मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–८ साततल्लेमा कुटपिटपछि घर तोडफोड गर्नुका साथै मोटरसाइकलमा आगजनी भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार राति करिब ११ः५५ बजे बागमती गाउँपालिका–६ कायरका मिलन पाख्रिनका छोरा अन्दाजी २३ वर्षीय ‘टम्बा’ भन्ने निसान पाख्रिनले मादक पदार्थ सेवन गरी आफ्ना कान्छा काका बुद्ध भन्ने मिलन पाख्रिन र हजुरबुबा अन्दाजी ५५ वर्षीय रामबहादुर पाख्रिनसँग विवाद गरेका थिए।
विवादका क्रममा निसानले काका मिलन पाख्रिनको जस्ताले छाएको इँटा र सिमेन्टबाट निर्मित चारकोठे भुइँतले घरको ढोका तथा झ्यालमा तोडफोड गरी क्षति पुर्याएको प्रहरीले जनाएको छ।
त्यसपछि उनले घरमा रहेको ना.४२ प.६३६६ नम्बरको १५० सीसी पल्सर मोटरसाइकलमा आगजनी गरेको प्रहरीले जनाएको छ। आगजनीबाट मोटरसाइकल पूर्णरूपमा जलेर नष्ट भएको छ।
निसानले नजिकै रहेको हजुरबुबा रामबहादुर पाख्रिनको घरको ढोका तथा झ्यालमा समेत तोडफोड गर्नुका साथै उहाँलाई कुटपिट गरेको प्रहरीको भनाइ छ।
कुटपिटबाट रामबहादुरको टाउको, दुवै हात तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उहाँलाई उपचारका लागि स्थानीय झुरेझुरेमा रहेको साम्भि पोलिक्लिनिक लगिएकोमा थप उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। घटनामा बुद्ध पाख्रिनको समेत उपचार भइरहेको छ।
प्रहरीले कुटपिट, तोडफोड तथा आगजनीमा संलग्न निसान पाख्रिनलाई नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।







बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई
त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईँ समर्थक
त्रिभुवन राजपथको सडक भासियो, एकतर्फी
ब्रिक्समा नेपाल नबोलाइनुको कारण भारत