काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै राहत, उद्धार र पुनर्निर्माणमा प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गर्नुभएको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै नेता केसीले विपद् व्यवस्थापनमा सरकारको कार्यशैली र समन्वयको अभावप्रति प्रश्न उठाउनुभएको हो।
नुवाकोट, रसुवा र धादिङलगायत क्षेत्रमा भएको विनाशलाई उहाँले ‘हिमाली सुनामी’को संज्ञा दिनुभयो। विपद्का समयमा पूर्वसूचना प्रणाली प्रभावकारी हुन नसकेको गुनासो गर्दै नेता केसीले सरकारमा ‘नार्सिसिस्ट साइकोलोजी’ अर्थात् अहंकारी प्रवृत्ति हाबी भएको आरोप लगाउनुभयो।
नेपालका करिब २ हजार ३ सय तालतलैयामध्ये २१ वटा हिमताल अत्यन्त जोखिमपूर्ण अवस्थामा रहेको र तीमध्ये ४–५ वटा हिमताल विष्फोटको उच्च जोखिममा रहेको उहाँले बताउनुभयो। यस विषयमा आफूले डेढ महिनाअघि नै संसद्मा सरकारको ध्यानाकर्षण गराएको उहाँले स्मरण गर्नुभयो।
यस्ता जोखिमको वैज्ञानिक आकलन गरी राज्यले पूर्वतयारी गर्न नसकेको नेता केसीको भनाइ छ।
उहाँले विपद् व्यवस्थापनलाई ‘रेस्क्यु’ (उद्धार), ‘रिलिफ’ (राहत) र ‘रिह्याबिलिटेसन’ (पुनस्र्थापना) गरी तीनवटा पक्षमा केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो।
विशेषगरी रसुवा र नुवाकोटका धेरै क्षेत्र अझै सम्पर्कविहीन रहेको उल्लेख गर्दै उहाँले स्थानीय तह, समुदाय र सरकारबीच प्रभावकारी तथा एकीकृत समन्वय आवश्यक रहेको बताउनुभयो।
नेता केसीले आगामी दिनमा ‘स्टेकहोल्डर भिक्टिम ड्रिभन’ अर्थात् पीडितकेन्द्रित पुनर्निर्माणको मोडल अपनाउनुपर्ने सुझाव दिनुभयो।
उहाँले भन्नुभयो, “हामी आफैँ सक्षम छौँ, विदेशी सहयोग चाहिँदैन भन्ने हिसाबले सरकार प्रस्तुत भयो। विदेशी प्राविधिकहरू सहयोगका लागि तयार हुँदाहुँदै पनि सरकारले अस्वीकार गर्नु र संसद्मा प्रधानमन्त्रीले फरक धारणा राख्नुले उद्धार कार्यमा कमजोरी देखिएको छ। अब आगामी दिनमा ‘स्टेकहोल्डर भिक्टिम ड्रिभन’ पुनर्निर्माणको मोडल अपनाउनुपर्छ।”
विपद्को समयमा राजनीतिक दलहरूबीच एकता र सहकार्य आवश्यक रहेको बताउँदै नेता केसीले सरकारले तत्काल सर्वदलीय बैठक बोलाउनुपर्ने माग गर्नुभयो।
साथै, संसद्को तर्फबाट विपद् प्रभावित क्षेत्रमा अनुगमन, सुपरिवेक्षण र समन्वय गर्न ‘उच्चस्तरीय संसदीय समिति’ गठन गर्नुपर्ने मागसमेत उहाँले गर्नुभएको छ।







विपद् उद्धारका लागि भक्तपुर प्रशासनले
न्याय परिषद्को निर्णय : तीन
आईसीयूभित्रै अन्तर्वार्ता प्रकरण संसदमा प्रवेशः
पुर्चौडीमा पहिरोले एक घर पूर्ण
पहिचान भइसकेका शव तत्काल परिवारलाई
सम्पत्ति शुद्धीकरण विभागका डिजीलाई पेस्तोल