काठमाडौं । यति सस्तो, यति छिटो भन्ने नाराका साथ नेपालमा स्वदेशी लगानीमा विकसित बहुक्षेत्रीय एक्सप्रेस इ-कमर्स प्लेटफर्म यतिडिल डट कम सञ्चालनमा आएको छ । उक्त प्लेटफर्मले दैनिक उपभोग्य वस्तुदेखि इलेक्ट्रोनिक्स, लाइफस्टाइल, हार्डवेयर, मेसिनरी, होम डेकोर, फार्मेसी, फिटनेस, स्टेसनरी तथा खेलकुद सामग्रीसम्म विभिन्न श्रेणीका उत्पादन एउटै डिजिटल प्लेटफर्ममार्फत् उपलब्ध गराउने लक्ष्य राखेको छ । मेड इन नेपाल–मेड फर नेपाल अवधारणालाई प्राथमिकता दिएको प्लेटफर्मले स्थानीय रूपमा उत्पादित वस्तु तथा नेपाली उद्यमलाई प्रवर्द्धन गर्ने उद्देश्यले छुट्टै मेड इन नेपाल श्रेणीसमेत सञ्चालनमा ल्याएको जनाएको छ । कम्पनीका अनुसार अनलाइन किनमेलमा देखिने मूल्य, उत्पादनको उपलब्धता र डेलिभरी समयसम्बन्धी चुनौती सम्बोधन गर्ने उद्देश्यले प्लेटफर्म विकास गरिएको हो ।
ग्राहकलाई प्रतिस्पर्धी मूल्यमा उत्पादन उपलब्ध गराउनुका साथै काठमाडौं उपत्यकाभित्र सामान्यतया २४ घण्टाभित्र र उपत्यकाबाहिरका प्रमुख स्थानमा ४८ घण्टाभित्र डेलिभरी गर्ने लक्ष्य राखिएको छ । डेलिभरी समय भने उत्पादनको उपलब्धता तथा लजिस्टिक रुटिङमा निर्भर रहनेछ । प्लेटफर्मको आगामी विस्तार तथा व्यवस्थापन क्षमता सुदृढ बनाउन यतिडिलले सिंगापुरस्थित नेउभेन पिटिई एलटिडीसँग रणनीतिक साझेदारी गरेको र साझेदारीमार्फत् व्यवस्थापन परामर्श, रणनीतिक योजना तथा डिजिटल कमर्ससम्बन्धी अन्तर्राष्ट्रिय अनुभवलाई नेपालको बजारमा उपयोग गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार स्थानीय बजार, बिक्रेता सञ्जाल र सञ्चालन क्षमतासँग अन्तर्राष्ट्रिय व्यवस्थापन अनुभवलाई जोडेर नेपालमा डिजिटल वाणिज्यको अनुभव थप व्यवस्थित र प्रतिस्पर्धी बनाउने उद्देश्य साझेदारीको रहेको छ । कम्पनीले नेपालबाहिर रहेका नेपाली तथा नेपालसँग सम्बन्धित अन्तर्राष्ट्रिय ग्राहकलाई समेत लक्षित गरेको छ । कम्पनीले स्वदेशी तथा अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीलाई प्लेटफर्ममा एकीकृत गर्दै विदेशमा रहेका नेपालीले नेपालमा रहेका परिवार तथा आफन्तका लागि दैनिक आवश्यक सामग्री, उपहार तथा अन्य वस्तु अर्डर गर्न सक्ने सुविधा उपलब्ध गराएको जनाएको छ । साथै, अन्तर्राष्ट्रिय लजिस्टिक साझेदारमार्फत् नेपालबाट विदेशतर्फ तथा आवश्यकताअनुसार अन्तर्राष्ट्रिय डेलिभरी सेवासमेत विस्तार गर्ने योजना कम्पनीको छ । प्लेटफर्मको सुरुवातसँगै कम्पनीले सेप्टेम्बर ३० सम्म नयाँ तथा सुरुवाती ग्राहकलाई लक्षित गरी विभिन्न अफर सार्वजनिक गरेको छ ।
नयाँ दर्ता हुने प्रयोगकर्ताले एक सय यतिडिल प्वाइन्ट्स अर्थात् एक सय रुपैयाँ बराबरको क्रेडिट प्राप्त गर्नेछन् । त्यस्तै, प्रत्येक खरिदमा यतिडिलको लोगो वा क्युआरसहितको किचेन निःशुल्क उपलब्ध गराइने पनि कम्पनीले जनाएको छ । कम्पनीका अनुसार खरिद रकमका आधारमा थप उपहारको व्यवस्था गरिएको छ । तीन हजारदेखि पाँच हजार रुपैयाँसम्मको खरिदमा नेपालको आधिकारिक फुटबल जर्सी, पाँच हजारदेखि आठ हजार रुपैयाँसम्मको खरिदमा यतिडिलको छाता तथा आठ हजारभन्दा माथिको खरिदमा फिफाको आधिकारिक फुटबल उपलब्ध गराइनेछ । प्लेटफर्मको व्यावसायिक सुरुवातसँगै कम्पनीले विपद् प्रभावित समुदायलाई लक्षित गर्दै ‘हातमा हात, बाढीपीडितलाई यतिडिलको साथ’ नामक कर्पोरेट सामाजिक उत्तरदायित्व अभियानसमेत सञ्चालन गरेको छ । २६ अगस्टदेखि १५ नोभेम्बर २०२६ सम्म प्लेटफर्ममार्फत् हुने सम्पूर्ण खरिदबाट प्राप्त कुल रकमको दुई प्रतिशत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग स्वरूप प्रदान गरिने बताइएको छ ।







बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई
त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईँ समर्थक
त्रिभुवन राजपथको सडक भासियो, एकतर्फी
ब्रिक्समा नेपाल नबोलाइनुको कारण भारत