काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा भइरहेका प्राकृतिक विपद् र त्यसबाट भइरहेको जनधनको क्षतिबारे गम्भीर समीक्षा तथा बहस हुनुपर्ने बताउनुभएको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले तत्काल उद्धार कार्यलाई प्राथमिकता दिनुपर्ने र उद्धारको चरण सकिएपछि विपद्का क्रममा भएका कमजोरीबारे निष्पक्ष तथा वस्तुनिष्ठ समीक्षा गर्नुपर्ने बताउनुभएको हो।
जलविद्युत् आयोजना तथा सुरुङ निर्माणका क्रममा विपद् व्यवस्थापनको पक्षलाई विशेष प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो। नेपालका विभिन्न स्थानमा रहेका जलविद्युत् आयोजना र सुरुङमा विपद्का बेला हुनसक्ने जोखिम तथा उद्धार कार्य चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ।
त्रिशूली क्षेत्रमा भएको पछिल्लो दुर्घटना तथा अन्य प्राकृतिक विपद्का घटनातर्फ संकेत गर्दै सभापति थापाले अहिले केही दिन उद्धारमै केन्द्रित हुनुपर्ने बताउनुभयो।
उहाँले भन्नुभयो, “अहिले हामी केही दिन उद्धार कार्यमै केन्द्रित हुनुपर्छ। तर यो चरण सकिएपछि कहाँ, कसरी र किन कमजोरी भयो भन्नेबारे वस्तुनिष्ठ र निष्पक्ष बहस हुन जरुरी छ। यस्ता कमजोरी संस्थागत हुन् वा व्यक्तिगत, यसबारे संसद् र आम नागरिकले स्पष्ट जानकारी पाउनुपर्छ।”
प्राकृतिक विपद्का बेला सुरुङबाट उद्धार गर्ने विषयमा पर्याप्त तयारी आवश्यक रहेको उहाँले बताउनुभयो। सुरुङ निर्माणकै क्रममा उद्धारसम्बन्धी व्यवस्था गर्नुपर्ने हो वा नयाँ प्रविधिको आवश्यकता पर्छ भन्ने विषयमा प्राविधिक स्पष्टता आवश्यक रहेको उहाँको भनाइ छ।
उहाँले भन्नुभयो, “प्राकृतिक विपद्का बेला टनेलबाट उद्धार गर्ने सन्दर्भमा हामीले यथेष्ट काम गर्नुपर्ने देखिएको छ। यो आयोजनाको डिजाइनकै क्रममा गरिनुपर्ने कार्य हो वा नयाँ प्रविधिको आवश्यकता हो, यसमा प्राविधिक स्पष्टता जरुरी छ।”
पूर्वाधार निर्माणकै चरणदेखि विपद्को पूर्वतयारी, आवश्यक उपकरणको व्यवस्था तथा नयाँ प्राविधिक ज्ञानको सुनिश्चितता गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सभापति थापाले जोड दिनुभयो।
यसपटकका विपद् तथा दुर्घटनाबाट पाठ सिकेर भविष्यमा हुनसक्ने जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग र पूर्वतयारीमा ढिलाइ गर्न नहुने उहाँले बताउनुभयो।







एनपीएलमा अहिलेसम्मकै ठूलो ‘स्टार’ इन्ट्री,
विपद् व्यवस्थापनमा संसदीय उच्चस्तरीय समिति
विपद् उद्धारका लागि भक्तपुर प्रशासनले
न्याय परिषद्को निर्णय : तीन
आईसीयूभित्रै अन्तर्वार्ता प्रकरण संसदमा प्रवेशः
पुर्चौडीमा पहिरोले एक घर पूर्ण