गोरखा । बाढीका कारण मनास्लु संरक्षण क्षेत्रअन्तर्गतको मनास्लु पदमार्ग अवरुद्ध भएको छ। आज बिहान बूढीगण्डकी र थेराङ खोलामा आएको बाढीले पदमार्गका दुईवटा पुल बगाएपछि आवागमन प्रभावित भएको हो।
बाढीले दुईवटा पुल बगाएपछि जिल्ला प्रशासन कार्यालय गोरखाले अर्को सूचना जारी नभएसम्म मनास्लु पदमार्ग तथा लार्केपास यात्रामा रोक लगाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४, नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलामा आएको बाढीले दुईवटा पुलसँगै दुईवटा लघुजलविद्युत् आयोजना पनि बगाएको छ। हालसम्म बाढीबाट कुनै मानवीय क्षति नभएको उहाँले जानकारी दिनुभयो।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा यात्रा गर्ने तयारीमा रहेका तथा यात्रामा रहेका सबैलाई अर्को सूचना जारी नभएसम्म मनास्लु पदमार्ग र लार्केपासतर्फको यात्रा नगर्न तथा नगराउन अनुरोध गरिएको छ।
पुल बगाएपछि स्थानीयवासीसँगै पदयात्री तथा पर्यटकसमेत प्रभावित भएका छन्। नाम्रुङका स्थानीय लाक्पा डुन्डुपले बाढीपहिरोका कारण गाउँबाट तल र माथि जाने दुवै पुल बगाउँदा आवतजावत पूर्ण रूपमा प्रभावित भएको बताउनुभयो।
“बाढीपहिरोले हामीलाई सङ्कटमा पार्यो। गाउँबाट तल जाने पुल पनि लग्यो, माथि जाने पुल पनि बगायो। कतै जान पनि नमिल्ने भयो,” उहाँले भन्नुभयो।
दुईवटा लघुजलविद्युत् आयोजना बगाएपछि नाम्रुङ क्षेत्रमा विद्युत् तथा सञ्चार सेवा प्रभावित भएको छ। विद्युत् अभावका कारण विद्युतबाट सञ्चालन हुने अन्य सेवासमेत प्रभावित भएका स्थानीयले बताएका छन्।
यसैबीच, बाढीका कारण मनास्लु क्षेत्रको यस वर्षको शरद ऋतुको पर्यटकीय गतिविधि प्रभावित हुने भएको छ। पर्यटन विभागका अनुसार यस वर्षको शरद ऋतु अर्थात् असोज र कात्तिकमा मनास्लु हिमाल आरोहणका लागि २९ टोलीका ३४८ आरोहीले अनुमति लिएका छन्।
विभागका अनुसार हालसम्म शरद ऋतुमा हिमाल आरोहणका लागि कुल ३२ टोलीका ३६७ आरोहीले अनुमति लिएका छन्। तीमध्ये मनास्लु आरोहणका लागि मात्रै २९ टोलीका ३४८ आरोही रहेका छन्।
मनास्लु क्षेत्रमा पर्यटक आवागमन सुरु हुनै लागेका बेला पुल बगाएपछि पदयात्रा तथा आरोहण गतिविधिमा समेत प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ। लार्केपासतर्फ गएका सयौँ पर्यटक बूढीगण्डकीमाथिको पुल बगेपछि बाटोमै अलपत्र परेका छन्।







भाद्र शुक्ल तृतीया : विधिपूर्वक
हरितालिका तीजमा पशुपतिनाथसहित शिवालयमा श्रद्धालुको
विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका
बर्दियामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको
नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन