काठमाडौं । साउदी अरेबियालाई पाँच विकेटले पराजित गर्दै नेपाल एसिसी प्रिमियर कप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको बायुमास ओभलमा आइतबार भएको खेलमा साउदीले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्दै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गराएको हो । टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले निर्धारित ओभर पूरा गर्नुअघि नै सबै विकेट गुमाउँदै १९० रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले संयमित प्रदर्शन गर्दै ४१ ओभरमा १९३ रन बनाएपछि पाँच विकेटको सहज जित हात पार्यो ।
नेपालको जितमा इशान पाण्डेले महत्त्वपूर्ण योगदान गर्नुभयो । उहाँले ५९ बलको सामना गर्दै दुई चौकाको मद्दतमा सर्वाधिक ४० रन बनाउनुभयो । देव खनालले ३९ रन जोड्दा कप्तान रोहितकुमार पौडेल २४ रनमा अविजित रहनुभयो । त्यस्तै आसिफ शेखले २० तथा अर्जुन कुमालले १५ रन बनाउनुभयो । नेपालले सुरुवातमा केही विकेट गुमाए पनि मध्यक्रमका ब्याटरले संयमित प्रदर्शन गर्दै टोलीलाई जितसम्म पुर्याए । लक्ष्य धेरै ठूलो नभएकाले नेपाली ब्याटरले जोखिम कम लिँदै खेललाई आफ्नो नियन्त्रणमा राखेका थिए ।
यसअघि ब्याटिङ गरेको साउदी अरेबियाका लागि ओपनर अब्दुल वाहिदले उत्कृष्ट अर्धशतकीय पारी खेल्नुभयो । उहाँले ८९ बलमा १० चौका र दुई छक्कासहित सर्वाधिक ७७ रन बनाउनुभयो । मुहम्मद अतिफले ३० तथा मोहम्मद हिशाम शेखले २८ रनको योगदान गर्नुभयो । साउदीको इनिङ्समा वाहिद र अतिफबीचको साझेदारी महत्त्वपूर्ण रह्यो । दोस्रो विकेटका लागि यी दुईले ९४ रनको साझेदारी गर्दै साउदीलाई सम्मानजनक योगफलतर्फ अघि बढाउनुभएको थियो । खेलको २.१ ओभरमा पहिलो विकेट गुमाएको साउदीले त्यसपछि लामो समयसम्म विकेट जोगाउँदै रन जोडेको थियो । वाहिद र अतिफ २२.६ ओभरसम्म क्रिजमा रहँदै ९४ रनको साझेदारी गर्न सफल हुनुभयो । तर, त्यसपछि नेपाली बलरले लगातार दबाब सिर्जना गरेपछि साउदीको मध्य तथा तल्लो क्रम टिक्न सकेन । नेपालका स्टार लेग स्पिनर सन्दीप लामिछाने र अलराउण्डर दीपेन्द्रसिंह ऐरीले समान तीन–तीन विकेट लिनुभयो । ललित राजवंशीले दुई विकेट हात पार्दा शेर मल्ल र गुल्शन झाले समान एक विकेट लिनुभयो । साउदीको इनिङ्सलाई १९० रनमै सीमित गर्न नेपाली बलरले निर्णायक भूमिका खेले । सुरुवातमा साझेदारी तोड्न संघर्ष गरे पनि त्यसपछि नियमित अन्तरालमा विकेट निकाल्दै नेपालले विपक्षीलाई ठूलो स्कोर बनाउनबाट रोक्यो ।
यस जितसँगै नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । नेपालले यसअघि समूह चरणका खेलमा बहराइन र आयोजक मलेसियालाई पराजित गरिसकेको थियो । लगातार तीन खेलमा जित निकाल्दै नेपालले एक खेलअगावै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । अब नेपालले समूह चरणको अन्तिम खेलमा हङकङसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेलले समूहमा नेपालको अन्तिम स्थान र आगामी चरणको समीकरणलाई थप स्पष्ट पार्नेछ । लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको नेपालका लागि हङकङविरुद्धको खेल आत्मविश्वास कायम राख्ने अवसरसमेत हुनेछ ।
एसिसी प्रिमियर कपमा कुल १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको च्याम्पियन बन्ने टोलीले एसिया कपमा छनोट हुने अवसर प्राप्त गर्नेछ । त्यसैले नेपालका लागि यो प्रतियोगिता केवल अर्को उपाधि जित्ने अवसरमात्र नभई एसियाली क्रिकेटको ठूलो मञ्चमा पुनरागमन गर्ने महत्त्वपूर्ण बाटो पनि हो । नेपाल सन् २०२३ पछि पुनः एसिया कप खेल्ने लक्ष्यमा छ । प्रिमियर कपको उपाधि जित्न सके नेपालको एसिया कप यात्रा सुनिश्चित हुनेछ । साउदी अरेबियाविरुद्धको जितसँगै नेपालको उक्त लक्ष्यतर्फको यात्रा थप बलियो बनेको छ ।
लगातार तीन खेलमा जित, बलिङमा प्रभावशाली प्रदर्शन र ब्याटिङमा संयमित खेल प्रदर्शन गर्दै नेपालले प्रतियोगितामा आफ्नो दाबेदारी प्रस्तुत गरेको छ । अब सेमिफाइनलमा नेपालले अझ बलियो चुनौती सामना गर्नुपर्ने भए पनि पछिल्ला खेलको प्रदर्शनले नेपाली टोलीको मनोबल उच्च बनाएको छ ।







उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज
रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या
जेनजी आन्दोलनका सहिदको अनुहारसँग सालिक