काठमाडौं । टुक्का साहित्य समाजको आयोजनामा टुक्का कविताको छैटौं वार्षिकोत्सव तथा चार टुक्का कविता संग्रह लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ताराप्रसाद चापागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि डा.शैलेन्दुप्रकाश नेपाल तथा विशिष्ट अतिथिहरू कलानिधि दाहाल र प्राडा.देवी नेपाललगायत साहित्यकार तथा स्रष्टाहरूको उपस्थिति थियो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि डा.नेपालले पानसमा दीप प्रज्वलन गरेर गर्नुभएको थियो । केही दिनअघि आएको बाढीका कारण ज्यान गुमाएका नेपालीहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै कार्यक्रमको सुरुवातमा एक मिनेट मौन धारणसमेत गरिएको थियो । शोभा गौतमले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा अध्यक्ष चापागाईंले टुक्का कविता र टुक्का साहित्य समाजका गतिविधिबारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा दिलीपकुमार शर्मा कट्टेलको ‘टुक्काञ्जली’, इन्दु श्रेष्ठको ‘टुक्का प्रवाह’, कोपिला अधिकारीको ‘टुक्का तरंग’ र चुडामणि देवकोटाको ‘टुक्का पल्लव’ टुक्का कविता संग्रह लोकार्पण गरिएको थियो ।
स्रष्टा रेणुका भट्टराई ‘मञ्जरी’ले ‘टुक्का पल्लव’माथि टिप्पणी गर्दै संग्रहमा समसामयिक विषयसँगै महत्त्वपूर्ण सामाजिक सन्देश र आशा जगाउने भावका टुक्का कविताहरू समेटिएको बताउनुभयो । उहाँले कोपिला अधिकारीको ‘टुक्का तरंग’मा सामाजिक चेतना, नैतिक शिक्षा तथा असल ज्ञान प्रवाह गर्ने कविता रहेको उल्लेख गर्नुभयो ।
प्राडा.देवी नेपालले लघुत्तम कवितामा ‘विद्युतीय झड्का’ दिने क्षमता हुने भएकाले यस्ता कविताको लोकप्रियता बढिरहेको बताउनुभयो । नेपाली भाषा-साहित्यमा प्रयोग हुँदै आएका टुक्का कविता लगायतका नयाँ प्रयोग विश्वस्तरमा स्थापित हुनसक्ने सम्भावना रहेको उहाँको भनाइ थियो ।
उहाँले इन्दु श्रेष्ठको ‘टुक्का प्रवाह’मा विभिन्न विषयलाई उजागर गर्दै समाजप्रति सकारात्मक सन्देश दिने र दीलीपकुमार शर्मा कट्टेलको ‘टुक्काञ्जली’मा भावगाम्भीर्यता, नैतिक मूल्य, राष्ट्रिय जीवन, प्रकृति, व्यंग्य, आदर्श तथा आशावादी चेतना समेटिएको बताउनुभयो ।
विशिष्ट अतिथि कलानिधि दाहालले टुक्का कविताको छैटौं वार्षिकोत्सव तथा नयाँ कृतिका स्रष्टाहरूलाई बधाई तथा शुभकामना दिनुभयो । स्रष्टाहरूका तर्फबाट चुडामणि देवकोटा र कोपिला अधिकारीले मन्तव्य राख्दै आयोजकप्रति आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा चारवटै कृतिका कृतिकारलाई ‘टुक्का साहित्य समृद्धि सम्मान’ प्रदान गरिएको थियो । त्यस्तै सम्पादक तथा साहित्यकार वसन्त अज्ञातलाई पनि सोही सम्मानबाट सम्मानित गरिएको थियो ।
प्रमुख अतिथि डा.शैलेन्दुप्रकाश नेपालले नेपाली साहित्यमा परम्परादेखि नै प्रचलित लघुत्तम कविताहरू चोटिला हुने गरेको स्मरण गर्दै दुई हरफमा पूर्ण हुने लघुत्तम काव्यिक उपविधा टुक्का कविताको नयाँ प्रयोगप्रति खुसी व्यक्त गर्नुभयो । छोटो अवधिमै यस विधामा हजारौं स्रष्टाले कलम चलाउनु र २९ वटा कृति प्रकाशित हुनु महत्त्वपूर्ण उपलब्धि भएको भन्दै उहाँले टुक्का कविताका परिकल्पनाकार ताराप्रसाद चापागाईंलाई बधाई तथा शुभकामना दिनुभयो ।
संस्थाकी सचिव जुमना आचार्यले कार्यक्रम सफल बनाउन समय दिएर सहभागी हुने सबैप्रति टुक्का साहित्य समाजका तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो । अध्यक्ष चापागाईंले आभार व्यक्त गरेपछि कार्यक्रम समापन भएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका महासचिव चूडा निर्भिकले गर्नुभएको थियो ।
कार्यक्रममा प्रमोद नेपाल, निबन्ध आचार्य, कृष्णकुमार वैद्य, कृष्णबहादुर बजगाईं, दीपा गुरुङ ‘समभाव’, रबिता महर्जन, नेत्रबहादुर श्रेष्ठ, कल्पना भण्डारी ‘मुस्कान’, युवराज कट्टेल ‘चट्टान’, देवकी आचार्य, सुसिला थापा, अमर अधिकारी, नारायण लम्साल, उमा गौतम, पुष्पा दाहाल, राजु तामाङ, पवनकुमार बुढाथोकी, त्रिचन्द्र श्रेष्ठ, सानुराजा अञ्जान, लता गुरुङ, महेश धिताललगायत छ दर्जनभन्दा बढी स्रष्टाको सहभागिता थियो ।







हुप्सेकोटको घाँगी भीरमा निरन्तर धुँवाको
त्रिभुवनराजपथ भासिएपछि एकतर्फी यातायात सञ्चालन
नयाँ कोष थप्ने होइन, एकीकृत
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई