काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगबाट सिर्सिया खोलामा भइरहेको प्रदूषणप्रति आपत्ति जनाउँदै तत्काल सुधारका लागि एक साताको समयसीमा दिनुभएको छ।
सोमबार मन्त्रालयमा उद्योगीहरूसँग भएको छलफलमा मन्त्री गौरीकुमारीले वातावरण संरक्षणसम्बन्धी कानुनी मापदण्ड उल्लङ्घन गर्ने उद्योगलाई कारबाही गर्ने चेतावनी दिनुभयो।
सिमरा र वीरगञ्ज क्षेत्रका दर्जनौँ उद्योगले प्रशोधन नगरी ढल तथा औद्योगिक फोहोर सिधै खोलामा मिसाउँदा सिर्सिया खोला गम्भीर रूपमा प्रदूषित भएको उहाँको भनाइ थियो। उद्योगबाट निस्कने रसायनयुक्त पानी तथा फोहोर खोलामा मिसिँदा बाराको सिमरा, महुली तथा पर्साको सिर्सिया, ताजपुर, रामगढवा, रामवन, अशोक वाटिका र विन्ध्यवासिनीलगायत दर्जनौँ गाउँका लाखौँ बासिन्दा प्रभावित भएको उहाँले बताउनुभयो।
उद्योगहरूले वातावरण संरक्षणसम्बन्धी कानुनी व्यवस्था उल्लङ्घन गर्दै दूषित पानी खोलामा पठाउँदा स्थानीय जनजीवन, पशुपालन तथा मानव स्वास्थ्यमा गम्भीर असर परेको मन्त्री गौरीकुमारीको ठहर छ।
उहाँले उद्योगीहरूलाई सिर्सिया खोला प्रदूषणको विषयलाई औपचारिक बैठकमा मात्र सीमित नराखी तत्काल सुधारका काम थाल्न निर्देशन दिनुभयो।
“राज्यका सम्बन्धित निकायहरूले पटक–पटक सजग गराउँदा पनि हालसम्म कुनै सुधार देखिएको छैन। यस क्षेत्रका जनताको निरन्तर गुनासो आएकाले मन्त्रालय यस विषयमा अत्यन्त गम्भीर छ”, उहाँले भन्नुभयो, “तपाईंहरूलाई एक हप्ताको समय छ। के–के सुधार गर्नुपर्ने हो, आजैदेखि थाल्नुहोस्। आगामी साता मन्त्रालयको विशेष टोली स्थलगत निरीक्षणका लागि आउनेछ र त्यसपछि नियमअनुसारको प्रक्रिया अगाडि बढाइनेछ।”
विगत लामो समयदेखि यस क्षेत्रका किसान तथा स्थानीय बासिन्दाले सिर्सिया खोलालाई प्रदूषणमुक्त बनाई पुनर्जीवन दिन माग गर्दै आएका छन्। उद्योगबाट निस्कने रसायनयुक्त पानी तथा औद्योगिक फोहोरको उचित व्यवस्थापन नहुँदा यस क्षेत्रको ‘लाइफलाइन’ मानिने सिर्सिया खोला अस्तित्वकै सङ्कटमा परेको स्थानीयको गुनासो छ।
मन्त्रीको पछिल्लो निर्देशनसँगै स्थानीय बासिन्दाले अब उद्योगबाट हुने प्रदूषण नियन्त्रणमा प्रभावकारी कदम चालिने अपेक्षा गरेका छन्।







संविधान कार्यान्वयन नै नगरी संशोधनको
भूकम्पले रोकिएको हनुमानढोकाको नित्य प्रवचन
गृहमन्त्री गुरुङद्वारा जेन–जी शहीद स्मारक
दिक्तेल बजारको बेसक्याम्पमा द्वन्द्वकालीन विस्फोटक
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत
मैथिली साहित्यका वरिष्ठ साहित्यकार डा.