काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन परिस्थितिमा सम्पूर्ण देशवासीलाई संयमित हुँदै एकताबद्ध हुन आह्वान गर्नुभएको छ।
भाद्र १० गते हिमनदीको बरफ र चट्टानसहित खसेको हिमपहिरोपछिको बाढीबाट भएको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति पौडेलले राष्ट्रका नाममा विशेष सम्बोधन गर्नुभएको हो। उहाँले प्राकृतिक विपत्तिलाई ‘कहालीलाग्दो र अकल्पनीय’ घटनाका रूपमा उल्लेख गर्दै बाढी र पहिरोबाट जनधनको ठूलो क्षति हुनुका साथै सडक, पुल र जलविद्युत् आयोजनाजस्ता महत्वपूर्ण राष्ट्रिय पूर्वाधारमा पुगेको क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो।
राष्ट्रपति पौडेलले विपत्तिमा परी ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभयो। उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ताहरूको खोज तथा उद्धारकार्यलाई तीव्रता दिन सम्बद्ध निकायलाई आग्रह गर्नुभयो।
नेपालले आफ्नो भूमिमा रहेका हरेक विदेशी नागरिकलाई परिवारको सदस्यसरह मान्ने उल्लेख गर्दै उहाँले प्रभावित देशका सरकार तथा कूटनीतिक नियोगसँग प्रभावकारी समन्वय भइरहेको जानकारी दिनुभयो।
जोखिमपूर्ण अवस्थामा आफ्नो ज्यानको प्रवाह नगरी उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि तथा स्वयंसेवकको उच्च प्रशंसा गर्दै राष्ट्रपतिले उनीहरूको योगदानलाई नेपाली राष्ट्रिय चरित्रको उत्कृष्ट नमूनाका रूपमा चित्रण गर्नुभयो।
भौगोलिक विकटता र प्रतिकूल मौसमका बाबजुद खोज तथा उद्धारकार्यलाई निरन्तरता दिन आग्रह गर्दै उहाँले कुनै पनि अवस्थामा उद्धारकार्य परित्याग नगर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउनुभयो।
उद्धार गरिएका नागरिकका लागि स्वच्छ खानेपानी, खाद्यान्न, औषधि तथा सुरक्षित आश्रयस्थलको व्यवस्था सुनिश्चित गर्न राष्ट्रपतिले जोड दिनुभयो। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा गर्भवती महिलाको संरक्षणमा संवेदनशील हुन उहाँले आग्रह गर्नुभयो।
मृतकहरूको पहिचानका लागि डीएनए नमुना सङ्कलन तथा वैज्ञानिक अभिलेखीकरण गरी पहिचान प्रक्रियालाई विश्वसनीय बनाउन पनि उहाँले सरकारलाई सुझाव दिनुभयो।
विपद्का समयमा प्राविधिक विशेषज्ञ, चिकित्सकीय टोली तथा आवश्यक उपकरणसहित सहयोग गर्ने छिमेकी मित्रराष्ट्र र अन्तर्राष्ट्रिय समुदायप्रति राष्ट्रपति पौडेलले कृतज्ञता व्यक्त गर्नुभयो।
हिमाली क्षेत्रको नाजुक अवस्थालाई विश्वव्यापी तापक्रम वृद्धिसँग जोड्दै उहाँले अन्तर्राष्ट्रिय मञ्चमा ‘जलवायु न्याय’का लागि ठोस कदम चाल्न विश्व समुदायलाई आह्वान गर्नुभयो।
राष्ट्रपति पौडेलले वर्तमान समय राजनीतिक विवाद वा एकअर्कालाई दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने बेला भएको स्पष्ट पार्नुभयो।
“यो विभाजनको समय होइन, यो त पुनर्निर्माण र आर्थिक पुनरुत्थानको समय हो”, उहाँले भन्नुभयो।
भविष्यमा यस्ता विपद्का जोखिम न्यूनीकरण गर्न नेपालको वर्तमान विकास मोडेलमाथि पुनर्विचार गर्नुपर्ने आवश्यकता पनि राष्ट्रपतिले औँल्याउनुभयो।







बाढीपछि रसुवामा हैजाविरुद्ध २१ हजार
कृष्णभीरमा खोलिएको ‘ट्रयाक’ लाई फराकिलो
खेतमा पानी तान्ने क्रममा करेन्ट
वर्षासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम
भोटेकोशी बाढी : शिक्षण अस्पतालमा
पाल्पाको लोपउन्मुख लाखे संस्कृति जोगाउँदै