मुस्ताङ । मुस्ताङमा आजदेखि सबै प्रजातिका स्याउ टिप्न खुला गरिएको छ । जिल्लास्तरीय निर्णयअनुसार ढिलो पाक्ने स्याउको पोस्ट हार्भेस्ट आजदेखि खुला गरिएको हो ।
गत भदौ ८ गते बसेको जिल्लास्तरीय बैठकले छिटो र ढिलो पाक्ने स्याउ टिप्ने समय निर्धारण गरेको थियो । यसअघि छिटो पाक्ने प्रजातिका स्याउ भदौ १५ गतेदेखि टिप्न अनुमति दिइएको थियो । आजदेखि भने ढिलो पाक्ने स्याउसमेत बगैँचाबाट टिप्न पाइने भएको छ ।
मुस्ताङमा उत्पादन हुने गाला, फुजी र साउने प्रजातिका स्याउ छिटो पाक्ने जातमा पर्छन् । अन्य प्रजातिका स्याउ भने केही ढिलो पाक्ने सूचीमा रहेका छन् ।
मुस्ताङी स्याउको ‘ब्रान्ड’ र गुणस्तर कायम राख्न जिल्लास्तरबाट स्याउ टिप्ने कार्यतालिका निर्धारण गरिएको हो । जिल्ला समन्वय समिति मुस्ताङको अगुवाइमा सरोकारवाला कार्यालय तथा जिल्लाका अगुवा कृषक सहभागी बैठकले स्याउ टिप्ने समय निर्धारण गरेको हो ।
जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङले आजदेखि जिल्लाका सबै प्रजातिका स्याउ टिप्न खुला गरिएको जानकारी दिनुभयो । स्याउको गुणस्तर खस्किन नदिन, उत्पादन वृद्धि गर्न तथा स्याउमा पर्याप्त गुलियोपन कायम राख्ने उद्देश्यले टिपाइको समय निर्धारण गरिएको उहाँले बताउनुभयो ।
सबै प्रजातिका स्याउ टिप्न खुला भएसँगै मुस्ताङका विभिन्न बगैँचामा धमाधम स्याउ टिप्ने र बजार पठाउने काम सुरु भएको छ ।
एक साताअघि मुस्ताङ आउनुभएका धादिङका स्याउ व्यापारी उर्चा तामाङले स्याउ टिपाइ खुला हुने समय पर्खेर आफूहरू मुस्ताङ आएको बताउनुभयो । विगत तीन दशकदेखि स्याउको व्यापार गर्दै आउनुभएका तामाङले यस वर्ष मुस्ताङबाट करिब एक करोड रुपैयाँ बराबरको स्याउ बजार पठाउने तयारी गरेको जानकारी दिनुभयो ।
उहाँजस्तै जिल्लाभित्र तथा बाहिरका दर्जनौँ व्यापारी किसानका बगैँचामा पुगेर स्याउ खरिद गर्न थालेका छन् । तर, यस वर्ष कोरलानाकाबाट समेत चिनियाँ स्याउ भित्रिने सूचनाले मुस्ताङी स्याउ बिक्रीमा असर पर्ने हो कि भन्ने चिन्ता रहेको व्यापारी तामाङले बताउनुभयो ।
गत वर्ष मुस्ताङमा एक अर्ब १० करोड २३ लाख ७० हजार रुपैयाँ बराबरको स्याउ उत्पादन भएको थियो । त्यसको करिब ९० प्रतिशत स्याउ जिल्ला बाहिर निकासी भएको र त्यसबाट ९९ करोड रुपैयाँ जिल्लामा भित्रिएको थियो ।
कृषि तथा पशु विकास कार्यालयको गत वर्षको तथ्याङ्कअनुसार मुस्ताङका पाँच स्थानीय तहमा कुल ८९९ दशमलव १६ हेक्टर क्षेत्रफलमा स्याउ खेती विस्तार भएको छ ।
कार्यालय प्रमुख डा. लालमणि अर्यालका अनुसार कुल स्याउ खेतीमध्ये ८३७ हेक्टरमा स्थानीय जातका स्याउ र ६२ हेक्टरमा उच्चघनत्व (हाइब्रिड) स्याउ खेती गरिएको छ ।
त्यसैगरी, मुस्ताङमा लगाइएको कुल स्याउमध्ये ६२७ हेक्टर क्षेत्रफलमा रहेका बोटले उत्पादन दिइरहेका छन् । तीमध्ये ५७२ हेक्टरमा स्थानीय जात र ५५ हेक्टरमा उच्चघनत्वका स्याउका बोटले उत्पादन दिइरहेको कार्यालय प्रमुख डा. अर्यालले जानकारी दिनुभयो ।






भोटेकोशी बाढीपछि नेपालको प्रश्न :
तीन दिनमै ८७ हजारभन्दा बढी
मुक्त हलियाको समस्या स्थायी समाधान
साउदी अरेबियालाई ५ विकेटले हराउँदै
बालेनलाई गगनको सुझाव : ‘महासभामा
बाढीले मनास्लु पदमार्ग अवरुद्ध, लार्केपास