काठमाडौं । नेपाली काँग्रेसले रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारलाई एक करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ।
सोमबार पार्टी महामन्त्री प्रदीप पौडेलसहितको टोलीले सिंहदरबारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर प्रधानमन्त्री राहत कोषका लागि उक्त रकम हस्तान्तरण गरेको हो।
भेटका क्रममा महामन्त्री पौडेलले बाढी प्रभावित नागरिकको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको थियो। उहाँले बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाका सुरुङ तथा टनेलमा फसेका नागरिकको अवस्थाबारे परिवारलाई यथार्थ जानकारी उपलब्ध गराउनसमेत आग्रह गर्नुभएको बताउनुभयो।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री पौडेलले बाढी प्रभावित क्षेत्रमा हजारौँ नागरिक सम्पर्कविहीन रहेको अवस्थामा खोज तथा उद्धारलाई तीव्रता दिनुपर्ने बताउनुभयो।
उहाँले विपद् व्यवस्थापनमा सरकार एक्लैले मात्र प्रभावकारी रूपमा काम गर्न नसक्ने भन्दै राजनीतिक दल, तीनै तहका सरकार तथा सहयोग गर्न इच्छुक सबै पक्षबीच समन्वय आवश्यक रहेको बताउनुभयो।
“अहिलेको प्राथमिकता खोज तथा उद्धारमा सरकारले प्रभावकारिता बढाउनु हो। तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर बाढीपीडित नागरिकलाई सहयोग गर्न आवश्यक छ,” उहाँले भन्नुभयो।
महामन्त्री पौडेलले सरकारलाई सबै पक्षबाट सहयोग लिने वातावरण बनाउनसमेत आग्रह गर्नुभयो। उहाँका अनुसार काँग्रेसले बाढी प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरी दीर्घकालीन व्यवस्थापनका लागि सरकारलाई आवश्यक सुझाव दिने तयारी गरिरहेको छ।
यसका लागि काँग्रेसले सांसद मोहन आचार्यको संयोजकत्वमा समिति गठन गरेको छ। समितिले विज्ञहरूसँग परामर्श गरी प्रभावित क्षेत्रको अध्ययन गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो।
सडक सम्पर्क टुटेका क्षेत्रमा तत्काल राहत पुर्याउन आग्रह
बाढी प्रभावित क्षेत्रको अध्ययनका लागि गठित समितिका संयोजक तथा सांसद मोहन आचार्यले सडक सम्पर्क टुटेका क्षेत्रमा तत्काल सडक सञ्जाल जोड्न सरकारलाई आग्रह गर्नुभएको छ।
उहाँले रसुवाका १०–१२ वटा वडा अझै सडक सञ्जालबाट विच्छेद रहेको र ती क्षेत्रमा राहत पुर्याउन समस्या भइरहेको बताउनुभयो।
“बाढी नगएको ठाउँमा समेत आपूर्ति शृङ्खला टुटेको छ। कतिपय बाढी प्रभावित क्षेत्रमा नुन र तेलकै अभाव भएको अवस्था छ,” उहाँले भन्नुभयो।
आचार्यले सडक सम्पर्क तत्काल जोडेर राहत तथा अत्यावश्यक सामग्री सहज रूपमा पुर्याउने व्यवस्था गर्न अर्थमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको बताउनुभयो।
यसअघि भदौ १४ गते बसेको काँग्रेस कार्यसम्पादन समितिको बैठकले बाढी प्रभावित नागरिकको सहयोगका लागि सरकारलाई एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो।
भोटेकोशी बाढीमा परी हालसम्म १ हजार ३ सय ५५ जनाको शव फेला परेको छ भने पाँच हजारभन्दा बढी नागरिक अझै सम्पर्कविहीन रहेको जनाइएको छ।







हुप्सेकोटको घाँगी भीरमा निरन्तर धुँवाको
त्रिभुवनराजपथ भासिएपछि एकतर्फी यातायात सञ्चालन
नयाँ कोष थप्ने होइन, एकीकृत
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई