काठमाडौँ । रसुवा लगायत विभिन्न जिल्लामा आएको त्रिशूली बाढी र पहिरोमा परी हालसम्म १ हजार ३ सय ५६ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार साँझ ६ बजे सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार विपद्मा परी अझै ४ हजार ९ सय ९४ जना सम्पर्कविहीन छन् ।
प्राधिकरणका अनुसार बाढीबाट सबैभन्दा बढी चितवनमा ३ सय ६३ जनाको मृत्यु भएको छ । नवलपरासी पूर्वमा २ सय २३, नवलपरासी पश्चिममा २ सय २१, नुवाकोटमा १ सय ९७, रसुवामा १ सय ६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ ।
फेला परेका शवमध्ये हालसम्म ९८ जनाको मात्र पहिचान खुलेको छ । पहिचान हुन बाँकी शवको डिएनए परीक्षणका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा फोटो र नाता प्रमाणित कागजातसहित सम्पर्क गर्न प्राधिकरणले आग्रह गरेको छ ।
विपद्मा परी हालसम्म ६ हजार ६ सय ७६ जना घाइते भएका छन् । त्यसमध्ये ३ सय २७ जनाको विभिन्न १० वटा अस्पतालमा उपचार भइरहेको छ भने २ सय ४२ जना उपचारपछि घर फर्किएका छन् ।
घाइतेको उपचारमा नेपाली सेनाले ३ हजार ३ सय ७९ जना र सशस्त्र प्रहरीले २ हजार ९ सय ७० जनालाई स्वास्थ्य सेवा प्रदान गरेका छन् । बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ३ सय ९६ जनाको सफल उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।
रसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका ३९ वटा होल्डिङ सेन्टरमा ३ हजार ५ सय ३३ जनालाई सुरक्षित राखिएको छ ।
४,९९४ जना अझै सम्पर्कविहीन
प्राधिकरणका अनुसार सम्पर्कविहीनमध्ये नुवाकोटका २ हजार ३ सय ४०, रसुवाका १ हजार ९ सय ६७, सुरक्षाकर्मी तथा कर्मचारी १ सय र विदेशी पर्यटक ५ सय ८७ जना छन् ।
बेपत्ताको खोजी तथा उद्धारका लागि २१ हजार ४ सय २ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । यसमा नेपाली सेनाका ९ हजार २ सय ८७, नेपाल प्रहरीका ७ हजार ९ सय १२ र सशस्त्र प्रहरीका ४ हजार २ सय ३ जना रहेका छन् ।
उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरले हालसम्म १ हजार ४ सय ७९ पटक उडान भरेका छन् ।
राहत र मनोसामाजिक परामर्शमा तीव्रता
सरकारले बाढी प्रभावित क्षेत्रमा राहत वितरणलाई समेत तीव्रता दिएको छ । भदौ २२ गते मात्रै दुईवटा हेलिकप्टर र आठवटा मिनी ट्रकमार्फत खाद्यान्न तथा गैरखाद्यान्न सामग्री प्रभावित क्षेत्रमा ढुवानी गरिएको छ ।
सरकारले रसुवा र नुवाकोटलाई १–१ करोड रुपैयाँ, धादिङलाई ५० लाख रुपैयाँ तथा प्रभावित १५ वटा पालिकालाई कुल १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ ।
विपद्बाट प्रभावित नागरिकमा देखिन सक्ने मानसिक तनाव तथा अन्य मनोसामाजिक समस्यालाई सम्बोधन गर्न १ सय ५० जनाभन्दा बढी स्वास्थ्यकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।







बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई
त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईँ समर्थक
त्रिभुवन राजपथको सडक भासियो, एकतर्फी
ब्रिक्समा नेपाल नबोलाइनुको कारण भारत