लण्डन । युरोपेली फुटबलका प्रमुख लिगमा नयाँ सिजनको सुरुवाती चरणमै अप्रत्याशित नतिजाहरू देखिन थालेका छन् । फ्रान्समा साबिक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी)ले १९ वर्षयताकै खराब सुरुवात गर्दा इटालीमा इन्टर मिलानले दुई गोलले पछि परेको अवस्थामा सानदार पुनरागमन गरेको छ । यता, म्यानचेष्टर सिटीले लगातार तेस्रो जित निकाल्दा एट्लेटिको मड्रिड र टोटनहमले भने निराशाजनक नतिजा बेहोरेका छन् ।
फ्रेन्च लिग वानमा पिएसजी घरेलु मैदानमै मोनाकोसँग २-१ ले पराजित भयो । हारसँगै पिएसजीले सिजनका सुरुवाती तीन खेलमा जित निकाल्न सकेको छैन । टोलीले तीन खेलबाट दुई अंकमात्रै जोडेको छ, जुन सन् २००७-०८ सिजनयताकै उसको सबैभन्दा खराब सुरुवात हो ।
मोनाकोविरुद्ध पिएसजीले पहिलो हाफमा १-० को अग्रता बनाएको थियो । तर, दोस्रो हाफमा दुई गोल खाएपछि घरेलु टोली स्तब्ध बन्न पुग्यो । तीन खेलबाट दुई अंकमात्र जोडेको पिएसजी अहिले सुरुवाती चरणमै शीर्ष स्थानभन्दा सात अंक पछाडि परिसकेको छ । सन् २००७-०८ मा पनि पिएसजीले निकै खराब सुरुवात गरेको थियो । त्यतिबेला टोलीले लिगका पहिलो ६ खेलसम्म जित निकाल्न सकेको थिएन र अन्ततः रेलिगेसन क्षेत्रभन्दा केवल तीन अंक माथि रहेर सिजन सकेको थियो । पिएसजीले अब बुधबार घरेलु मैदानमा स्लोभान ब्रातिस्लाभालाई आतिथ्य गर्दै च्याम्पियन्स लिगको नयाँ अभियान सुरु गर्नेछ ।
यता, इटालियन सिरी ‘ए’ मा भने लाउटारो मार्टिनेज इन्जुरी समयमा नायक बनेपछि इन्टर मिलानले उपाधि प्रतिद्वन्द्वी नापोलीलाई ३-२ ले पराजित गरेको छ । दुई गोलले पछि परेको इन्टरले घरेलु मैदान सान सिरोमा सानदार पुनरागमन गर्दै लगातार तेस्रो जित निकालेको हो । नापोलीले माटेओ पोलिटानो र रास्मुस होयलुन्डको गोलमा ५०औँ र ५३औँ मिनेटमा २-० को अग्रता बनाएको थियो । तर, त्यसको तीन मिनेटपछि मार्टिनेजले इन्टरका लागि पहिलो गोल गर्दै खेलमा पुनरागमनको संकेत दिनुभयो । मार्कस थुरामले ८२औँ मिनेटमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याउनुभयो । खेल बराबरीतर्फ अग्रसर भएको समयमा इन्जुरी समयको दोस्रो मिनेटमा मार्टिनेजले निर्णायक गोल गर्नुभयो । जितसँगै इन्टरले सिजनका सुरुवाती तीनै खेल जित्दै उपाधि रक्षा अभियानलाई बलियो बनाएको छ । नयाँ प्रशिक्षक मासिमिलियानो एलेग्रीको नेतृत्वमा रहेको नापोलीले भने लगातार दोस्रो हार बेहोरेको छ । यसअघि टोली कोमोविरुद्ध पराजित भएको थियो । इन्टरले अब मंगलबार च्याम्पियन्स लिगको पहिलो खेलमा रियल म्याड्रिडको सामना गर्नेछ ।
