भक्तपुर । रसुवाको भोटेकोशी क्षेत्रमा आएको प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकको सम्झनामा भक्तपुरस्थित गोल्डेन सुनगाभा इङ्ग्लिस बोर्डिङ स्कुलमा शोकसभा आयोजना गरिएको छ ।
नेपाल सरकारको निर्णयअनुसार सोमबार साँझ आयोजित शोकसभामा विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी तथा अभिभावकको सहभागिता रहेको थियो । सहभागीहरूले मैनबत्ती, पाला तथा दियो प्रज्वलन गर्दै विपत्तिमा ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएकाे थियाे ।
कार्यक्रममा वक्ताहरूले अझै बेपत्ता नागरिकको खोजी कार्यलाई तीव्रता दिन, घाइतेहरूको प्रभावकारी उपचार गर्न तथा प्रभावित परिवारलाई तत्काल आवश्यक राहत उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभएकाे थियाे।
विद्यालयका सहायक प्रधानाध्यापक विनय खड्काले प्राकृतिक विपत्तिले धेरै परिवारमा अपूरणीय क्षति पुर्याएको बताउनुभयो। आफ्ना परिवारका सदस्य तथा आफन्त गुमाएका परिवारको पीडा अत्यन्तै कहालीलाग्दो रहेको उल्लेख गर्दै उहाँले दुःखको यस घडीमा विद्यालय परिवार शोकसन्तप्त परिवारसँग ऐक्यबद्ध रहेको बताउनुभयो ।
“आफ्ना परिवारका सदस्य र आफन्त गुमाउनुपरेको पीडा अत्यन्तै कहालीलाग्दो छ,” उहाँले भन्नुभयो, “यस्तो दुःखद् घडीमा हामी दिवंगत आत्माप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनको पीडामा साथ दिन चाहन्छौँ ।”
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीलानाथ निरौलाले विपत्तिको भयावहता अनुमान गर्नसमेत कठिन भएको बताउनुभयो । अझै बेपत्ता नागरिकहरूको खोजी कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाउन तथा उद्धार र उपचारमा कुनै कमी हुन नदिन सरकार गम्भीर हुनुपर्ने उहाँको भनाइ थियो ।

“यति ठूलो घटना हुन्छ भनेर कसैले पनि सोचेको थिएन,” उहाँले भन्नुभयो, “अझै हराइरहनुभएका नागरिकहरूको खोजी कार्यलाई प्राथमिकताका साथ अघि बढाउन र घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन सरकार गम्भीर हुनुपर्छ ।”
प्रधानाध्यापक महेशचन्द्र गौतमले विपत्तिपछि सिङ्गो देश शोकमा डुबेको बताउनुभयो । भविष्यमा यस्ता भयावह घटना दोहोरिन नदिन विपद् व्यवस्थापन, पूर्वतयारी तथा जोखिम न्यूनीकरणका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
“आज देश रोइरहेको छ। यस्तो दृश्य न हामीले विगतमा देखेका थियौँ, न वर्तमानमा देख्न चाहन्थ्यौँ र न अब फेरि देख्न चाहन्छौँ,” उहाँले भन्नुभयो ।
क्षणभरमै मानिसहरूले परिवार, आफन्त तथा प्रियजन गुमाउनुपरेको उल्लेख गर्दै गौतमले विपत्तिले निम्त्याएको मानवीय क्षतिले सिङ्गो देशलाई स्तब्ध बनाएको बताउनुभयो । उहाँले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारलाई असह्य पीडा सहन सक्ने शक्ति मिलोस् भन्ने कामना गर्नुभयो ।
शोकसभामा सहभागी वक्ताहरूले प्रभावित नागरिकलाई तत्काल आवश्यक राहत उपलब्ध गराउनुका साथै विस्थापित तथा पीडित परिवारको सुरक्षित पुनःस्थापनालाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका थिए । घरबार, परिवार तथा जीविकोपार्जनका आधार गुमाएका नागरिकलाई राहतमा मात्र सीमित नराखी आवास, शिक्षा, स्वास्थ्य तथा रोजगारीका अवसरसँग जोडेर दीर्घकालीन पुनःस्थापनाको योजना अघि बढाउनुपर्नेमा उनीहरूले जोड दिएका थिए ।
विपत्तिपछि प्रभावित नागरिकलाई सामान्य जीवनमा फर्काउन राज्यको जिम्मेवारी अझ बढेको उल्लेख गर्दै वक्ताहरूले राहत वितरणमा पारदर्शिता, पुनःस्थापनामा प्रभावकारिता तथा पीडित परिवारको वास्तविक आवश्यकतालाई केन्द्रमा राख्नुपर्ने बताएका थिए ।
यसै क्रममा प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले विद्यालयको तर्फबाट रु. १ लाख ३० हजार ५ सय ५५ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरिएको छ। विद्यालयले तत्कालीन राहतसँगै प्रभावित परिवारको दीर्घकालीन पुनःस्थापनाका लागि समेत आवश्यक सहयोगलाई निरन्तरता दिने जनाएको छ ।
शोकसभाको अन्त्यमा विद्यालय परिवार, शिक्षक, विद्यार्थी तथा अभिभावकका तर्फबाट दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो। प्रभावित नागरिकलाई सुरक्षित आवास, शिक्षा, स्वास्थ्य तथा जीविकोपार्जनका अवसर उपलब्ध गराउँदै सामान्य जीवनमा फर्काउन राज्य, समुदाय तथा सामाजिक क्षेत्रका सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए ।







आईसीयूभित्रै अन्तर्वार्ता प्रकरण संसदमा प्रवेशः
पुर्चौडीमा पहिरोले एक घर पूर्ण
पहिचान भइसकेका शव तत्काल परिवारलाई
सम्पत्ति शुद्धीकरण विभागका डिजीलाई पेस्तोल
आइतबारको बिदा कटौती गर्न राप्रपा
दाङमा आठ नाल भरुवा बन्दुक