काठमाडौँ । नेपाली कांग्रेसले गत पुसमा क्रियाशील सदस्यता नवीकरण गरेका तर प्राविधिक रूपमा अद्यावधिक नभएका सदस्यलाई समेत १५औँ महाधिवेशनमा सहभागी गराउने निर्णय गरेको छ । यो निर्णयसँगै पार्टीभित्र लामो समयदेखि देखिएको क्रियाशील सदस्यताको विवाद समाधानउन्मुख भएको कांग्रेस महामन्त्री गुरुराज घिमिरेले बताउनुभएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको जारी बैठकले गत पुसमा सदस्यता नवीकरण गरेका तर अद्यावधिक प्रक्रियामा सहभागी नभएका सदस्यलाई महाधिवेशनको प्रक्रियाबाट वञ्चित नगर्ने निर्णय गरेको हो ।
महामन्त्री घिमिरेका अनुसार विशेष महाधिवेशनमा सहभागी नभएको पक्षले महाधिवेशनको निष्पक्षता र सबै पक्षको सहभागिता सुनिश्चित गर्न अद्यावधिकको बाध्यकारी प्रक्रिया हटाउन माग गर्दै आएको थियो । सो मागलाई सम्बोधन गर्दै पार्टीले उनीहरूलाई १५औँ महाधिवेशनमा सहभागी हुने बाटो खुला गरेको उहाँले बताउनुभयो ।
यद्यपि, गत पुसमा सदस्यता नवीकरण गरेका सदस्यले डिजिटल प्रणालीमार्फत सदस्यता अद्यावधिक गर्ने प्रक्रियामा भने सहभागी हुनुपर्ने उहाँले स्पष्ट पार्नुभयो । तर, अद्यावधिक प्रक्रिया पूरा नगरेकै कारण महाधिवेशनको प्रक्रियाबाट भने वञ्चित नगरिने निर्णय भएको उहाँको भनाइ छ ।
महामन्त्री घिमिरेले भन्नुभयो, “केही समयअघिदेखि क्रियाशील सदस्यताको विषय विवादको विषयजस्तो देखिएको थियो । अद्यावधिक गर्ने र नगर्ने भन्ने दुईथरी पक्ष–विपक्षजस्तो भएर पार्टी दुई खेमामा बाँडिएको थियो ।”
विशेष महाधिवेशनमा सहभागी नभएको पक्षले महाधिवेशनको निष्पक्षता तथा सर्वपक्षीय सहभागिताको सुनिश्चितताका लागि गत पुसमा नवीकरण गरिएका क्रियाशील सदस्यलाई अद्यावधिकको बाध्यकारी प्रक्रियाबाट छुट दिनुपर्ने माग राखेको उहाँले बताउनुभयो ।
“उहाँहरू पनि डिजिटलाइजेसनको प्रक्रियामा सामेल हुनुपर्छ । तर, हाललाई महाधिवेशनको प्रक्रियाबाट वञ्चित नगर्ने निर्णय गरेका छौँ । उहाँहरूको माग नै यही थियो, त्यो माग हामीले पूरा गरेका छौँ,” उहाँले भन्नुभयो ।
महामन्त्री घिमिरेका अनुसार सभापति गगनकुमार थापाले आइतबार डा. शेखर कोइराला र पूर्णबहादुर खड्कासँग भएको वार्ता सकारात्मक रहेको जानकारी कार्यसम्पादन समितिको बैठकमा गराउनुभएको थियो ।
उहाँले भन्नुभयो, “सभापतिज्यूले हामीलाई उहाँहरूसँगको वार्ता सकारात्मक भएको बताउनुभएको छ । अब उहाँहरूले निःवर्तमान सभापतिज्यूसँग पनि कुरा गर्ने भन्नुभएको रहेछ । सम्भवतः हामीले उहाँहरूको एक चरणको माग सम्बोधन गरेका छौँ । अब बाँकी कुरा कहाँ पुग्यो भन्ने उहाँहरूले जानकारी गराउनुहुन्छ ।”
यसअघि निःवर्तमान सभापति शेरबहादुर देउवा पक्षले गत पुसमा नवीकरण गरिएका क्रियाशील सदस्यलाई अनिवार्य रूपमा अद्यावधिक प्रक्रियामा सहभागी गराउनुपर्ने व्यवस्था हटाउन माग गर्दै आएको थियो ।
महामन्त्री घिमिरेको भनाइअनुसार क्रियाशील सदस्यताको विवादमा एउटा महत्वपूर्ण माग सम्बोधन भएसँगै पार्टीभित्रको विवाद समाधानका लागि वातावरण सकारात्मक बन्दै गएको देखिएको छ ।







न्याय परिषद्को निर्णय : तीन
आईसीयूभित्रै अन्तर्वार्ता प्रकरण संसदमा प्रवेशः
पुर्चौडीमा पहिरोले एक घर पूर्ण
पहिचान भइसकेका शव तत्काल परिवारलाई
सम्पत्ति शुद्धीकरण विभागका डिजीलाई पेस्तोल
आइतबारको बिदा कटौती गर्न राप्रपा