काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट सिर्जित विपत्तिको सामना गरिरहेको अवस्थामा सबै पक्षलाई एकताबद्ध भएर उभिन आह्वान गर्नुभएको छ।
सोमबार बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सम्पूर्ण राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न संघसंस्था, निजी क्षेत्र, व्यवसायी समुदाय तथा आम नागरिकलाई विपद्को सामना गर्न एकजुट हुन आग्रह गर्नुभएको हो।
उहाँले विपत्तिको कठिन घडीमा विभाजन, दोषारोपण तथा राजनीतिक विवादमा अल्झिने समय नभएको बताउँदै राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्न आह्वान गर्नुभयो।
“यो विभाजनको समय होइन। एकअर्कालाई दोषारोपण गर्ने वा राजनीतिक विवाद र टकरावमा अल्झिने समय पनि होइन। यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो,” राष्ट्रपति पौडेलले भन्नुभयो।
राष्ट्रपति पौडेलले विपत्तिपछिको पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ। त्यस क्रममा मुलुकको विद्यमान विकास मोडेलमाथि समेत पुनर्विचार गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो।
“यो समय पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो,” उहाँले भन्नुभयो, “हामी पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानको प्रक्रियामा जाँदै गर्दा हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ।”
बाढीका कारण आफन्त तथा साथीभाइको अवस्थाबारे जानकारीको प्रतीक्षामा रहेका नागरिकप्रति समवेदना व्यक्त गर्दै राष्ट्रपति पौडेलले खोज तथा उद्धार कार्य निरन्तर जारी रहने विश्वास दिलाउनुभएको छ।
“अहिले हामी यति गहिरो पीडामा छौँ, जसलाई कम गर्न सक्ने शब्दहरू हामीसँग छैनन्,” उहाँले भन्नुभयो, “परिवारका सदस्य तथा साथीभाइहरूको खबरको प्रतीक्षामा रहनुभएका सबैलाई म खोजी तथा उद्धार कार्य निरन्तर रूपमा जारी रहनेछ भन्ने कुरामा विश्वस्त पार्न चाहन्छु।”
प्रभावित नागरिकहरूले भोगिरहेको अनिश्चितताको पीडा सिङ्गो राष्ट्रले महसुस गरिरहेको उहाँले बताउनुभयो।
उद्धार गरिएका प्रत्येक व्यक्तिका लागि खाद्यान्न, स्वच्छ खानेपानी, सुरक्षित आश्रय, आवश्यक औषधोपचार तथा मनोसामाजिक सेवाको पहुँच सुनिश्चित गर्नुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिनुभएको छ।







बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र
सुनसान छन् सौराहाका होटल, पर्यटक
ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा