काठमाडौं । नेपाली युवा किक बक्सर अविरल घिमिरेले अन्तर्राष्ट्रिय किक बक्सिङको रिङमा पुनः ऐतिहासिक सफलता हात पार्नुभएको छ । जापानको नागोया शहरस्थित करिया हलमा सम्पन्न ‘हिट किक बक्सिङ-५९’ अन्तर्राष्ट्रिय खेलकुद किक बक्सिङ महासंघको विश्व च्याम्पियनसिपअन्तर्गतको मेन इभेन्टमा घिमिरेले फ्रान्सका विश्व च्याम्पियन बक्सर माथन चोइनार्डलाई नकआउट गर्दै प्रभावशाली जित दर्ता गर्नुभएको हो ।
‘हिमालयन चितुवा’ उपनामले परिचित घिमिरेले दोस्रो राउण्डको दोस्रो मिनेटमा चोइनार्डमाथि शक्तिशाली मुक्का प्रहार गर्दै नकआउट जित निकाल्नुभएको थियो । सन् २०२५ का विश्व च्याम्पियन चोइनार्डलाई पराजित गर्नु घिमिरेको अन्तर्राष्ट्रिय करियरकै महत्त्वपूर्ण उपलब्धिमध्ये एक बनेको छ ।
घिमिरेले हालसम्म २९ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसक्नुभएको छ । तीमध्ये २१ खेलमा जित हात पार्नुभएका उहाँले २० खेल नकआउटमार्फत् जित्नुभएको छ । यससँगै उहाँ नेपाली किक बक्सिङमा अन्तर्राष्ट्रियस्तरमा लगातार प्रभाव जमाउँदै आएका खेलाडीका रूपमा स्थापित हुनुभएको छ ।
घिमिरेको पछिल्लो जितले नेपाली खेलकुदको अन्तर्राष्ट्रिय पहिचानलाई थप उचाइ दिएको छ । किक बक्सिङमार्फत् नेपालको गौरव, साहस र पहिचानलाई विश्वसामु पुर्याउने अभियानमा घिमिरे पछिल्लो समय नेपाली खेलकुदका चम्किला प्रतिभाका रूपमा देखिनुभएको छ ।
प्रतियोगितामा जित हासिल गरेपछि घिमिरेले नेपालमा हालै आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित परिवार तथा पीडितलाई सहयोग गर्ने जानकारीसमेत दिनुभएको थियो ।
रिङमा अन्तर्राष्ट्रिय प्रतिद्वन्द्वीलाई पराजित गर्दै नेपालको झण्डा उँचो बनाउनुभएका घिमिरेको पछिल्लो सफलताले नेपाली किक बक्सिङप्रति थप आशा र उत्साह जगाएको छ ।







ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न