यसैगरी, इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटीले कोभेन्ट्री सिटीलाई १-० ले हराउँदै लगातार तेस्रो जित निकालेको छ । आइतबार बिहान घरेलु मैदान इत्तिहादमा एर्लिङ हाल्याण्डले गरेको एकमात्र गोल सिटीको जितका लागि पर्याप्त बन्यो । नर्वेजियन स्टारले खेलको २६औँ मिनेटमा एन्टोइन सेमेन्योको पासमा निर्णायक गोल गर्नुभएको थियो । यो गोलसँगै हाल्याण्डले आफ्नो करियरमा ३०० गोलको आँकडा पूरा गर्नुभएको छ । बाँकी समयमा दुवै टोलीले अवसर बनाए पनि थप गोल हुन सकेन ।
लगातार तेस्रो जितसँगै सिटी नौ अंकसहित शीर्ष स्थानमा यथावत् छ । टोलीले तीन खेलमा सात गोल गरेको छ भने केवल दुई गोल बेहोरेको छ । साबिक विजेता आर्सनलले एक खेल कम खेल्दै ६ अंक जोडेको छ । पराजित कोभेन्ट्री भने तालिकाको पुछारमा रहेको छ ।
यस्तै, स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले सिजन २०२६-२७ को पहिलो हार बेहोरेको छ । आइतबार बिहान एट्लेटिक क्लबको मैदानमा एट्लेटिको ३-० ले पराजित भएको हो । बिल्वाओमा करिब ४८ हजार समर्थकमाझ घरेलु टोलीलाई जिताउन निको विलियम्स, रोबर्ट नाभारो र ओइहान सान्सतले समान एक-एक गोल गर्नुभयो । तीनै गोल दोस्रो हाफमा सम्भव भएका थिए । हारपछि एट्लेटिको चार खेलबाट सात अंकसहित छैटौं स्थानमा छ । यो खेल जितेको भए टोली शीर्ष स्थानमा उक्लने अवसर थियो, तर खराब हारसँगै त्यो मौका गुमायो । दोस्रो जित निकालेको एट्लेटिक क्लब भने सातौं स्थानमा उक्लिएको छ । ला लिगाकै अर्को खेलमा भिल्लारियल डिपोर्टिभो कोरुनासँग ३-२ ले पराजित भयो ।
इंग्लिस प्रिमियर लिगमा टोटनहमले पनि नयाँ सिजनमा खराब प्रदर्शनलाई निरन्तरता दिएको छ । आइतबार बिहान सिजनको तेस्रो खेलमा टोली नटिंघम फोरेस्टसँग गोलसहित बराबरीमा रोकिएको हो । योसँगै टोटनहमले तीन खेलपछि पहिलो अंक जोडेको छ । एक अंकसहित टोली तालिकाको १७औँ स्थानमा छ । बराबरी खेलेको फोरेस्टले भने दुई अंक जोडेको छ । टोटनहमले पहिलो खेलमा ब्रेन्टफोर्डसँग ३-० तथा दोस्रो खेलमा न्युक्यासल युनाइटेडसँग २-० को हार बेहोरेको थियो । पछिल्लो सिजनको कमजोर प्रदर्शनपछि यसपटक पनि टोलीले लय समात्न नसकेको देखिएको छ । प्रिमियर लिगका अन्य खेलमा क्रिस्टल प्यालेसले फुलहमलाई ३-२ ले हरायो । ब्राइटन र लिड्स युनाइटेडले १-१ को बराबरी खेले । यो बराबरीसँगै दुवै टोलीले शीर्ष स्थानमा उक्लने अवसर गुमाए । ब्रेन्टफोर्ड र सन्डरल्याण्डबीचको खेल पनि १-१ को बराबरीमा सकियो । यस्तै, मध्यरातमा भएको अर्को खेलमा हल सिटी र एस्टन भिल्लाले गोलरहित बराबरी खेले । हल सिटी भने लगातार तेस्रो जित निकाल्नबाट वञ्चित भएको छ । यद्यपि, यसै सिजन प्रिमियर लिगमा बढुवा भएको टोली सात अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ ।
एजेन्सी







बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र
सुनसान छन् सौराहाका होटल, पर्यटक
ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा