काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ।
परराष्ट्र मन्त्रालयमा आइतबार भएको द्विपक्षीय भेटवार्तामा भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएका गणतन्त्र कोरियाका नागरिकहरूको खोज तथा उद्धारका विषयमा समेत गम्भीर छलफल भएको मन्त्रालयले जनाएको छ।
सो अवसरमा परराष्ट्रमन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा सहयोग पुर्याउन अन्तरनिकाय द्रुत प्रतिकार्य टोली तथा कोरियाको ‘डिजास्टर रिलिफ टिम’ परिचालन गरेकामा गणतन्त्र कोरिया सरकारप्रति आभार व्यक्त गर्नुभयो। उहाँले बाढीपीडितका लागि कोरिया सरकारले उपलब्ध गराएको मानवीय सहायता तथा राहत सामग्रीप्रति समेत धन्यवाद दिनुभयो।
विपद्पछिको पुनर्निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री खनालले भविष्यमा यस्ता विपद्बाट कम क्षति हुने गरी दिगो र सुरक्षित पूर्वाधार निर्माण गरिने बताउनुभयो। ‘बिल्ड ब्याक बेटर’ अवधारणाअनुसार पुनर्निर्माण अघि बढाइने उल्लेख गर्दै उहाँले यस कार्यमा गणतन्त्र कोरियाबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो।
भेटवार्तामा कोरियाली विदेशमन्त्री छो ह्युनले नेपालमा विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनाका प्रयासमा आफ्नो सरकारले आवश्यक सहयोग उपलब्ध गराउन इच्छुक रहेको बताउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेको जनधन तथा पूर्वाधारको क्षतिप्रति अन्तर्राष्ट्रिय समुदायको ऐतिहासिक जिम्मेवारी रहेको उल्लेख गर्दै मन्त्री ह्युनले जलवायु परिवर्तनका असर र त्यसबाट सिर्जित विपद्का विषयमा विश्व समुदायलाई थप संवेदनशील बनाउन नेपाल र कोरियाले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप) लगायत अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेका चुनौती र क्षतिबारे संयुक्त रूपमा आवाज उठाउनुपर्ने धारणा राख्नुभयो।
नेपालले जलवायु परिवर्तनबाट भएको क्षतिबापत अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त गर्नुपर्ने वित्तीय सहयोगका विषयमा कोरियाले आफ्नोतर्फबाट आवाज उठाउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
भेटवार्ताका क्रममा दुवै मन्त्रीले नेपाल र गणतन्त्र कोरियाबीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक विश्वास, समझदारी र सहकार्यलाई अझ सुदृढ तथा व्यापक बनाउँदै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन निकट सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नेपाल र गणतन्त्र कोरियाबीच श्रम, विकास साझेदारी, व्यापार, लगानी, प्रविधि तथा जनस्तरको सम्बन्धलगायत विभिन्न क्षेत्रमा सहकार्य हुँदै आएको छ। पछिल्लो विपद्का समयमा कोरियाबाट प्राप्त खोज तथा उद्धार सहयोग, मानवीय सहायता र राहत सामग्रीले दुई देशबीचको मित्रता र ऐक्यबद्धतालाई थप सुदृढ बनाएको मन्त्रालयले जनाएको छ।







नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२
भोटेकोशी बाढी : ट्रमा सेन्टरमा
लागुऔषध खैरो हेरोइनसहित मकवानपुरमा तीन
कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य
भोटेकोशी बाढी : एक हजार
बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र,