रसुवा । राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १० गते आएको भोटेकोशी बाढीबाट प्रभावित रसुवाका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ।
राष्ट्रपति पौडेलले रसुवागढी, टिमुरे, घट्टेखोला, स्याफ्रुबँेसी, हाकुबँेसी, मैलुङ, कैदलटार, पैह्रेबँेसी, बेत्रावती तथा माथिल्लो त्रिशूली–३ ‘ए’ र ‘बी’लगायत बाढी प्रभावित क्षेत्रको अवलोकन गर्नुभयो।
अवलोकनपछि सदरमुकाम धुन्चेमा आयोजित कार्यक्रममा उहाँले प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे तथा नेपाली सेनाको नं. ६ बाहिनीपति उज्ज्वलविक्रम राणासँग प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार तथा राहत कार्यबारे जानकारी लिनुभयो।
सो क्रममा राष्ट्रपति पौडेलले खोज, उद्धार तथा राहतका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिन निर्देशन दिनुभएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभयो।
यसैबीच, भोटेकोशी बाढीपछि रसुवाका विभिन्न क्षेत्रबाट १६९ वटा शव सङ्कलन गरी व्यवस्थापनका लागि नुवाकोट पठाइएको जानकारी दिइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद आचार्यका अनुसार जिल्लाबाट उद्धार गरिएका एक हजार ८५ जनालाई नुवाकोटका विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ।
बाढीमा परी जिल्लाका एक हजार ३६५ स्थानीय बासिन्दा, अन्य स्थानका एक हजार १६० जना, २६४ जना विदेशी पर्यटक, २६ जना बैंकका कर्मचारी, ७९ जना सरकारी कर्मचारी, नेपाली सेनाका २७ जना, नेपाल प्रहरीका २८ जना र सशस्त्र प्रहरी बलका १३ जना गरी ठूलो सङ्ख्यामा नागरिक तथा सुरक्षाकर्मी सम्पर्कविहीन रहेको जानकारी दिइएको छ।
बाढीबाट जिल्लाका ११ वटा विद्यालय, २८ वटा सरकारी तथा सार्वजनिक भवन, एक हजार ५०० निजी घर, १५ वटा बैंक, एउटा पेट्रोल पम्प, आठ वटा जलविद्युत् आयोजना, छ वटा पक्की पुल, आठ वटा बेलीब्रिज, १० वटा झोलुङ्गे पुल र ४१ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
बाढीबाट घाइते भएकाहरूको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।






राप्रपा महामन्त्री शरदराज पाठकले छाडे
रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सुगतिका
परराष्ट्रमन्त्री खनाल र कोरियाली विदेशमन्त्री
न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः
जलवायु अनुसन्धानमा नीतिगत झमेला र
मदन पुरस्कार वीणा राजभण्डारी र