काठमाडौं । शरीरलाई बलियो र स्वस्थ राख्न प्रोटिन महत्वपूर्ण पोषक तत्व हो । मांसपेशी निर्माणदेखि शरीरको वृद्धि र क्षतिग्रस्त तन्तुको मर्मतसम्म प्रोटिनको भूमिका हुन्छ। तर सबै उमेर र अवस्थाका मानिसलाई आवश्यक पर्ने प्रोटिनको मात्रा भने एउटै हुँदैन ।
स्वस्थ वयस्कका लागि सामान्यतया शरीरको प्रति किलोग्राम तौलमा दैनिक करिब ०.८ ग्राम प्रोटिन आवश्यक पर्ने बताइन्छ । उदाहरणका लागि ६० किलो तौल भएको व्यक्तिलाई दैनिक करिब ४८ ग्राम प्रोटिन आवश्यक पर्न सक्छ ।
बच्चा तथा किशोरकिशोरीको शरीर विकासको क्रममा रहेकाले उनीहरूलाई प्रोटिनको आवश्यकता बढी हुन्छ । त्यस्तै, गर्भवती महिला, स्तनपान गराइरहेका आमा तथा ६० वर्षभन्दा माथिका व्यक्तिलाई पनि सामान्य वयस्कको तुलनामा फरक वा बढी प्रोटिन आवश्यक पर्न सक्छ ।
नियमित व्यायाम गर्ने, खेलकुदमा सक्रिय रहने वा मांसपेशी निर्माण गर्न चाहने व्यक्तिलाई पनि बढी प्रोटिन आवश्यक हुन सक्छ । यस्ता अवस्थामा व्यक्तिगत आवश्यकता हेरेर चिकित्सक वा पोषणविद्ले प्रोटिनको मात्रा निर्धारण गर्न सक्छन् ।
तर शरीरलाई बलियो बनाउने नाममा जथाभावी धेरै प्रोटिन सेवन गर्नु उचित नहुने विज्ञहरूको सुझाव छ। विशेषगरी मिर्गौलाको समस्या भएका व्यक्तिले चिकित्सकीय सल्लाहबिना प्रोटिनको मात्रा बढाउनु हुँदैन । प्रोटिन पाउडर वा अन्य सप्लिमेन्ट प्रयोग गर्नुअघि पनि आफ्नो स्वास्थ्य अवस्था र आवश्यकताबारे विशेषज्ञसँग परामर्श गर्नु उचित हुन्छ ।
उमेर बढ्दै जाँदा शरीरमा मांसपेशीको मात्रा घट्न सक्ने भएकाले ५०–६० वर्षपछि केही व्यक्तिलाई मांसपेशीको बल कायम राख्न थप प्रोटिन आवश्यक पर्न सक्छ। तर सबै व्यक्तिका लागि एउटै मात्रा उपयुक्त हुँदैन ।
प्रोटिन एकैपटक धेरै खानुभन्दा दिनभरका खानामा विभाजन गरेर लिनु बढी उपयोगी हुन सक्छ । बिहानको खाना, दिउँसो र बेलुकाको खानामा उचित मात्रामा प्रोटिन समावेश गर्दा शरीरले त्यसलाई प्रभावकारी रूपमा उपयोग गर्न सक्ने बताइन्छ ।
दाल, दूध तथा दुग्धजन्य पदार्थ, अण्डा, माछा, मासु, सोयाबिन, चना, केराउ, बदामलगायतका खाद्य पदार्थ प्रोटिनका विभिन्न स्रोत हुन् । आफ्नो उमेर, तौल, शारीरिक गतिविधि र स्वास्थ्य अवस्थाअनुसार यी खाद्य पदार्थलाई सन्तुलित रूपमा आहारमा समावेश गर्न सकिन्छ ।
मिर्गौला वा कलेजोसम्बन्धी समस्या भएका, गर्भवती तथा स्तनपान गराइरहेका महिला वा गम्भीर रोगबाट निको भइरहेका व्यक्तिले भने आफ्नो प्रोटिनको आवश्यकता आफैं निर्धारण गर्नु हुँदैन । यस्तो अवस्थामा चिकित्सक वा पोषण विशेषज्ञको सल्लाह लिन आवश्यक हुन्छ ।
त्यसैले प्रोटिन स्वस्थ जीवनका लागि आवश्यक भए पनि ‘जति धेरै खायो, त्यति राम्रो’ भन्ने सोच सही होइन । आफ्नो शरीरको आवश्यकता बुझेर उचित मात्रामा र सन्तुलित आहारका रूपमा प्रोटिन सेवन गर्नु नै स्वास्थ्यका लागि बढी उपयोगी हुन्छ ।







अपहरणमा परेको १२ दिनपछि १५
विपद् व्यवस्थापनको लागि संसदीय उच्चस्तरीय
मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय
जलवायु परिवर्तनको असर न्यूनीकरण तथा
एनपीएलमा अहिलेसम्मकै ठूलो ‘स्टार’ इन्ट्री,
विपद् व्यवस्थापनमा संसदीय उच्चस्तरीय समिति