काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रस्तुति तथ्यपरक, वैज्ञानिक र परिणाममुखी हुनुपर्ने बताउनुभएको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले प्रधानमन्त्री बालेन्द्र साहको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकतामा सीमित नगर्न सुझाव दिनुभएको हो।
नेपालले जलवायु परिवर्तनका कारण भोग्नुपरेका समस्या र क्षतिलाई विश्व मञ्चमा सशक्त रूपमा उठाउनुपर्ने उहाँले बताउनुभयो। विशेषगरी भोटेकोशीमा आएको भीषण बाढीजस्ता प्राकृतिक विपत्तिलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै नेपालको न्यून हरितगृह ग्यास उत्सर्जनका बाबजुद भोग्नुपरेको क्षतिलाई वैज्ञानिक प्रमाणसहित अन्तर्राष्ट्रिय समुदायसमक्ष लैजानुपर्नेमा उहाँले जोड दिनुभयो।
प्रधानमन्त्रीलाई सुझाव दिँदै सभापति थापाले नेपालको प्रस्तुति तयार गर्दा केवल आफ्नै सचिवालयमा निर्भर नभई विज्ञ, विश्वविद्यालयका अनुसन्धानकर्ता तथा सम्बन्धित क्षेत्रका विशेषज्ञसँग परामर्श गर्न आग्रह गर्नुभयो।
नेपालभित्र र विदेशमा रहेका दक्ष जनशक्तिलाई समेत परिचालन गरेर नेपालको अन्तर्राष्ट्रिय प्रस्तुति प्रभावकारी बनाउन सकिने उहाँले बताउनुभयो। साथै, यसअघिका सरकार तथा प्रधानमन्त्रीहरूले अन्तर्राष्ट्रिय मञ्चमा निर्वाह गरेको भूमिका र उठाएका एजेण्डाको समेत अध्ययन गर्न उहाँले सुझाव दिनुभयो।
सभापति थापाले भन्नुभयो, “हामीले वर्षौँदेखि जलवायु परिवर्तनको मारमा परेको कुरा उठाउँदै आएका छौँ, तर अबका दाबी वैज्ञानिक अध्ययनमा आधारित हुनुपर्छ। नेपालले हानि तथा नोक्सानीको मुद्दा मात्र नभई अनुदानमा आधारित जलवायु वित्तका लागि पनि कडा लबिङ गर्नुपर्छ।”
उहाँले यसअघि पनि नेपाली प्रधानमन्त्रीहरू संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भइसकेको उल्लेख गर्दै हिमालदेखि महासागरसम्मका विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाइएको बताउनुभयो।
“पूर्वप्रधानमन्त्रीको कार्यकालमा कोप–२८ मा भएका पहल र अन्य अन्तर्राष्ट्रिय मञ्चमा उठाइएका ‘क्लाइमेट जस्टिस’का विषयलाई निरन्तरता दिँदै अहिलेको तयारीलाई थप मजबुत बनाइनुपर्छ,” उहाँले भन्नुभयो।
सभापति थापाले प्रधानमन्त्रीको महासभा सहभागितालाई केवल ‘ग्रान्ड शो’का रूपमा नलिई देशका लागि ठोस उपलब्धि हासिल गर्ने अवसरका रूपमा सदुपयोग गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।
सही तयारी र विज्ञहरूको परामर्शका आधारमा नेपालको प्रस्तुति अघि बढाउन सके अन्तर्राष्ट्रिय स्तरमा नेपालको मुद्दालाई थप स्थापित गर्न सकिने उहाँको भनाइ थियो।







जलवायु परिवर्तनको असर न्यूनीकरण तथा
एनपीएलमा अहिलेसम्मकै ठूलो ‘स्टार’ इन्ट्री,
विपद् व्यवस्थापनमा संसदीय उच्चस्तरीय समिति
विपद् उद्धारका लागि भक्तपुर प्रशासनले
न्याय परिषद्को निर्णय : तीन
आईसीयूभित्रै अन्तर्वार्ता प्रकरण संसदमा प्रवेशः