काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को आधिकारिक प्रसारण अधिकार हिमालय स्पोर्ट्स (हिमालय टिभी)ले प्राप्त गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) को कार्यालयमा सोमबार भएको बोलपत्र प्रक्रियामा हिमालय स्पोर्ट्सले करसहित १७ करोड २४ लाख रुपैयाँको कीर्तिमानी बोली लगाउँदै एनपिएलको प्रसारण अधिकार सुरक्षित गरेको हो । हिमालय स्पोर्ट्सले करबाहेक १४ करोड ५६ लाख रुपैयाँको बोली लगाएको हो । क्यानले सोमबार बोलपत्र खोलेपछि हिमालय स्पोर्ट्स एनपिएलको आधिकारिक प्रसारण अधिकारका लागि छनोट भएको हो ।
हिमालय स्पोर्ट्सले सोमबार जारी गरेको विज्ञप्तिमा एनपिएलको प्रसारण अधिकार प्राप्त गर्नु आफ्ना लागि गौरवको विषय भएको जनाएको छ । कम्पनीका अनुसार उसले कबोल गरेको रकम गत वर्षको प्रसारण अधिकार मूल्यको तुलनामा पाँच गुणाभन्दा बढी हो । त्यस्तै, यस वर्षका लागि तोकिएको न्यूनतम बोलकबोल रकमभन्दा पनि झण्डै साढे दुई गुणा बढी हो ।
‘एनपिएल यति ठूलो स्तरको लगानीको हकदार छ भन्ने हाम्रो दृढ विश्वास हो । नेपाल क्रिकेट संघ (क्यान) ले यस प्रतियोगितालाई यस क्षेत्रकै अग्रणी खेलकुद प्रोपर्टीका रूपमा उचाइ दिनेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ,’ हिमालय स्पोर्ट्सले विज्ञप्तिमा भनेको छ ।
एनपिएलको बढ्दो व्यावसायिक मूल्यले खेलकुद संघले व्यावसायिक रूपमा दिगो र बलियो प्रतियोगिता निर्माण गर्दा के हासिल गर्न सकिन्छ भन्ने देखाएको कम्पनीको निष्कर्ष छ । प्रतियोगिताको व्यावसायिक मूल्यमा भएको वृद्धिले समग्र नेपाली क्रिकेटको इकोसिस्टमलाई थप बलियो बनाउने, थप स्रोतसाधन जुटाउने तथा खेलको विकासका लागि नयाँ अवसर सिर्जना गर्ने विश्वास हिमालय स्पोर्ट्सले व्यक्त गरेको छ ।
हिमालय स्पोर्ट्सका अनुसार एनपिएलको प्रसारण अधिकार खरिद गर्नु केवल व्यावसायिक लगानीमात्र नभई नेपाली क्रिकेटप्रतिको दीर्घकालीन प्रतिबद्धता पनि हो । कम्पनीले एनपिएललाई गुणस्तरीय उत्पादन र फराकिलो पहुँचसहित नेपाली दर्शकमाझ पुर्याउने प्रतिबद्धता जनाएको छ ।
प्रसारण अधिकारको मूल्यमा भएको उल्लेख्य वृद्धिले एनपिएल नेपाली क्रिकेटको महत्त्वपूर्ण व्यावसायिक खेलकुद ब्राण्डका रूपमा स्थापित हुँदै गएको संकेत गरेको छ । यसबाट नेपाली क्रिकेटमा लगानी, पूर्वाधार विकास, खेलाडी तथा प्रतियोगिताको स्तर अभिवृद्धिका लागि थप स्रोत परिचालन हुने अपेक्षा गरिएको छ ।
प्रसारण र टिकेटिङ अधिकार हस्तान्तरण
क्यानले एनपिएलको तेस्रो संस्करणका लागि मिडिया तथा टिकेटिङ अधिकारको बोलपत्र र खरिद प्रक्रिया सम्पन्न गरी अधिकारधनीहरूको घोषणा गरेको छ । क्यानले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै विजेता कम्पनीहरू र उनीहरूले कबुल गरेको रकम सार्वजनिक गरेको हो ।
विश्वभरका लागि ओटिटी अधिकार नेटटिभी प्राइभेट लिमिटेडले १८ करोड चार लाख रुपैयाँमा प्राप्त गरेको छ । टिकटिङ अधिकार इसेवा लिमिटेडले ८५ लाख रुपैयाँमा हात पारेको छ । सहमति भएका व्यावसायिक शर्तअनुसार टिकटिङबाट प्राप्त हुने कुल आम्दानीको ९५ प्रतिशत रकम क्यानले पाउनेछ । बाँकी पाँच प्रतिशत रकम इसेवाले प्राप्त गर्नेछ ।
क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा अधिकार प्राप्त गर्ने नेटटिभी, हिमालय टेलिभिजन र इसेवालाई बधाई दिइएको छ । एनपिएलको तेस्रो संस्करणलाई अझ सफल, व्यवस्थित तथा प्रभावकारी बनाउन सबै साझेदारहरूसँग सहकार्य गर्ने प्रतिबद्धता क्यानले व्यक्त गरेको छ । एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेबाट सुरु हुँदैछ ।







सुनसान छन् सौराहाका होटल, पर्यटक
ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी