चेन्नई । चेन्नईकी वी अनिताले सात महिनाको गर्भावस्थामा अल इण्डिया कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेर इतिहास रच्नुभएको छ । रामापुरम निवासी ३० वर्षीया अनिताले व्यक्तिगत कराते प्रतियोगितामा यो अभूतपूर्व उपलब्धि हासिल गर्नुभएको हो ।
एलन तिलक कराते स्कुलको आयोजनामा गत अगस्ट २९ र ३० गते केरलको वडकारामा सम्पन्न दुईदिने राष्ट्रिय च्याम्पियनसिपमा १५ सयभन्दा बढी खेलाडीहरूले सहभागिता जनाएका थिए । प्रतियोगितामा केरल ओभरअल च्याम्पियन बन्दा तमिलनाडुको टोली दोस्रो स्थानमा रह्यो ।
अनिताले कक्षा ३ देखि नै कराते सिक्न सुरु गर्नुभएको थियो । कक्षा १० मा पुग्दा परिवारले करातेलाई निरन्तरता दिन विरोध गरेको भए पनि उहाँले आफ्नो प्रशिक्षण छाड्नुभएन । उहाँले बिकमको अध्ययन पूरा गरेर ‘एल एन्ड टी’जस्तो ठूलो कम्पनीमा नोकरीसमेत गर्नुभयो । तर, करातेप्रतिको उहाँको चाहना कहिल्यै कम भएन र अन्त्यमा कर्पोरेट करियर छोडेर करातेलाई नै आफ्नो मुख्य पेशा बनाउनुभयो ।
अनिताले विगत २२ वर्षदेखि आठौँ डन ब्ल्याक बेल्ट तथा पूर्व राष्ट्रिय च्याम्पियन हान्सी ए अप्पुराजसँग प्रशिक्षण लिइरहनुभएको छ । उहाँ विगत १० वर्षदेखि तिरुवल्लुर जिल्लाकी महिला च्याम्पियन रहँदै आउनुभएको छ । यस वर्षको फेब्रुअरीमा पनि उहाँले राज्यस्तरीय च्याम्पियनसिपमा पदक जित्नुभएको थियो ।
कराते केवल एक खेलमात्र नभई अरूलाई सशक्त बनाउने माध्यम हो भन्ने मान्यता राख्ने ५औँ डन ब्ल्याक बेल्ट प्राप्त अनिता हाल सेल्फ–डिफेन्स कोचका रूपमा काम गरिरहनुभएको छ । उहाँले स्कुल–कलेजका छात्रा तथा कार्यरत महिलाहरूलाई प्रशिक्षण दिँदै आउनुभएको छ । एजेन्सी






राप्रपा महामन्त्री शरदराज पाठकले छाडे
रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सुगतिका
परराष्ट्रमन्त्री खनाल र कोरियाली विदेशमन्त्री
न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः
जलवायु अनुसन्धानमा नीतिगत झमेला र
मदन पुरस्कार वीणा राजभण्डारी र