो गएको स्थानमाथिबाट निरन्तर काम गरेपछि डाँडामाथिबाट दुवैतर्फ करिब चार मिटर चौडाइको ट्र्याक खोलिएको छ।
उहाँका अनुसार सोमबारदेखि उक्त ट्र्याकलाई थप फराकिलो बनाउने काम सुरु गरिएको हो। अब माथितिर भित्ता काट्ने, सडक चौडा गर्ने, ग्राभेलिङ तथा ग्रेडिङ गर्ने र डिजाइनअनुसार पहिरो व्यवस्थापन गर्नेलगायतका काम गर्न बाँकी छन्।
“हिजो खुलेको ट्र्याक फराकिलो बनाउने काम सुरु गरिएको छ,” इञ्जिनियर मिश्रले भन्नुभयो, “अब डिजाइनअनुसार काम गर्ने वातावरण बनेको छ। निर्माणका लागि आवश्यक प्राविधिक सामग्री र जनशक्तिको अभाव छैन।”
उहाँले आगामी भदौ मसान्तसम्म सर्वसाधारणका सवारीसाधन सञ्चालन गर्न सकिने गरी काम तीव्र पारिएको बताउनुभयो। अहिले खोलिएको ट्र्याक भने मुख्य रूपमा निर्माणमा संलग्न कामदारको आवतजावत तथा निर्माण सामग्री र उपकरण ओसारपसारका लागि मात्र प्रयोग भइरहेको उहाँले स्पष्ट पार्नुभयो।
नयाँ ट्र्याक खोल्ने काम निर्माण कम्पनी शर्मा–जेडआइभी जेभीले गरेको हो। कम्पनीका साइट प्रबन्धक इञ्जिनियर ईश्वर नेपालका अनुसार मुख्य सडकबाट करिब २० मिटर माथि रहेको डाँडाबाट करिब ३५० मिटर लामो ट्र्याक खोलिएको छ।
“ट्र्याक खुलेपछि निर्माण सामग्री लैजान, इन्धन पुर्याउन र कामदारको आवतजावत गर्न सहज भएको छ,” उहाँले भन्नुभयो, “अहिले यो ट्र्याक निर्माण प्रयोजनका लागि मात्रै प्रयोग भइरहेको हो। सर्वसाधारणका लागि नयाँ सडक खुलेको होइन।”
उहाँका अनुसार स्लोप कटिङ, भित्ता काट्ने, ढुङ्गा थुपार्ने तथा ग्रेडिङ मिलाउनेलगायतका काम अझै बाँकी छन्। आपत्कालीन अवस्थामा भने सर्वसाधारण पैदल हिँडेर वारपार गर्न सक्ने अवस्था बनेको उहाँले बताउनुभयो।
अब दुवैतर्फबाट डिजाइनअनुसार सडक निर्माणको काम अघि बढाइने उहाँले जानकारी दिनुभयो। सडक निर्माणलाई तीव्रता दिन आजदेखि थप भारी उपकरणसमेत परिचालन गरिएको छ। दुईवटा एक्साभेटर थपिएसँगै एक्साभेटरको संख्या सात पुगेको छ। त्यस्तै, एक जेसिबी, एक लोडर र दुईवटा बुल्डोजर परिचालन गरिएको छ।
निर्माणको आवश्यकता हेरी थप उपकरणसमेत परिचालन गर्दै जाने तयारी रहेको कम्पनीले जनाएको छ।







बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई
त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईँ समर्थक
त्रिभुवन राजपथको सडक भासियो, एकतर्फी
ब्रिक्समा नेपाल नबोलाइनुको कारण भारत