काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढी प्रभावित अधिकांश क्षेत्रमा राहत सामग्री पुगिसकेको बताउनुभएको छ। हेलिकप्टरमार्फत राहत पुर्याउनुपर्ने दुर्गम स्थानमा भने खोज तथा उद्धारलाई प्राथमिकता दिइएकाले राहत पुर्याउन कठिनाइ भइरहेको उहाँले जानकारी दिनुभयो।
प्राधिकरणमा सोमबार आयोजित कार्यक्रममा डा. उप्रेतीले हेलिकप्टर पुग्न नसकेका वा राहतका लागि हेलिकप्टर आवश्यक पर्ने स्थानमा त्रिशूली, रसुवालगायत हेलिकप्टर पुग्न सक्ने नजिकका स्थानबाट खाद्य सामग्री पठाउने प्रयास भइरहेको बताउनुभयो।
स्थानीय सरकारसँग निरन्तर समन्वय गरी राहत वितरणको काम अघि बढाइएको उहाँले जानकारी दिनुभयो। विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धारकार्य भने निरन्तर जारी रहेको उहाँको भनाइ छ।
उहाँका अनुसार तीनवटै सुरक्षा निकायले विपद्को पहिलो दिनदेखि नै खोज तथा उद्धार एवं राहत वितरणमा सक्रियतापूर्वक काम गरिरहेका छन्। बेपत्ता व्यक्तिका नाम प्राप्त हुनेबित्तिकै तीनवटै सुरक्षा निकायमार्फत विवरण जाँच गरी आवश्यकताअनुसार फिल्डमा खटिएका टोलीलाई परिचालन गरेर खोजी गर्ने गरिएको उहाँले बताउनुभयो।
डा. उप्रेतीले सामाजिक सञ्जालमा राहत तथा उद्धारसँग सम्बन्धित फेक भिडियो तथा गलत सूचना फैलाइएको भन्दै त्यसप्रति सचेत रहन आग्रह गर्नुभयो।
“कतिपय हाम्रो फिल्डमा नभएका, घटनास्थलमै नभएका केही फेक भिडियोहरू सामाजिक सञ्जालमा एकदमै फैलिइरहेको अवस्था हामीले पायौँ। त्यसले जनमानसमा एकखालको नकारात्मक प्रभाव पनि पारेको देखियो। फेक भिडियोहरूले दिने मिसइन्फर्मेसनको प्रभावका बारेमा हामीले हेर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो।
राज्यका तर्फबाट खोज, उद्धार र राहतमा कुनै कसर बाँकी नराखिएको उल्लेख गर्दै उहाँले विपद्को पहिलो दिनदेखि बिहान, साँझ र रात नभनी निरन्तर काम भइरहेको बताउनुभयो।
“केही गुनासाहरू छन्, ती गुनासाहरूलाई हामी सम्बोधन गर्दैछौँ। केही बेपत्ता भएका व्यक्तिहरूका नामहरू आइरहेका छन्, त्यसलाई पनि हामी हेरिरहेका छौँ। सूचना आउनेबित्तिकै हामीले तीनवटै सुरक्षा निकायलाई पठाएर चेक गर्ने र आवश्यक परे फिल्डमा खटिएको हाम्रो टिमलाई पठाउने काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो।
उहाँले खोज तथा उद्धारको अवस्था टुङ्गिएसम्म प्रयास जारी रहने स्पष्ट पार्नुभयो।
हेलिकप्टरमार्फत राहत पुर्याउन माग आइरहे पनि कतिपय स्थानमा हेलिकप्टर सञ्चालन नै चुनौतीपूर्ण रहेको उहाँले बताउनुभयो। अहिले त्यस्ता स्थानमा खोज तथा उद्धारका लागि आवश्यक सामग्रीलाई प्राथमिकता दिनुपर्ने भएकाले राहत सामग्री लैजान कठिनाइ भएको उहाँको भनाइ छ।
“जब हाम्रो अपरेसनको हेलिकप्टर त्यहाँ गएको हुँदैन, त्यतिबेला हामी काठमाडौँबाट मात्रै होइन, चाहे त्रिशूलीबाट होस् वा रसुवाबाटै जहाँसम्म हेलिकप्टर जान सक्छ, त्यहाँबाट खाद्य सामग्री पठाउने कोसिस गरिरहेका छौँ”, उहाँले भन्नुभयो।
डा. उप्रेतीले छिमेकी मुलुकसँग समेत समन्वय गरी खोज, उद्धार तथा राहतका लागि आवश्यक सहयोग लिइरहेको जानकारी दिनुभयो। राज्यका तर्फबाट सुरक्षा निकायलाई चौबीसै घण्टा परिचालन गरी खोज, उद्धार र राहतको कामलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो।







किम्रुङ खोलाको बहाव रोकिएपछि कास्की
कति आज विदेशी मुद्राको विनिमय
हतुवागढीले जुटायो २४ लाख ५३
जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन
बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण