झापा । झापाका विभिन्न सामुदायिक वनमा करिब एक महिनादेखि डेरा जमाएर बसेका २२ वटा हात्तीको समूह सोमबार बिहान भारततर्फ फर्किएको छ।
हात्ती अभियन्ता शङ्कर लुईटेलका अनुसार बच्चासहितको उक्त हात्तीको समूहले बाहुनडाँगी, शान्तिनगरलगायत आसपासका क्षेत्रमा दैनिकजसो उपद्रव गर्दै आएको थियो।
हात्तीको समूहले स्थानीयवासीका घर भत्काउनुका साथै खेतमा लहलह भएका धान खाने, कुल्चिएर नष्ट गर्ने तथा सुपारीका बोट भाँच्ने गरेपछि जिल्लाको उत्तरी–पूर्वी क्षेत्रमा लामो समयदेखि त्रास र तनावको अवस्था थियो।
एक महिनापछि भारतबाट आएको ठूलो हात्तीको समूह आफ्नै प्राकृतिक बासतर्फ फर्किएपछि स्थानीयवासीले राहत महसुस गरेका छन्। स्थानीय नीलकण्ठ तिवारीले हात्तीको हुल फर्किएपछि केही हदसम्म भए पनि स्थानीयवासीमा रहेको त्रास कम भएको बताउनुभयो।
तर, २२ वटा हात्ती भारत फर्किएकै दिन बिहान बिर्तामोड नगरपालिका–७ मा एउटा एक्लो हात्ती बस्तीमा प्रवेश गरेपछि स्थानीयवासी पुनः त्रसित भएका थिए। बिहानै घरआँगनमा हात्ती देखिएपछि स्थानीयवासी भागाभाग गर्न बाध्य भएका थिए।
बस्तीमा करिब चार घण्टा घुमेको उक्त हात्ती पछि बुटाबारीस्थित चियाबगानतर्फ लागेको पत्रकार पुष्प बरालले जानकारी दिनुभयो।
झापामा भारतको आसाम तथा पश्चिम बङ्गालका जङ्गलबाट मेची नदी तरेर हात्तीहरू खाना र बासको खोजीमा बाहुनडाँगी हुँदै नेपाल प्रवेश गर्ने गरेका छन्।
स्थानीय तिवारीका अनुसार नेपाल–भारत सीमामा जडान गरिएको सोलार फेन्सिङ (विद्युतीय झट्का दिने तारबार) पुरानो र जीर्ण हुँदै गएकाले हात्तीहरू सहजै नेपाल प्रवेश गर्ने गरेका छन्।
झापामा हात्तीको आक्रमणबाट हरेक वर्ष सर्वसाधारणले ज्यान गुमाउनुका साथै लाखौँ रुपैयाँ बराबरको अन्नबाली र धनमालमा क्षति हुने गरेको छ।







नयाँ कोष थप्ने होइन, एकीकृत
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई
त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईँ समर्थक
त्रिभुवन राजपथको सडक भासियो, एकतर्फी