ललितपुर । संविधानविद् डा. विपिन अधिकारीले न्यायपालिकाको सुधारका लागि न्यायाधीश नियुक्तिदेखि अनुशासनात्मक कारबाहीसम्मको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्ने बताउनुभएको छ।
आइतबार ललितपुरमा आयोजित ‘पुनर्विचारः समयानुसार संविधानमा सुधार’ विषयक गोष्ठीमा बोल्दै उहाँले न्यायपालिकाको नेतृत्व र जिम्मेवारी प्रधानन्यायाधीशलाई स्पष्ट रूपमा दिनुपर्ने बताउनुभएको हो।
डा. अधिकारीले न्याय परिषद्को समस्या परिषद् स्वयं नभई त्यसको नेतृत्व गर्ने प्रधानन्यायाधीशको भूमिकासँग जोडिएको बताउनुभयो। न्याय परिषद्मा प्रधानन्यायाधीशको प्रभावकारी तथा जिम्मेवार भूमिका कायम गर्न सके न्यायालय सुधारको प्रक्रिया तीव्र बनाउन सकिने उहाँको भनाइ छ।
उहाँले भन्नुभयो, “हाम्रो समस्या न्याय परिषद् होइन, हाम्रो समस्या न्याय परिषद्को नेतृत्व गर्ने प्रधानन्यायाधीश हो।”
न्यायालय सुधारका लागि सम्बन्धित कानून संशोधन गरी न्यायाधीश नियुक्तिदेखि अनुशासनात्मक कारबाहीसम्मको सम्पूर्ण अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्नेमा उहाँले जोड दिनुभयो। न्यायालयको समग्र जिम्मेवारी प्रधानन्यायाधीशले लिनुपर्ने भएकाले अधिकारसँगै जवाफदेहिता पनि सुनिश्चित गर्नुपर्ने उहाँको भनाइ छ।
“सबैभन्दा पहिले त त्यो ऐन संशोधन गर्नुपर्यो। प्रधानन्यायाधीशलाई सम्पूर्ण रूपमा नियुक्ति गर्नुपर्ने, न्यायाधीशदेखि लिएर डिसिप्लिनरी एक्सनसम्मको सम्पूर्ण पावर प्रधानन्यायाधीशलाई दिने, किनभने न्यायालयको जिम्मेवारी उसले लिनुपर्छ,” उहाँले भन्नुभयो।
संरचनागत रूपमा पनि न्यायालयमा सुधार आवश्यक रहेको बताउँदै डा. अधिकारीले सर्वोच्च अदालतलाई संवैधानिक अदालतका रूपमा रूपान्तरण गर्नुपर्ने धारणा राख्नुभयो। प्रदेशका अदालतलाई पनि सर्वोच्च अदालतसरह क्षमता, योग्यता र स्रोतसाधनयुक्त बनाउनुपर्ने उहाँको सुझाव छ।
प्रदेशका अदालतलाई सक्षम बनाउन सके सर्वोच्च अदालतमा रहेको मुद्दाको चाप घट्नुका साथै न्यायालयका अन्य समस्या पनि क्रमशः समाधान हुँदै जाने उहाँले बताउनुभयो।
फरक प्रसंगमा डा. अधिकारीले हिंसात्मक घटनामा संलग्न व्यक्तिलाई कानूनी कारबाहीको दायरामा ल्याउने विषयमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो। मुलुकमा विद्यमान दण्डहीनताको अन्त्यका लागि सरकारले स्पष्ट प्रतिबद्धता जनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
संविधान संशोधनका क्रममा न्यायालयको सुधारसँगै मुलुकको शासकीय स्वरूपलाई प्रभावकारी, जवाफदेही र जनमुखी बनाउने विषयमा समेत गम्भीर रूपमा विचार गर्नुपर्ने उहाँले बताउनुभयो।







चितवनमा फेला परेका ३६२ शवमध्ये
बाँकेमा १६ जनाको ‘डिएनए’ नमूना
भोटेकोशी-त्रिशूली बाढीपीडितप्रति उपत्यकावासीको ऐक्यबद्धता
आज साँझसम्म यातायात सञ्चालन गर्ने
देवीघाटमा एक्रो ब्रिज निर्माण तीव्र,
नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२