काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द भएको हनुमानढोका दरबारको उत्तर दलानमा हुँदै आएको नित्य आध्यात्मिक कथा प्रवचन ११ वर्षपछि पुनः सुरु भएको छ।
गुठी संस्थानअन्तर्गत रहेको गीता स्वाध्याय सङ्गम सनातन धार्मिक प्रवचन गुठीले राणाकालदेखि हनुमानढोका दरबार क्षेत्रमा नित्य आध्यात्मिक प्रवचन गर्दै आएको थियो।
नित्य प्रवचन हुँदै आएको उत्तर दलानको पुनःनिर्माण सम्पन्न भएपछि यही भदौ १४ गतेदेखि श्रीमद्भागवत भक्ति ज्ञान महायज्ञमार्फत प्रवचन पुनः सञ्चालन गरिएको हो। भदौ २८ गतेसम्म महायज्ञ सञ्चालन हुने र सोही क्रममा दैनिक दुईदेखि तीन घण्टासम्म नित्य प्रवचनसमेत भइरहेको गुठीका अध्यक्ष पण्डित मधुसुदन पौडेलले जानकारी दिनुभयो।
स्थापनाकालमा हनुमानढोकाका विभिन्न स्थानमा नित्य प्रवचन हुँदै आए पनि राजा महेन्द्रको कार्यकालमा दरबारको उत्तर दलानमा प्रवचन सञ्चालनका लागि स्थान उपलब्ध गराइएको थियो। त्यसयता प्रत्येक वर्ष शारदीय नवरात्रका अवसरमा यहाँ श्रीमद्देवी भागवत कथा वाचन हुँदै आएको गुठीले जनाएको छ।
त्यसबेला प्रवचन तथा पूजापछि तयार हुने प्रसाद तत्कालीन राजाकहाँ पुर्याउने गरिएको अध्यक्ष पौडेलले बताउनुभयो। राजतन्त्रको अन्त्यपछि भने उक्त प्रसाद शीतल निवास लैजाने गरिएको उहाँले जानकारी दिनुभयो।
नित्य प्रवचन सञ्चालनका लागि गुठी संस्थानको काठमाडौं शाखाले मासिक एक हजार ६०० रुपैयाँ उपलब्ध गराउँदै आएको छ। प्रवचन सञ्चालनका लागि आवश्यक बाँकी खर्च भने प्रवचन गुठीले आफैँ जुटाउने गरेको अध्यक्ष पौडेलले बताउनुभयो।
प्रवचन पुनः सञ्चालन गर्न काठमाडौं महानगरपालिका–२४ का वडाध्यक्ष विनोदकुमार राजभण्डारीले विशेष सहयोग गर्नुभएको गुठीले जनाएको छ।
गुठीका अनुसार जयदेव पौडेलले सुरु गर्नुभएको हनुमानढोका दरबार क्षेत्रको नित्य प्रवचनलाई अर्जुनप्रसाद धिताल, मधुसुदन रिसाल, गोविन्द भट्टराईलगायत पण्डितहरूले निरन्तरता दिँदै आउनुभएको छ।






टिपरको ठक्करबाट एक जनाको मृत्यु
भोटेकोशी बाढीपछि नेपालको प्रश्न :
तीन दिनमै ८७ हजारभन्दा बढी
मुक्त हलियाको समस्या स्थायी समाधान
साउदी अरेबियालाई ५ विकेटले हराउँदै
बालेनलाई गगनको सुझाव : ‘महासभामा