काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते गएको भीषण बाढीको दुई साता बितिसकेको छ । मुख्यगरी रसुवा र नुवाकोट नराम्ररी प्रभावित भएका छन् । पीडितहरूले घरबार गुमाएर विस्थापित हुनुपरेको छ । कतिपयका परिवारका सदस्य बेपत्ता भएका छन् । बाढीले विद्यालयहरू बन्द हुँदा विद्यार्थीहरूको पढाइ प्रभावित भएको छ । बाढी प्रभावित क्षेत्रका नागरिकहरू मनोवैज्ञानिक त्रासमा छन् । सरकारले भने राहत वितरणमा दाल/चामललाई मात्र केन्द्रित गरेको छ । विनाशकारी बाढीको दुई साताभन्दा कम समयमै सरकारले उद्धार, राहत तथा पुनःस्थापनामा तीव्रता दिएको दाबी गरेको छ । तर, प्रभावित क्षेत्रको वास्तविक अवस्था अझै संकटपूर्ण देखिएको छ ।
घरबस्ती, सडक, पुल र जलविद्युत् संरचना तहसनहस भएका क्षेत्रमा हजारौँ नागरिक विस्थापित छन् भने ठूलो संख्यामा मानिस अझै बेपत्ता छन् । सरकारले उद्धार तथा राहतका लागि सेना, प्रहरी र अन्य संयन्त्र परिचालन गरिएको तथा प्रभावित क्षेत्रमा सेवा पुनःस्थापनाको काम अघि बढेको बताउँदै आएको छ । तर, प्रभावित क्षेत्रका कतिपय बस्तीमा खानेपानी, औषधि, आवास र आवागमन जस्ता आधारभूत आवश्यकताकै समस्या कायमै रहेको छ । सरकारी तथ्यांकमा उद्धार र पुनःस्थापनाको प्रगति देखिए पनि प्रभावित नागरिकको दैनिक जीवनमा संकट कायमै छ । विस्थापितले सिरक, डस्ना, भाँडाकुँडा, तरकारी, कपडा, औषधि, पिउने पानी र खाना पकाउने ग्यासको अभाव रहेको बताएका छन् । तर, सरकारले भने प्रभावितसम्म राहत पुगेको दाबी गरेको छ ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगिसकेको दाबी गर्नुभएको छ । प्राधिकरणमा सोमबार आयोजित कार्यक्रममा कार्यकारी प्रमुख उप्रेतीले हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसकेको दाबी गर्नुभएको हो । उद्धार र खोजी कार्यमा हेलिकप्टरलाई प्राथमिकता दिइएकाले हेलिकप्टरमार्फत राहत लैजानुपर्ने ठाउँमा भने राहत लैजान नसकिएको उहाँको भनाइ छ । त्यस्ता क्षेत्रमा त्रिशूली वा रसुवालगायत हेलिकप्टर पुग्ने नजिकका स्थानबाट खाद्य सामग्री पठाउने प्रयास भइरहेको जानकारी दिँदै कार्यकारी प्रमुख उप्रेतीले भन्नुभयो, ‘कतिपयले हामीलाई निजी हेलिकप्टर चाहियो, त्यहाँ सामान वितरण गर्न चाहन्छौँ, राहत पाएनौँ भन्ने खालका अनुरोध पनि गरिरहनु भएको छ । त्यसैले स्थानीय सरकारसँग हामी निरन्तर सम्पर्कमा छौँ । धेरै ठाउँमा राहत सामग्री पुगिसकेको छ । केही ठाउँमा हेलिकप्टर अपरेसन एकदमै अप्ठ्यारो भएको छ । त्यस्ता ठाउँमा अहिले खोज तथा उद्धारका लागि मात्रै महत्त्वपूर्ण सामग्री पठाउनुपर्ने भएकाले राहत सामग्री पठाउन गाह्रो भइरहेको छ ।’ छिमेकी मुलुकसँग समन्वय गर्दै उद्धार तथा राहतमा आवश्यक सहयोग लिइरहेको पनि उहाँले जानकारी दिनुभएको छ ।
‘ब्रेक थ्रु’ नभएसम्म सुरुङमा खोज तथा उद्धार जारी रहन्छ : नेपाली सेना
