काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट सिर्जना भएको विपत्तिको सामना गरिरहेको अवस्थामा सबैलाई एकताबद्ध भएर उभिन आह्वान गर्नुभएको छ । सोमबार बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सम्पूर्ण राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न संघसंस्था, निजी क्षेत्र, व्यवसायी समुदाय तथा आम नागरिकलाई एकताबद्ध भएर उभिन आह्वान गर्नुभएको हो । विपत्तिको कठिन घडीमा विभाजन, दोषारोपण तथा राजनीतिक विवादमा अल्झिने समय नभएको भन्दै उहाँले राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्न पनि आग्रह गर्नुभयो ।
राष्ट्रपति पौडेलले नेपालले विगतमा भूकम्प, बाढी, पहिरो, महामारीलगायत विभिन्न विपत्तिको सामना गर्दै आएको स्मरण गर्नुभयो । प्रत्येक पटक नेपाली जनताले असाधारण साहस, धैर्य, संयम र अदम्य दृढताका साथ कठिन परिस्थितिको सामना गरेको उहाँले बताउनुभयो ।
‘यो विभाजनको समय होइन । एक-अर्कालाई दोषारोपण गर्ने वा राजनीतिक विवाद र टकरावमा अल्झिने समय पनि होइन । यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो’, राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले अहिलेको समय पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानको समेत भएको बताउनुभयो । उहाँले विपत्तिपछि पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानको प्रक्रियामा अघि बढ्दा नेपालको विकास मोडेलमाथि समेत पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह
राष्ट्रपति पौडेलले नेपालको हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था र बढ्दो विश्वव्यापी तापक्रमबाट उत्पन्न जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायलाई गम्भीर हुन आग्रह गर्नुभएको छ । उहाँले अन्तर्राष्ट्रिय समुदायका मित्रराष्ट्रलाई नेपाललगायत पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न र जलवायु न्याय सुनिश्चित गर्न ठोस तथा प्रभावकारी कदम चाल्न आह्वान गर्नुभएको हो । ‘यस विपत्तिले न केवल हाम्रो हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था मात्र दर्शाउँदैन, यसले निरन्तर बढ्दै गएको विश्वव्यापी तापक्रम र त्यसबाट उत्पन्न हुन गएको जोखिमप्रति हामीलाई पुनः गम्भीर रूपमा सचेत पनि गराएको छ । म अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपाललगायत पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन, उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु’, राष्ट्रपति पौडेलले भन्नुभयो ।
‘विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ’
राष्ट्रपति पौडेलले प्राकृतिक विपत्तिमा घरबारविहीन भएका, आफन्त गुमाएका, विस्थापित भएका र आफ्नो जीविकोपार्जनका आधार खोसिएका नागरिकहरूको पीडा अत्यन्त गहिरो रहेकाले अहिले उनीहरूलाई राज्यको साथ र भरोसा चाहिएको बताउनुभएको छ । उहाँले पीडितहरूका गुनासा र मागलाई आलोचना नसम्झी समस्या समाधानको संकेतका रूपमा बुझ्न पनि आग्रह गर्नुभएको छ । उहाँले पीडितका गुनासा र मागलाई आलोचनाका रूपमा नभई समाधानका लागि प्राप्त महत्त्वपूर्ण संकेतका रूपमा ग्रहण गर्न सरकार तथा सम्बन्धित सबै निकायलाई आग्रह गर्नुभएको हो । ‘विपत्तिमा परेका नागरिकको आवाज सुन्नु र उनीहरूको पीडाप्रति संवेदनशील हुनु लोकतान्त्रिक राज्यको आधारभूत कर्तव्य हो’, उहाँले भन्नुभयो, ‘त्यसैले पीडितका गुनासा र मागलाई आलोचनाका रूपमा होइन, समाधानका लागि प्राप्त महत्त्वपूर्ण संकेतका रूपमा ग्रहण गर्न म सरकार तथा सम्बन्धित सबै निकायलाई आग्रह गर्दछु ।’ राष्ट्रपति पौडेलले विपत्तिमा ज्यान गुमाएकाप्रति मर्यादा, सम्मान र करुणाका साथ व्यवहार सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।
मृतकको पहिचान अत्यन्त सावधानी, संवेदनशीलता र जिम्मेवारीका साथ गर्नुपर्ने भन्दै उहाँले आवश्यकतानुसार डीएनए नमुना तथा अन्य सम्बन्धित अभिलेख सुरक्षित राखेर पहिचान प्रक्रियालाई विश्वसनीय र व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । ‘मृतकहरूको पहिचान अत्यन्त सावधानी, संवेदनशीलता र जिम्मेवारीका साथ गरिनु पर्दछ’, उहाँले भन्नुभयो, ‘आवश्यकतानुसार डिएनए नमुना तथा अन्य सम्बन्धित अभिलेखहरू सुरक्षित रूपमा संरक्षण गरी पहिचान प्रक्रियालाई विश्वसनीय र व्यवस्थित बनाउनेतर्फ सरकारले विशेष ध्यान दिने नै छ भन्ने मलाई विश्वास छ ।’
राष्ट्रपतिद्वारा बाढी प्रभावित क्षेत्रको अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गर्नुभएको छ । साथै उहाँले यहाँ रहेका बाढी प्रभावित र पीडितसँग भेटघाट गरी उहाँहरूको गुनासोसमेत सुन्नुभएको छ ।
उहाँले नुवाकोटमा भोटेकोशीमा आएको बाढीको प्रभाव एवं त्यसबाट सृजित क्षतिको जिल्ला सुरक्षा समितिबाट जानकारी लिनुभयो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहितका समितिका सदस्यले रसुवा बाढीले जिल्लामा पुर्याएको धनजनको क्षतिबारे विवरण प्रस्तुत गर्नुभएको थियो । साथै, प्रमुख जिल्ला अधिकारी रेग्मीले बाढी पीडितको खोज, उद्धार, राहत, पुनःस्थापना तथा तत्काल निर्माणका सम्बन्धमा भइरहेका कामबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराउनुभयो । सो क्रममा राष्ट्रपति पौडेलले नुवाकोटस्थित बाढी प्रभावित रहेको होल्डिङ सेन्टरको समेत अवलोकन गर्नुभयो । त्यहाँ बाढीबाट प्रभावित नागरिकले भोटेकोशीमा आएको अकल्पनीय बाढीले पुर्याएको धनजनको क्षतिबारे जानकारी गराउनुभएको थियो । साथै, खोज, उद्धार र राहत एवम पुनःस्थापनाका लागि सरकार र सहयोगदाता सरोकारावालाले अझ तदारुकता देखाउनुपर्ने बताउनुभएको थियो । राष्ट्रपति पौडेलले सोमबार बाढी प्रभावित क्षेत्रमध्ये नुवाकोटको त्रिशूलीमा रहेको नेपाली सेनाको क्याम्प तथा रसुवा बाढी प्रभावित क्षेत्रको पनि अवलोकन गर्नुभएको छ ।







जेन-जी आन्दोलनपछि एक वर्ष :
भाद्रपद शुक्ल पञ्चमी : ऋषिपञ्चमी
सडकमा छट्पटाएको मातृत्व र हराएको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ताे छ
कति छ आज विदेशी मुद्राको
पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका