काठमाडौं । भदौ १० मा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्यायो । बाढीले बस्ती बगायो, भौतिक संरचना ध्वस्त बनायो, जलविद्युत् आयोजनामा कार्यरत श्रमिकदेखि सर्वसाधारणसम्मलाई प्रभावित बनायो । कतिपय परिवारले आफन्त गुमाए भने कतिपयले वर्षौं लगाएर बनाएको घर, सम्पत्ति र जीवनको आधार नै क्षणभरमा गुमाउनुपर्यो ।
प्राकृतिक विपत्तिले दिएको त्यो पीडा अहिले केवल प्रभावित परिवारको स्मृतिमा मात्र सीमित छैन । पीडा, छटपटी, विस्थापन र आफन्त गुमाउँदाको रोदनलाई संगीतकर्मीहरूले गीतका शब्द, धुन र भिडियोमार्फत अभिव्यक्त गरिरहेका छन् । भोटेकोशी र त्रिशूलीको बाढीले निम्त्याएको विनाश, बगेका बस्ती, भत्किएका सपना र बदलिएको भूगोललाई समेटेर पछिल्लो समय दर्जनौं लोक तथा आधुनिक गीत सार्वजनिक भएका छन् ।
सार्वजनिक गीतहरू कतै शोकगीत बनेका छन्, कतै पीडित परिवारको आवाज बनेका छन् भने कतै विपत्तिको समयमा एकजुट हुन र पुनःनिर्माणमा जुट्न आह्वान गर्ने माध्यम बनेका छन् । यी गीतमा बाढीको कहरमात्र छैन, गुमेकाको सम्झना, बाँचेको जीवनप्रतिको कृतज्ञता र फेरि उठ्ने आशासमेत छ ।
यी गीतहरू कतै शोकगीत बनेका छन्, कतै पीडित परिवारको आवाज बनेका छन् भने कतै विपत्तिको समयमा एकजुट हुन र पुनःनिर्माणमा जुट्न आह्वान गर्ने माध्यम बनेका छन् । अझ रोचक पक्ष, यी सिर्जनामा परम्परागत संगीतसँगै आधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई)को प्रयोगसमेत बढ्दो देखिन्छ ।
सांगीतिक अभिलेख
गायक तथा संगीतकार चेतन राईले बाढीपीडितको स्मृतिमा ‘बाढी आयो पहिरो आयो’ बोलको गीत सार्वजनिक गर्नुभएको छ । बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि र प्रभावितहरूको शीघ्र स्वास्थ्य लाभको कामनासहित तयार गरिएको गीतमा प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र विस्थापनलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ । गीतका शब्द, संगीत र स्वर राईकै रहेको छ ।
यस्तै, गायक रेशम सापकोटा र गायिका सीमा नेपालीको स्वरमा ‘अनिष्ट भोटेकोशी’ सार्वजनिक भएको छ । सापकोटाकै शब्द तथा संगीत रहेको गीतमा भोटेकोशी बाढीले निम्त्याएको मानवीय क्षति र त्यसबाट सिर्जित पीडालाई समेटिएको छ ।
त्यस्तै, संगीतकार रोमस भण्डारीले आफ्नै शब्द तथा संगीतमा ‘भोटे कोशीले देशै रुवायो’ सार्वजनिक गर्नुभएको छ । सगुन संगीत युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा बाढीको चपेटामा परेका नागरिकको दुःख, क्षति र सर्वसाधारणबाट खोसिएको खुशीलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।
गायक सन्तोष सुवेदी र रमेश मगरको स्वरमा ‘भोटेकोशीको बाढीमा’ बोलको गीत पनि सार्वजनिक भएको छ । रमेश मगरको युट्युब च्यानलबाट आएको गीतमा सुवेदीको शब्द रहेको छ । यही शीर्षकमा रमेश भण्डारीको शब्द तथा संगीतमा अर्को गीत पनि सार्वजनिक भएको छ । प्राकृतिक प्रकोपको पीडालाई समेट्दै चेतबहादुर बुढाथोकीको शब्द, संगीत र स्वरमा ‘बगायो मेरो त सपनाको घर’ बोलको गीत आएको छ ।
विष्णु पौडेल ‘निरीश’को शब्द तथा संगीतमा ‘बाढी भेल’ नामक शोकगीत पनि सार्वजनिक भएको छ । गायक पवन परियारको युट्युब च्यानलबाट आएको गीतले बाढीपछि बेपत्ता भएका आफन्तको खोजीमा परिवारले भोगिरहेको छटपटी र अनिश्चिततालाई केन्द्रमा राखेको छ ।
