विन्डहोक । नामिबियामा आयोजित टी-२० त्रिकोणात्मक सिरिजको फाइनल खेलमा दक्षिण अफ्रिकाले जिम्बाब्वेलाई ४८ रनले पराजित गर्दै उपाधि जितेको छ । पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०५ रनको ठूलो योगफल तयार गरेको थियो । जवाफमा लक्ष्य पछ्याउने क्रममा जिम्बाब्वेको टोली १८ ओभरमा १५७ रनमा समेटियो ।
दक्षिण अफ्रिकाका डेवाल्ड ब्रेविस ‘प्लेयर अफ द सिरिज’ घोषित हुनुभयो । उहाँले पाँच म्याचमा १६६.१८ को स्ट्राइक रेटमा २२६ रन बनाउने क्रममा १५ चौका र १६ छक्का प्रहार गर्नुभयो । टस जितेर ब्याटिङको थालनी गरेको दक्षिण अफ्रिकालाई जोर्डन हर्मन (५३ रन) र कोनर एस्टरहुइजेनले तीव्र सुरुवात दिलाउनुभएको थियो । उहाँहरूले ६ ओभरमै टोलीको स्कोर ६२ रन पुर्याउनुभएको थियो ।
हर्मनले आफ्नो पहिलो टी-२० अर्धशतक बनाउनुभयो । पहिलो विकेटका लागि उनीहरूबीच ८४ रनको साझेदारी भयो । हर्मन आउट भएपछि डेवाल्ड ब्रेविस (३२) र रूबिन हर्मन (२७) ले ४७ रन जोड्नुभयो । अन्त्यमा डुआन यान्सनले १४ बलमा २३ रनको विस्फोटक इनिङ खेलेर दक्षिण अफ्रिकालाई २०० रन पार गराउनुभयो । जिम्बाब्वेका लागि ब्रेड इवांस र न्युम्यान न्यामहुरीले २-२ विकेट लिनुभयो ।
२०६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा जिम्बाब्वेको सुरुवात अत्यन्तै खराब रह्यो । पावरप्लेको पहिलो ४ ओभरभित्रै उसका लगातार ४ विकेट पतन भए । ब्योर्न फोर्टुइनले सिकन्दर रजा र रयान बर्ललाई आउट गर्दै जिम्बाब्वेलाई पूर्ण रूपमा दबाबमा ल्याउनुभएको थियो ।
जिम्बाब्वेका लागि तल्लो क्रममा ब्रेड इवांसले चार चौका र चार छक्काको मद्दतले आफ्नो पहिलो टी-२० अर्धशतक (५६ रन) बनाउनुभयो । यद्यपि, अर्को छेउबाट लगातार विकेट पतन भइरहेका कारण पूरै टिम १५७ रनमा अलआउट भयो । दक्षिण अफ्रिकाका लागि इतान बोश र डुआन यान्सनले पावरप्लेमा दुई–दुई विकेट झार्नुभयो भने फोर्टुइनले २४ रन खर्चेर तीन विकेट हात पार्नुभयो । एजेन्सी







अविरल वर्षासँगै बाजुरामा पहिरो, साँफे–मार्तडी
कोरिडोर केन्द्रित कृषि उत्पादन कार्यक्रम
लेदुवा खोलाको पुल सात वर्षदेखि
चोरीको खसी खरिद–बिक्रीको आरोपमा चार
सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन
चितवनमा फेला परेका ३६२ शवमध्ये