म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२, खबराको दारिमपाँटामा मावली आएका एक युवाले धारिलो घरेलु हतियार प्रहार गरी आफ्नै ७२ वर्षीया हजुरआमाको हत्या गरेका छन्।
सोमबार बिहान साढे ११ बजेतिर स्थानीय मनकुमारी घिमिरेको उनका छोरीका छोरा (नाति) २६ वर्षीय आशिष बरुवालले घरेलु हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। हतियार प्रहारबाट घिमिरेको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो।
हत्यामा संलग्न बरुवाललाई प्रहरीले पक्राउ गरेको छ। अन्नपूर्ण गाउँपालिका–६, घारका बरुवाल अमेरिकामा काम गर्ने क्रममा रेस्टुरेन्टमा आगजनी गरेको अभियोगमा दोषी ठहर भई तीन वर्ष जेल बसेर डिपोर्ट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। उनी जनैपूर्णिमाका दिन मामाघर आएका थिए।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक राजन कार्कीले सामान्य घरायसी विवादका क्रममा बरुवालले हजुरआमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताउनुभयो।
‘बिहान घर जाने विषयमा विवाद भएको देखिन्छ। आमा घर लैजान आउनुभएको थियो। हजुरआमा भान्सामा काम गरिरहेको अवस्थामा पछाडिबाट प्रहार गरेको देखिन्छ,’ प्रनाउ कार्कीले भन्नुभयो।
बरुवालको गतिविधि हेर्दा उनको मानसिक अवस्था सामान्य नरहेको हुन सक्ने देखिएको पनि प्रनाउ कार्कीले बताउनुभयो।
हजुरआमामाथि धारिलो हतियार प्रहार गरी भाग्दै गरेका बरुवाललाई प्रहरीले लभ्लीहिल आसपासबाट पक्राउ गरेको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताउनुभयो। पक्राउ पर्दा उनको शरीरमा रगत लागेको अवस्थामा रहेको प्रहरीले जनाएको छ।
घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा लेनदेनसम्बन्धी विवादका साथै अमेरिकामा रहेका आफन्तसँग समेत बरुवालको सम्बन्ध राम्रो नरहेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले बरुवाललाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरी कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउने जनाएको छ।
घटनापछि खबराको दारिमपाँटा शोकमा डुबेको छ। घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक तिमिल्सिनाको नेतृत्वमा १५ जनाको प्रहरी टोली परिचालन गरिएको थियो।







विपद् उद्धारका लागि भक्तपुर प्रशासनले
न्याय परिषद्को निर्णय : तीन
आईसीयूभित्रै अन्तर्वार्ता प्रकरण संसदमा प्रवेशः
पुर्चौडीमा पहिरोले एक घर पूर्ण
पहिचान भइसकेका शव तत्काल परिवारलाई
सम्पत्ति शुद्धीकरण विभागका डिजीलाई पेस्तोल