लण्डन । म्यानचेस्टर सिटीका नर्वेजियन स्टार स्ट्राइकर अर्लिङ हालान्डले आफ्नो करियरमा अर्को ऐतिहासिक कोसेढुंगा पार गर्नुभएको छ । कोभेन्ट्रीलाई हराएर प्रिमियर लिगमा शतप्रतिशत जितको यात्रा कायम राख्ने क्रममा हालान्डले क्लब करियरको ३००औँ गोल पूरा गर्नुभएको हो । यसक्रममा उहाँले स्टार खेलाडीद्वय किलियन एमबाप्पे र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै छिटो यो सफलता हात पार्ने खेलाडीको सूचीमा आफ्नो नाम लेखाउनुभयो ।
मोल्डे, रेड बुल साल्जबर्ग, बोरुसिया डर्टमन्ड र हाल म्यानचेस्टर सिटीबाट खेल्दै ३०० गोलको आँकडा छुने २६ वर्षीय हालान्डलाई यो ऐतिहासिक उपलब्धि हासिल गर्न जम्मा ३८४ खेलमात्र लाग्यो । यो रेकर्ड अर्जेन्टिनाका महान् खेलाडी लियोनल मेस्सी (३६५ खेल) भन्दा केही बढी भए पनि किलियन एमबाप्पे (३९८ खेल) र क्रिस्टियानो रोनाल्डो (४९९ खेल) को तुलनामा भने निकै कम हो ।
इत्तिहाद स्टेडियममा भएको खेलको २६औँ मिनेटमा हालान्डले गरेको हेड गोल नै भर्खरै माथिल्लो डिभिजनमा बढुवा भएर आएको कोभेन्ट्रीविरुद्ध निर्णायक साबित भयो । नयाँ प्रशिक्षक एन्जो मारेस्काको नेतृत्वमा सिटीले टोली पुनर्संरचनाका लागि ४५० मिलियन पाउण्ड (६०९ मिलियन डलर) भन्दा बढी खर्च गरिसकेको भए पनि टोलीका लागि हालान्ड नै सबैभन्दा भरपर्दा र बहुमूल्य खेलाडीका रूपमा उभिनुभएको छ । पछिल्ला दुई खेलमा यो उहाँको तेस्रो गोल हो ।
खेल समाप्तिपछि इएसपिएनसँग कुरा गर्दै हालान्डले आफ्नो प्रदर्शनप्रति सन्तुष्टि जनाए पनि अझ सुधार गर्नुपर्ने बताउनुभयो । ‘खेललाई पूर्ण रूपमा आफ्नो पक्षमा पार्न मैले अझ धेरै गोल गर्नुपर्थ्यो, तर त्यसो गर्न सकिनँ । यसले टोलीका लागि स्थिति कठिन बनायो’, उहाँले भन्नुभयो, ‘प्रिमियर लिगमा यदि अवसरको सदुपयोग गरिएन भने स्थिति सधैँ गाह्रो हुन्छ ।’
नयाँ खेलाडीहरूको आगमनबारे बोल्दै उहाँले एन्जो फर्नान्डेज र इलियट एन्डरसनजस्ता प्रिमियर लिग र अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडीहरूले टिमलाई बलियो बनाउने बताउनुभयो । पेप ग्वार्डिओलाको उत्तराधिकारीका रूपमा आएका प्रशिक्षक एन्जो मारेस्काका लागि यो जितले उत्कृष्ट सुरुवातलाई निरन्तरता दिएको छ । सरुवा बजारको अन्तिम दिन (डेडलाइन डे) मा एन्जो फर्नान्डेज र इलिमान एनडियाएलाई भित्र्याएको सिटीले ग्रिष्मकालीन सरुवा बजारमा इलियट एन्डरसनलाई पनि अनुबन्ध गरेको थियो । कोभेन्ट्रीविरुद्धको यो खेलमा यी नयाँ खेलाडीहरू सुरुवाती सेटमै मैदान उत्रिएका थिए । ‘यो अघिल्ला दुई खेलभन्दा फरक र अत्यन्त महत्त्वपूर्ण जित हो’, म्याचपछि खुसी व्यक्त गर्दै प्रशिक्षक मारेस्काले भन्नुभयो, ‘म खेलाडीहरूलाई दिन–प्रतिदिन नजिकबाट बुझ्दै छु । हामी जति नजिकिँदै जान्छौँ, हाम्रो प्रदर्शन अझ निखारिँदै जानेछ ।’ त्यस्तै, नयाँ खेलाडी एनडियाएले पनि जितका साथ सिजनको सुरुवात गर्न पाउनु आफ्ना लागि सुखद रहेको बताउनुभयो । एजेन्सी







आज साँझसम्म यातायात सञ्चालन गर्ने
देवीघाटमा एक्रो ब्रिज निर्माण तीव्र,
नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२
भोटेकोशी बाढी : ट्रमा सेन्टरमा
लागुऔषध खैरो हेरोइनसहित मकवानपुरमा तीन
कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य