काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीमा कार्यरत तत्कालीन दुई कर्मचारीविरुद्ध घुस मागेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार नापी कार्यालय कलंकीमा तत्कालीन समयमा सर्भेक्षक पदमा कार्यरत अमितकुमार श्रेष्ठ र नापी अधिकृत हिरालाल पार्धेले चन्द्रागिरि नगरपालिका–९ मा रहेको जग्गा हालसाबिक गरी प्लट मिलान गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेका थिए।
अनुसन्धानका क्रममा दुवै कर्मचारीले सेवाग्राहीको काम नियमअनुसार गरिदिनुपर्नेमा विभिन्न बहाना बनाई दुःख–हैरानी दिएको र काम गरिदिने सर्तमा ५० हजार रुपैयाँ घुस मागेको पुष्टि भएको आयोगले जनाएको छ।
आयोगका अनुसार श्रेष्ठ र पार्धेले आफूले प्रत्यक्ष रूपमा रकम नलिई कार्यालय सहयोगीमार्फत घुस रकम लिन सहमति जनाएका थिए। घुस रकम प्राप्त हुने र कानुनी कारबाहीबाट समेत उन्मुक्ति पाउने गलत उद्देश्य तथा बदनियत राखेको अनुसन्धानबाट पुष्टि भएको आयोगको दाबी छ।
उनीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको ठहर गर्दै आयोगले ५० हजार रुपैयाँ बिगो कायम गरेको छ।
आयोगले दुवै प्रतिवादीलाई सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद तथा दफा ३ को उपदफा (१) बमोजिम बिगोबराबर जरिवाना गर्न मागदाबी गरेको छ।
आयोगले दुवैविरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभएकाे छ ।
उल्लेखित आरोपहरू अदालतबाट प्रमाणित हुन बाँकी छन्।







बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई
त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईँ समर्थक
त्रिभुवन राजपथको सडक भासियो, एकतर्फी
ब्रिक्समा नेपाल नबोलाइनुको कारण भारत