बाढीको पीडा र क्षतिलाई अभिव्यक्त गर्ने गीतसँगै नागरिकस्तरमा ऐक्यबद्धताको अपिल गर्ने सिर्जनासमेत आएका छन् । ‘सबै मिलेर विपद्को सामना गरौं’ बोलको गीतले संकटको घडीमा हातमा हात मिलाएर एकअर्कालाई सहयोग गर्नुपर्ने मानवतावादी सन्देश दिएको छ । सुरेन्द्र महर्जन र आरोह नेपालीको स्वर तथा आरोह नेपालीकै शब्द र संगीतमा ‘विपत्तिको बाढीले’ बोलको गीत सार्वजनिक भएको छ ।
बाढीको घटनालाई केन्द्रमा राखेर जनक बाजुरेलीले ‘भदौ १० को भेल आयो’ सार्वजनिक गर्नुभएको छ । चर्चित गायिका शिला आलेलगायतले ‘सत्यघटनामा भोटेकोशीको बाढी’ ल्याउनुभएको हो । त्यस्तै रमेश मगर र सन्तोष सुवेदीले ‘बाढीको कहर’लगायत गीत सार्वजनिक गर्नुभएको छ । फरक-फरक कलाकार र सिर्जनामा एउटै साझा विषय देखिन्छ, बाढीले निम्त्याएको पीडाको स्मरण र त्यसबाट बाहिर निस्कनुपर्ने सामूहिक प्रयास । यी गीतले विपत्ति, दुःख र शोकलाई अभिव्यक्त गर्नुका साथै आपसी सहयोग, सद्भाव र पुनर्निर्माणका लागि एकजुट हुन प्रेरित गर्ने प्रयास गरेका छन् । भोटेकोशी–त्रिशूली बाढीको पीडालाई संगीतमा उतार्ने क्रमसँगै आधुनिक प्रविधि कृत्रिम बौद्धिकता (एआई)को प्रयोगसमेत उल्लेख्य रूपमा देखिएको छ ।
भोटेकोशी-त्रिशूली बाढीका विषयमा एकपछि अर्को गीत सार्वजनिक भइरहनुले विपत्तिले समाजमा पारेको गहिरो प्रभावलाई पनि प्रतिबिम्बित गरेको छ । समाचारका रूपमा घटना केही समयपछि ओझेलमा पर्न सक्छ, तर गीत, कविता, चित्र वा अन्य सिर्जनाले त्यसलाई लामो समयसम्म स्मृतिमा राख्न सक्छन् । बाढीमा ज्यान गुमाएका व्यक्तिको सम्झना, बेपत्ता आफन्तको प्रतीक्षा, विस्थापित परिवारको पीडा, श्रमिकको संघर्ष र उद्धारकर्मीको प्रयासलाई समेटिएका यी गीत त्यस अर्थमा तत्कालीन घटनाका सांगीतिक अभिलेखसमेत बन्न सक्छन् ।
विशेषगरी वास्तविक घटनाका दृश्यसँग जोडिएका म्युजिक भिडियोले बाढीले क्षति पुर्याएको भूगोल र मानवीय अवस्थालाई दस्तावेजीकरण गर्ने कामसमेत गरेका छन् । यद्यपि यस्ता दृश्य प्रयोग गर्दा पीडितको गोपनीयता, सम्मान र संवेदनशीलताको ख्याल गर्नुपर्ने आवश्यकता उत्तिकै महत्त्वपूर्ण हुन्छ ।
पीडाबाट आशातर्फ
भोटेकोशी र त्रिशूलीको बाढीले दिएको घाउ तत्काल निको हुने अवस्था छैन । घरबार गुमाएका, आफन्त गुमाएका र अझै बेपत्ताको खोजीमा रहेका परिवारका लागि विपत्तिको पीडा लामो समयसम्म रहनेछ । तर, यही पीडालाई सिर्जनामा उतार्दै संगीतकर्मीहरूले एउटा साझा सन्देश दिन खोजेका छन्, विपत्ति आए पनि समाज एक्लो हुँदैन ।
दुःखमा साथ दिने, प्रभावितलाई सहयोग गर्ने र पुनर्निर्माणमा हातेमालो गर्ने सामूहिक भावना नै संकटबाट बाहिर निस्कने आधार हो । भोटेकोशीको भेलले भौतिक संरचना बगाए पनि त्यसले जन्माएको पीडा र त्यसबाट निस्किएको सांगीतिक आवाज भने लामो समयसम्म सुनिइरहनेछ । यी गीतमा बाढीको कहरमात्र छैन, गुमेकाको सम्झना, बाँचेको जीवनप्रतिको कृतज्ञता र फेरि उठ्ने आशासमेत छ ।







खर्क व्यवस्थापनमा नेपालले भुटानबाट सिक्नुपर्छ
सुनचाँदीको मूल्य घट्यो, आज प्रतिताेला
सर्लाहीमा भर्याङबाट लडेर महिलाको मृत्यु
भोटेकोशी बाढीपछि एक हजार ३९९
भक्तपुरमा पनि रात्रिकालीन सार्वजनिक यातायात
रसुवा बाढीपछि मकवानपुरका ६२ जना