नेपाली कांग्रेस नेपालको एउटा राजनीतिक दलमात्र होइन, आधुनिक नेपालको लोकतान्त्रिक यात्राको महत्त्वपूर्ण संवाहक हो । यसको इतिहास संघर्ष, त्याग, बलिदान र लोकतान्त्रिक मूल्यप्रतिको अडानले बनेको छ । त्यसैले कांग्रेसको वर्तमानलाई मूल्यांकन गर्दा केवल आजको नेतृत्व वा गुटगत समीकरण हेरेर पुग्दैनस यसको गौरवपूर्ण विरासत र भविष्यको जिम्मेवारीलाई सँगसँगै हेर्नुपर्छ । विरासत सम्मानका लागि हो, परिवर्तन रोक्नका लागि होइन । पुरानो पुस्ताले निर्माण गरेको आधारलाई सम्मान गर्दै नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउनु स्वाभाविक लोकतान्त्रिक प्रक्रिया हो । अनुभव र ऊर्जाको संयोजनबाट मात्रै कांग्रेसले आफ्नो पुनर्जागरणको बाटो समात्न सक्छ ।
पुस्तान्तरण कसैको पराजय होइन, संस्थाको निरन्तरता हो । आज कांग्रेसभित्र देखिएको मुख्य चुनौती विचारको अभावभन्दा पनि विधि र प्रक्रियाप्रतिको विश्वास कमजोर हुनु हो । पार्टीभित्र नेतृत्व परिवर्तन होस्, अधिवेशन होस् वा विशेष अधिवेशनको माग—सबै कुरा विधान र स्थापित लोकतान्त्रिक प्रक्रियाबाटै अघि बढ्नुपर्छ । व्यक्ति बलियो भएर संस्था बलियो हुँदैनस संस्था बलियो भएपछि व्यक्तिको नेतृत्व पनि सम्मानित हुन्छ । त्यसैले कांग्रेसमा विधान सर्वोच्च हुनुपर्छ र विधि सबैका लागि समान रूपमा लागू हुनुपर्छ ।
लोकतान्त्रिक पार्टीभित्र मतभिन्नता हुनु स्वाभाविक हो । असहमति लोकतन्त्रको सौन्दर्य हो, तर असहमति गुटबन्दीमा रूपान्तरण हुँदा संगठन कमजोर हुन्छ । आजको आवश्यकता ‘को कसको पक्षमा’ भन्ने प्रश्न होइन, ‘को कांग्रेसको पक्षमा’ भन्ने प्रश्नलाई केन्द्रमा राख्नु हो । व्यक्तिगत आग्रह र समूहगत स्वार्थभन्दा माथि उठेर पार्टीको संस्थागत भविष्य सोच्नसक्ने संस्कार विकास गर्नुपर्छ । पुरानो पुस्ताले आफ्नो अनुभवलाई नयाँ पुस्ताका लागि मार्गदर्शनमा बदल्नुपर्छ। नयाँ पुस्ताले पुरानो पुस्तालाई अवरोधका रूपमा होइन, अनुभवको स्रोतका रूपमा लिनुपर्छ । यसरी पुस्ताबीचको दूरी घटाएर सहकार्यको वातावरण निर्माण गर्न सकियो भने नेतृत्व हस्तान्तरण सहजमात्र होइन, अर्थपूर्ण पनि हुनेछ ।
अब कांग्रेसको बहस केवल को सभापति बन्ने, को कुन गुटमा जाने भन्ने विषयमा सीमित हुनुहुँदैन । देशको अर्थतन्त्र कसरी चलायमान बनाउने, युवालाई स्वदेशमै रोजगारी कसरी दिने, शिक्षा, स्वास्थ्यलाई गुणस्तरीय कसरी बनाउने, कृषि र उत्पादनलाई कसरी प्रोत्साहन गर्ने, सुशासन कसरी स्थापित गर्ने र भ्रष्टाचारमाथि प्रभावकारी नियन्त्रण कसरी गर्ने यस्ता प्रश्न कांग्रेसको राजनीतिक बहसको केन्द्रमा आउनुपर्छ ।
पार्टी पुनर्जागरणका लागि नेतृत्व छनोटमा योग्यता, योगदान, इमानदारी, जनविश्वास र संगठनप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्छ । कार्यकर्ताको आवाज सुन्ने स्थायी संयन्त्र निर्माण हुनुपर्छ । नेतृत्व र कार्यकर्ताबीच नियमित संवादको संस्कृति विकास गर्नुपर्छ । जिम्मेवारीसँगै जवाफदेहिता र अधिकारसँगै अनुशासनलाई जोड्नुपर्छ ।
विधानको प्रयोग व्यक्ति हेरेर होइन, सिद्धान्त हेरेर हुनुपर्छ । कांग्रेसको पुनर्जागरण कुनै एक व्यक्तिको उदय र अर्को व्यक्तिको अन्त्य होइन । यो राजनीतिक संस्कारको रूपान्तरण हो । विरासतलाई बोझ होइन, प्रेरणा बनाउनेस विधिलाई औपचारिकता होइन, मार्गदर्शन बनाउनेस असहमतिलाई विभाजन होइन, सुधारको अवसर बनाउने र नेतृत्वलाई पद होइन, जिम्मेवारीका रूपमा बुझ्ने संस्कार नै आजको आवश्यकता हो ।
कांग्रेसले इतिहासबाट शक्ति लिनुपर्छ, वर्तमानबाट शिक्षा लिनुपर्छ र भविष्यप्रति स्पष्ट दृष्टि बनाउनुपर्छ । विरासतबाट प्रेरणा, विधिबाट सञ्चालन, संवादबाट एकता र राष्ट्रबाट दिशा, यही बाटोबाट कांग्रेसले आफ्नो लोकतान्त्रिक गौरवलाई नयाँ पुस्तासम्म पुर्याउन सक्छ । अन्ततः पार्टीभन्दा ठूलो लोकतन्त्र र लोकतन्त्रभन्दा ठूलो राष्ट्र हो । यही चेतनाबाट कांग्रेसको पुनर्जागरण सम्भव छ ।







एनपीएलमा अहिलेसम्मकै ठूलो ‘स्टार’ इन्ट्री,
विपद् व्यवस्थापनमा संसदीय उच्चस्तरीय समिति
विपद् उद्धारका लागि भक्तपुर प्रशासनले
न्याय परिषद्को निर्णय : तीन
आईसीयूभित्रै अन्तर्वार्ता प्रकरण संसदमा प्रवेशः
पुर्चौडीमा पहिरोले एक घर पूर्ण