नेपाली सेनाले ब्रेक थ्रु नभएसम्म बाढीले क्षति गरेका जलविद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धार कार्य नरोकिने जनाएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा टनेलमा खोज तथा उद्धार कार्य तीव्र रूपमा भइरहेको जानकारी दिँदै नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले सरकारले काम रोक्ने निर्णय गरेको अवस्थामा बाहेक ‘ब्रेक थ्रु’ नभएसम्म काम नरोकिने जानकारी दिनुभएको हो । बाढीले प्रभावित जलविद्युत् आयोजनाहरूमा करिब १२१ जना नागरिक फसेको अनुमान सेनाले गरेको छ ।
रसुवागढी जलविद्युत् आयोजनामा खोज तथा उद्धारको टोली तथा आयोजनाको प्रतिनिधि सहितको टोली पावरहाउस र कन्ट्रोल प्वाइन्टसम्म पुगी खोजीकार्य गरिएको सहायक रथी थापाले जानकारी दिनुभएको छ । त्यस्तै, त्रिशूली-३ ए को पावरहाउस तथा टनेलमा सेनाको फौज रेस्क्यु इक्विपमेन्ट सामग्रीसहित निरन्तरता खोजमा लागिरहेको उहाँले जानकारी दिनुभएको छ । त्रिशूली–३ बी मा अडिट २ बाट फौज छिरी अडिट १ बाट निस्किएको र अडिट २ टनेलबाट एक्साभेटर लगायतका उपकरण लैजान सक्नेगरी बाटो बनाउने काम भइरहेको पनि थापाले जानकारी दिनुभएको छ । त्यसैगरी, चिलिमे हाइड्रोमा विदेशी सहितको संयुक्त टोलीले उपकरणको सहायतामा लेदो फाल्ने काम गरेको, माथिल्लो त्रिशुली १ मा विदेशी सहितको टोलीले थप खोजी कार्य गरेको समेत थापाले जानकारी दिनुभएको छ ।
उहाँले रसुवा बाढीको कारण क्षतिग्रस्त त्रिशूली–३ बी जलविद्युत् आयोजनामा उद्धार कार्य चुनौतीपूर्ण बनेको बताउनुभयो । सहायक रथी थापाले त्रिशूली ३ बी ९० जनाको उद्धार टोली परिचालन गरिएको जानकारी दिँदै बाढीले ल्याएको लेदोको दलदल र हिलोका कारण खोजी तथा उद्धारमा कठिनाइ भइरहेको जानकारी दिनुभयो । आयोजना नजिकै सुकुम्बासी बस्तीसमेत रहेकाले बाढीले जलविद्युत् आयोजनाको कार्यालय तथा आवास क्षेत्रसँगै उक्त बस्तीमा समेत ठूलो क्षति पुर्याएको जानकारी दिँदै सहायक रथी थापाले भन्नुभयो, ‘हाम्रो फोकस अहिले त्रिशूली ३ बी आयोजनामा रहेको छ, यसको हामीले रेकी भदौ १० गने नै गरेका थियौँ । तर, त्यहाँको हिजोको दलदलले हामीलाई धेरै समस्या गरेको थियो । अहिले त्यहाँ हाम्रो ९० जनाको टोलीले काम गरिरहेको छ । उद्धारको लागि निकै चुनौती व्यहोर्नुपरेको छ, यहाँ सानो स्काईभेटर झार्न हामी सक्षम भएका छौँ । त्रिशूली ३ ए को टनेलबाट बी को टनलेमा जना सकिने भएकोले हामीले टनेलमार्फत स्काईभेटर लाने प्रयास गरिरहेका छौँ ।’ उहाँका अनुसार रसुवा बाढीले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा रहेका ११ वटा जलविद्युत् आयोजनाका कार्यालय, आवास, सुरुङ, हेडवर्क, टेलवर्कलगायत संरचनामा क्षति गरेको छ ।
रसुवा बाढीका भ्रामक सूचनाबाट सचेत रहन आग्रह
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीपछि सार्वजनिक भएका गलत भिडियो र भ्रामक सूचनाबारे सचेत रहन आग्रह गरेको छ । प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले घटनास्थलमै नभएका केही फेक भिडियोहरू सामाजिक सञ्जालमा फैलिएर जनमानसमा नकारात्मक प्रभाव परेको पाइएको जानकारी दिनुभएको छ । आधिकारिक व्यक्तिहरूबाट आएका भनिएका भिडियोहरूलाई समेत सामाजिक सञ्जाल हेर्ने टिममार्फत फ्याक्ट चेक गर्दा फेक पाइएकाले त्यस्ता भ्रामक सूचनाबारे सचेत रहन उहाँले आग्रह गर्नुभएको छ । उहाँले चीनसँग समन्वय र विज्ञताको आदानप्रदान गरी खोज, उद्धार तथा राहत कार्यमा कुनै कसर बाँकी नराखिएको दाबी गर्नुभएको छ ।
