लामो समयदेखि आन्तरिक कलहका कारण छिन्नभिन्न भएको नेपाली कांग्रेस हाल केही शर्तसहित एकताको निकट पुगेको छ । संस्थापन र संस्थापन इतर भनेर झगडाको चरम अवस्थामा पुगेका कांग्रेसका दुई खेमा अन्ततः अब केही शर्त राखेर मिलनबिन्दुमा आइपुगेको छ । ठीक एक वर्षअगाडि देशमा एउटा अकल्पनीय विद्रोह भयो । जेन-जी विद्रोह भनेर चिनिएको उक्त विद्रोहमा साढे छ दर्जन जति व्यक्तिहरूको मृत्यु हुन पुग्यो भने लेखाजोखा गर्न नसकिने गरी भौतिक सम्पत्तिको क्षति भयो । गतवर्ष भदौ २३ र २४ गते भएको उक्त विद्रोहपछि नेपालको राजनीतिक अवस्थामा आमूल परिवर्तन आयो । सरकारमा रहेकाहरूले सरकार छोडेर बाहिरिनु पर्यो भने कल्पना नगरेको राजनीतिक शक्ति राजनीतिको मूलधारमा आयो ।
यसपछि नेपालको तत्कालीन अवस्थासम्मको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसमा पनि मतमतान्तरको सुरुवात भयो । त्यसपछि तीन–चार महिनासम्म यही विषयले पार्टीमा केन्द्रीय बहस बढ्दै जाँदा मतमतान्तर अझै चरम अवस्थामा पुग्यो । महाधिवेशन गर्ने समय भइसकेको थियो । विधानतः चार–चार वर्षमा महाधिवेशन हुनुपर्थ्यो र कुनै विशेष परिस्थितिमा अर्को एक वर्ष म्याद थप गर्न पाइने नियम थियो । एकथरीले हालका लागि विशेष महाधिवेशन गरेर अगाडि बढौं र एक वर्षभित्र महाधिवेशन गरौं भन्ने तर्क गरे भने अर्को पक्षले त्यसो नगर्ने केही महिनापछि नियमित महाधिवेशन नै गर्ने भन्ने अडान लिए । फागुन २१ गते निर्वाचन हुने भनेर समय तोकिएको थियो ।
त्यसभन्दा अघि नै महाधिवेशन गर्नुपर्छ भन्ने तत्कालीन माहमन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माको अडान थियो । उता सभापति र उहाँको पक्षका नेताहरू भने निर्वाचन सकिएपछि २०८३ साल वैशाखमा नियमित महाधिवेशन गर्ने अडानमा रहनुभयो । यसो गर्दागर्दै बहुप्रतिशत सदस्यहरूको हस्ताक्षरसहित महामन्त्रीद्वयले विशेष महाधिवेशनको माग गर्नुभयो तर सभापतिको पक्षले उक्त कुरा स्वीकार गरेन । यसरी बढेको मतमतान्तरपछि महामन्त्रीद्वयले जसरी भए पनि विशेष महाधिवेशन गर्ने अडान लिएर त्यसका लागि समय घोषणा गर्नुभयो र पुसको अन्तिम हप्तामा विशेष महाधिवेशन सम्पन्न गर्नुभयो । त्यसबाट कार्यसमितिको पनि छनोट भयो । ठीक यहीबेला एक पक्षले अर्को पक्षलाई अवैधानिक भन्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको घोषणाको दोहोरी चल्यो ।
विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति निर्वाचित हुनुभयो र अरू पनि नयाँ पुस्ताका युवाहरू विभिन्न पदाधिकारी र सदस्य बन्नुभयो । यसको केही दिनभित्र आमनिर्वाचनका लागि मनोनयन गर्नुपर्ने दिन तोकिएको थियो । हतारमै उहाँहरूले निर्वाचन आयोगबाट आफ्नो वैधानिकता पुष्टि गर्नुभयो । निर्वाचन आयोगले विशेष महाधिवेशनलाई आधिकारिक मान्यो । यही आधिकारिकताका आधारमा गगनकुमार थापाले आफ्नो हस्ताक्षरबाट निर्वाचनको उम्मेदवारहरूका लागि टिकट वितरण गर्नुभयो । त्यसपछि संस्थापन इतर भनिएको पक्ष अर्थात् निवर्तमान सभापति शेरबहादुर देउवाको पक्ष सर्वोच्च अदालतमा गएर आधिकारिकताको माग गर्यो तर सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट छानिएको गगन थापा पक्षलाई नै आधिकारिक कांग्रेसको मान्यता दियो ।
त्यसपछि नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपा पनि विशेष महाधिवेशन पक्षधरहरूकै कार्यालयमा रूपान्तरण भयो तर अर्कातिर संस्थापनइतर पक्षमा कांग्रेसका वरिष्ठ नेताहरू र पुराना कांग्रेस नेताहरूका परिवारका सदस्यहरूको आधिक्यता थियो । उहाँहरूले विशेष महाधिवेशन पक्षधरलाई कांग्रेसका रूपमा स्वीकार गर्नुभएन र पछिल्लो चरणमा चुनदेवीमा कार्यालय खडा गरेर आफ्ना क्रियाकलापहरू अगाडि बढाउनुभयो । एकपटक त शंख चिह्न राखेर अर्को पार्टी दर्ता भइसकेको चर्चा पनि भयो तर त्यसो भइनसकेका कारण उहाँहरूले कांग्रेसमा एकताका लागि पहल गरिनै रहनुभयो । उपचारका क्रममा शेरबहादुर देउवा देशबाहिर हुनुहुन्थ्यो । उहाँ जेन–जी आन्दोलनमा घाइते हुनुभएको हुँदा उपचारका क्रममा देश बाहिर हुनुहुन्थ्यो ।
हालै निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किनुभएको छ । उहाँ फर्किएपछि उहाँले चुनदेवी कांग्रेसमै रहेर अरूलाई प्रोत्साहन गरिरहनुभयो । गगन थापा पक्षधर कांग्रेसले नियमित महाधिवेशन गर्नेगरी असोजमा मिति घोषणा गरिसकेको अवस्थामा उक्त महाधिवेशन रोक्न संस्थापन इतर पक्षले सर्वोच्चमा दिएको निवेदन पनि खारेज भयो र महाधिवेशन नरोकिने भयो । यसरी अहिलेसम्मका कानुनी फैसलाहरूलाई पुनरावलोकन गरिपाउmँ भनेर परेको रिट निवेदनको भने सर्वोच्चले पुनः सुरुदेखि हेर्ने भएको छ । यस अवस्थामा अब कांग्रेसको एकता आवश्यक छ र अधिवेशनलाई स्वीकार्नुपर्छ भन्ने एउटा पक्ष संस्थापनइतरमा पनि खडा भयो ।
त्यहाँका केही व्यक्तिहरूले आफूभन्दा धेरै कनिष्ठ भएको हुँदा गगनलाई सभापति स्वीकार्न अन्तरआत्माले नमानेको हो भन्ने खालका अभिव्यक्ति पनि दिनुभएको छ तर कानुनले आधिकारिकता दिइसकेपछि त्यसमा वरिष्ठ कनिष्ठको सवाल भने रहनु हुँदैनथ्यो । अहिले आएर डा.शेखर कोइराला र पूर्णबहादुर खड्काहरू इतर पक्षको सम्पूर्ण विचारलाई स्वीकार्न नसकेर तटस्थ रहन थाल्नुभएको छ भनिँदैछ । एकातिर एकताका लागि संस्थापन इतर पक्षले संस्थापन पक्षसामु केही शर्त राखेको छ भने अर्कातिर यस्ता शर्तहरूलाई अस्वीकार गर्दै आएको संस्थापन पक्षले अब त्यसमा पुनर्विचार गर्न सकिने, १४औं महाधिवेशनका प्रतिनिधिहरूलाई नै हालको महाधिवेशनमा प्रतिनिधित्व गराउन सकिने र सहमति भएर एकताका लागि अगाडि बढ्ने हो भने केही समयका लागि महाधिवेशन सार्न सकिने जस्ता धारणा अगाडि सारेको छ ।
यसरी दुबै पक्षका कांग्रेसहरू पहिलेको भन्दा लचिलो बनेको देखिएको छ । यसले गर्दा अब मिलनको सम्भावनाबाट निकै टाढा पुगेको महसुस गरेको कांग्रेसमा एकताको संकेत देखिन थालेका छन् । देशको सबैभन्दा पुरानो र लामो समयसम्म प्रजातन्त्रका लागि संघर्ष गर्दै आएको र प्रजातन्त्र प्राप्तिपछि त्यसको अभ्यास गर्दै आएको प्रजातान्त्रिक पार्टीमा यसरी एकताका संकेतहरू देखिनु सकारात्मक संकेत हो तर यी संकेतहरू दुवै पक्षले इमानदारिताका साथ पालन गरेमात्र सोचेजस्तो एकताको सम्भावना छ र परिणाम सकारात्मक आउनेछ, होइन भने यसबाट कांग्रेसका दुवै पक्षलाई फाइदा पुग्नसक्दैन । त्यस अर्थका कांग्रेस इतिहासमा विलय हुने हो वा भविष्यसम्म रहने हो त्यो कांग्रेसमै निर्भर रहनेछ ।







एसिसी प्रिमियर कप : साउदीविरुद्ध
देशभर मनसुनी गतिविधि सक्रिय, यी
पहिराले खस्दा रोल्पाको सहिदमार्ग अवरुद्ध
अविरल वर्षासँगै बाजुरामा पहिरो, साँफे–मार्तडी
कोरिडोर केन्द्रित कृषि उत्पादन कार्यक्रम
लेदुवा खोलाको पुल सात वर्षदेखि