काठमाडौं । डोमिनिकन रिपब्लिककी जोहेरी मोला डोमिन्गेजले ‘मिस वर्ल्ड २०२६’को उपाधि चुम्नुभएको छ । शनिबार भियतनामको न्हा ट्राङमा आयोजित ७३औं मिस वर्ल्डको ग्राण्ड फिनालेमा मोला डोमिन्गेजले विश्व सुन्दरीको ताज आफ्नो पोल्टामा पार्नुभएको हो । उहाँले विश्वभरबाट सहभागी प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पार्नुभएको हो ।
मोला डोमिन्गेजको जितसँगै डोमिनिकन रिपब्लिकले ४४ वर्षपछि दोस्रोपटक मिस वर्ल्डको उपाधि जितेको छ । यसअघि सन् १९८२ मा मारियासेला अल्भारेजले डोमिनिकन रिपब्लिकका लागि पहिलोपटक मिस वर्ल्डको ताज जित्नुभएको थियो । प्रतियोगितामा स्पेनकी एलिजाबेथ रेयनेस अलाबेर्न फर्ष्ट रनरअप बन्नुभयो भने मलेसियाकी तानुसिया चेट्टी सेकेण्ड रनरअप घोषित हुनुभयो ।
प्रतियोगितामा नेपालबाट लुना लुइँटेल सहभागी हुनुभएको थियो । लुना ट्यालेन्ट विधामा उत्कृष्ट प्रदर्शन गर्दै २३ फाइनलिष्टमध्ये स्थान बनाउन सफल हुनुभएको थियो । लुनाले टप ६ मा स्थान बनाउन असफल हुनुभयो । यद्यपि, १११ देशका सुन्दरी सहभागी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै उहाँले सामाजिक अभियान, प्रतिभा र उद्देश्यपूर्ण सौन्दर्यको अवधारणामार्फत अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान प्रस्तुत गर्नुभयो ।
यसपटकको मिस वर्ल्ड प्रतियोगितामा सौन्दर्यसँगै सामाजिक कार्यलाई समेत विशेष प्राथमिकता दिइएको थियो । मोला डोमिन्गेजले ‘ब्युटी विथ अ पर्पज’ अभियानअन्तर्गत अवसरबाट वञ्चित बालबालिकालाई अंग्रेजी भाषा सिकाउने अभियानमा सक्रियता जनाउनुभएको छ । सान्तो डोमिंगोकी २४ वर्षीया जोहेइरी मोला शिक्षिका, पत्रकार तथा सामुदायिक अभियन्ता हुनुहुन्छ । उहाँले युनिभर्सिडाड इबेरो अमेरिकानाबाट बिजनेस म्यानेजमेन्ट एण्ड एडमिनिस्ट्रेसनमा स्नातक गर्नुभएको छ ।
इरिट्रिया, मलेसिया, भियतनाम, डोमिनिकन रिपब्लिक, स्पेन र दक्षिण अफ्रिकाका प्रतियोगी अन्तिम ६ मा पुगेका थिए । मिस वर्ल्ड अर्गनाइजेसनकी सीईओ जुलिया मोर्लीले विजेता तथा रनरअपहरूको घोषणा गर्नुभएको थियो । गत वर्षकी विजेता ओपल सुचाताले ७३औं मिस वर्ल्ड विजेता जोहेइरी मोलालाई ताज पहिर्याइदिनुभएको थियो ।
मिस वर्ल्ड प्रतियोगिताले आफ्नो ७५औं वार्षिकोत्सव मनाइरहँदा भियतनाममा ७३औं संस्करण आयोजना गरिएको हो । १११ प्रतिस्पर्धीसहित अगष्ट ८, २०२६ मा सुरु भएको प्रतियोगिता सेप्टेम्बर ५, २०२६ मा सम्पन्न भएको हो । प्युर्टो रिकोका मिष्टर वर्ल्ड २०२४ ड्यानियल मेहिया र मिस वर्ल्ड २०१६ स्टेफनी डेल भ्यालेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
प्रतियोगिताको सुरुवात १११ देशका प्रतिस्पर्धीले इभिनिङ गाउन लगाएर गरेका थिए । त्यसपछि उनीहरू भियतनामी ‘आओ दाइ’ शैलीका पोसाकमा प्रस्तुत भए । त्यसलगत्तै आयोजकले शीर्ष ४० प्रतिस्पर्धीको घोषणा गरेका थिए । शीर्ष ४० को सूचीमा टप मोडल, ब्युटी विथ अ पर्पस, ट्यालेन्ट, स्पोर्ट्स, पिपुल्स च्वाइस अवार्ड र निर्णायकको छनोटबाट आएका विजेताहरू समावेश थिए ।
मिस वर्ल्डको ७४औं संस्करण पूर्वी अफ्रिकी मुलुक तान्जानियामा आयोजना हुनेभएको छ । यससँगै जोहेइरी मोलाले आगामी एक वर्ष मिस वर्ल्डका रूपमा विभिन्न सामाजिक तथा मानवीय अभियानमा सहभागी हुँदै विश्वभर प्रतिनिधित्व गर्नुहुनेछ ।







बाढीपछि त्रिशूलीका सहायक खोलामा बालुवा
हुप्सेकोटको घाँगी भीरमा निरन्तर धुँवाको
त्रिभुवनराजपथ भासिएपछि एकतर्फी यातायात सञ्चालन
नयाँ कोष थप्ने होइन, एकीकृत
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि