कालीकोट । अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध भएको कर्णाली राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय जुम्लाले उच्च प्राथमिकताका साथ काम अघि बढाएको छ ।
राजमार्गको जुम्ला–मान्म खण्ड सञ्चालनमा आइसके पनि कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा ठूलो पहिरोका कारण सुर्खेत–जुम्ला सडक अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।
सडक डिभिजन कार्यालय जुम्लाका अनुसार जुम्ला–मान्म खण्डमा सेरावाडा, सिम्ले र सिम्ले मोडलगायतका स्थानमा गएको पहिरो पन्छाएर सोमबार रातिदेखि सडक सञ्चालनमा ल्याइएको छ । पिली क्षेत्रमा समेत सडकमा क्षति पुगेकाले अस्थायी रूपमा बाटो खुलाइएको कार्यालयले जनाएको छ ।
तर गगने खोलामा लेदोसहितको ठूलो पहिरो खसेका कारण सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्गको मुख्य अवरोध कायमै छ । गगने खोलामा पहिरो पन्छाउन सडक डिभिजन कार्यालयले मेसिन तथा प्राविधिक टोली परिचालन गरी काम गरिरहेको छ ।
सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार गगने खोलामा पहिरो ठूलो हुनुका साथै निरन्तर लेदो, ढुंगा तथा चट्टान खसिरहेकाले सडक खुलाउन चुनौती भइरहेको छ । कार्यालयको सम्पूर्ण जनशक्ति तथा यान्त्रिक उपकरण परिचालन गरी सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको उहाँले बताउनुभएको छ ।
मौसम अनुकूल भए आजै खुल्ने अपेक्षा
सडक डिभिजन कार्यालयले मौसम अनुकूल रहेमा मंगलबार दिउँसोसम्म गगने खोलाको पहिरो पन्छाएर सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउने अपेक्षा गरेको छ । यसअघि कार्यालयले दिउँसो १ देखि २ बजेसम्म सडक सञ्चालनमा ल्याउने लक्ष्य रहेको जनाएको थियो ।
यद्यपि, सडक पूर्ण रूपमा खुलेको आधिकारिक पुष्टि भने अहिलेसम्म भएको छैन । त्यसैले सडक डिभिजन कार्यालयबाट औपचारिक सूचना नआएसम्म राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको मान्न सकिने अवस्था छैन ।
गगने खोलामा पटकपटक पहिरो
कर्णाली राजमार्गअन्तर्गत गगने खोला वर्षायाममा पटक–पटक पहिरो जाने जोखिमयुक्त क्षेत्रका रूपमा देखिँदै आएको छ। पछिल्लो पटक पनि शनिबार साँझ ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। केही समय पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि पुनः पहिरो खसेपछि यातायात रोकिएको थियो।
निरन्तर वर्षाका कारण पहिरो पन्छाउने काम प्रभावित भइरहेको छ। पहिरो हटाएपछि पनि माथिबाट पुनः ढुंगा, माटो र लेदो खस्ने जोखिम रहेकाले सडक सञ्चालनमा चुनौती देखिएको सडक कार्यालयले जनाएको छ ।
राजमार्ग अवरुद्ध हुँदा स्याउ ढुवानी प्रभावित
कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लाबाट सुर्खेत तथा अन्य बजारतर्फ पठाइएका स्याउ बोकेका सवारीसाधनसमेत बाटोमै रोकिएका छन् । जुम्लाबाट स्याउ बोकेर आएका ४० देखि ४२ वटा गाडी विभिन्न स्थानमा रोकिएका छन् । ती गाडीमा रहेको स्याउको मूल्य करिब २ करोड ५० लाख रुपैयाँ बराबर रहेको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । सडक लामो समय अवरुद्ध हुँदा स्याउ कुहिने जोखिमसँगै किसान, व्यापारी तथा ढुवानी व्यवसायीसमेत प्रभावित भएका छन् ।
यात्रुलाई सावधानी अपनाउन आग्रह
कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो तथा सडक क्षतिको अवस्था रहेकाले प्रहरीले यात्रु तथा सवारी चालकलाई सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।
कर्णाली प्रदेशमा कर्णाली राजमार्गसहित अन्य मुख्य सडकहरू पनि पहिरोका कारण प्रभावित रहेको प्रहरीले जनाएको छ । सडक डिभिजन कार्यालयले पनि सडक पूर्ण रूपमा सुरक्षित र सञ्चालनयोग्य भएको आधिकारिक सूचना जारी नगरेसम्म अवरुद्ध खण्डमा यात्रा नगर्न तथा वर्षायाममा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।






टिपरको ठक्करबाट एक जनाको मृत्यु
भोटेकोशी बाढीपछि नेपालको प्रश्न :
तीन दिनमै ८७ हजारभन्दा बढी
मुक्त हलियाको समस्या स्थायी समाधान
साउदी अरेबियालाई ५ विकेटले हराउँदै
बालेनलाई गगनको सुझाव : ‘महासभामा