पीडितले सरकारको अभाव महसुस गर्न नपरोस् : सभामुख अर्याल
सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्राकृतिक विपत्बाट प्रभावित कुनै पनि नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार, राहत र पुनःस्थापनाका काम अघि बढाउन तीनै तहका सरकारसँग आग्रह गर्नुभएको छ । धादिङको गल्छीस्थित भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवलोकनपछि सभामुख अर्यालले विपत्का बेला नागरिकलाई राज्यको उपस्थिति अनुभूति गराउनु सरकारको पहिलो दायित्व भएको उल्लेख गर्दै भन्नुभयो, ‘पीडित परिवारले कति छिटो राहत पाए र सरकारको उपस्थिति महसुस गरे भन्ने विषय महत्त्वपूर्ण हो । एकजना पनि पीडित नागरिकले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन ।’ राहत वितरणलाई न्यायोचित र व्यवस्थित बनाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी एकद्वार प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
उद्धार गर्न चासो नदेखाएको भन्दै माइतीघरमा प्रदर्शन
माथिल्लो त्रिशूली-३ बी जलविद्युत् आयोजनामा फसेकाहरूको उद्धार र खोजी कार्यमा प्राथमिकतामा दिन माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ । हाइड्रोमा फसेका आफन्तहरूले सोमबार माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरूले माथिल्लो ३ बी मा उद्धार तथा खोजी कार्यमा सरकारले चासो नदेखाएको आरोप लगाएका छन् । सरकारले खोजी कार्यमा चासो नदिएको र आफन्तहरूलाई पनि खोजी गर्न जान नदिएको गुनासो गरेका छन् । रसुवा बाढीपछि त्रिशूली ३ बी जलविद्युत् आयोजनामा कार्यरत १७८ जना कर्मचारी तथा श्रमिक सम्पर्कविहीन रहेका बताइएको छ ।
बाढी प्रभावित सुमना श्रेष्ठ अमात्यले त्रिशूली ३ बी मा कार्यरत कर्मचारी तथा कामदारहरूको खोजीकार्यमा सरकारले अदारुकता नदेखाएको आरोप लगाउँदै भन्नुभयो, ‘बाढी गएको तीन/चार दिनमा नै हामी गृह मन्त्रालयमा ध्यानाकर्षण गराउन गएका थियौँ तर त्यहाँ हामीलाई भेट्न दिइएन । रेक्स्यु भइरहेको छ, किन आत्तिएको भन्ने कुरा उनीहरूले गरे । सरकारले रेस्क्यु गर्न नै जानेको रहेनछ, कुटो कोदालो बोकेर रेस्क्यु गर्न जाने हो ? सरकार कति लाचार छ भन्ने यहीँबाट थाहा भयो ।’
प्रदर्शनमा सहभागी आफन्तहरूले ‘उद्धार गर्न कठिन छ, झन् उद्धार गर्न नहुने कुरा हुँदैन’, ‘कति घर बसेर कुरेर, रोएर दिन बिताउने हामी पीडित ?’, ‘१३ दिन भइसक्यो, उद्धारको सूचना खै ?’, ‘त्रिशूली-३ बीलाई प्राथमिकता दिनुस्’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।







बाढीले क्षति पुर्याएका झोलुङ्गे पुल
प्रधानमन्त्री राहत कोषमा मौज्दात रु
कन्काइ पुल १४ वर्ष अलपत्र
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
खर्क व्यवस्थापनमा नेपालले भुटानबाट सिक्नुपर्छ
सुनचाँदीको मूल्य घट्यो, आज प्रतिताेला