काठमाडौँ । रसुवालाई केन्द्रबिन्दु बनाएर आएको भोटेकोशी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १ हजार ३ सय ५७ पुगेको छ। बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार ३ सय ५७ जनाको शव फेला परेको हो।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार अपराह्न १ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढीबाट भएको मानवीय क्षतिको पछिल्लो तथ्याङ्क सार्वजनिक गरेको हो।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै मृतकको शव चितवनमा फेला परेको छ। चितवनमा ३ सय ६३ जनाको शव फेला परेको छ। त्यस्तै, नवलपरासी पूर्वमा २ सय २३, नवलपरासी पश्चिममा २ सय २२, नुवाकोटमा १ सय ९७, रसुवामा १ सय ६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ।
हालसम्म १ सय २ जना मृतकको मात्र सनाखत भएको र आफन्तले शव बुझिसकेको प्राधिकरणले जनाएको छ। सनाखत हुन बाँकी मृतकको पहिचानका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा फोटो र नाता प्रमाणित हुने कागजातसहित डीएनए परीक्षणका लागि नमुना दिन प्राधिकरणले आग्रह गरेको छ।
५३२६ अझै सम्पर्कविहीन
बाढीमा परी ५ हजार ३ सय २६ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। तीमध्ये रसुवा जिल्लाका मात्रै २ हजार ८ सय ६० जना रहेका छन्।
सम्पर्कविहीन हुनेमा ५ सय ८७ जना विदेशी पर्यटक, ४५ जना नेपाली सेना, २५ जना नेपाल प्रहरी, १२ जना सशस्त्र प्रहरी बलका कर्मचारी तथा ७३ जना सरकारी कर्मचारीसमेत रहेका छन्।
प्राधिकरणका अनुसार सम्पर्कविहीनको सूचीमा उद्धार भइसकेका व्यक्ति वा पहिचान हुन बाँकी मृतकसमेत समावेश हुन सक्ने भएकाले विवरण रुजु गर्ने काम भइरहेको छ।
१३ हजारभन्दा बढीको उद्धार
हालसम्म १३ हजार ५ सय ८३ जनाको सफल उद्धार गरिएको छ। बाढीमा परी घाइते भएका ६ हजार ८ सय २७ जनामध्ये ३ सय २७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने २ हजार ४ सय २० जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।
नेपाली सेना र सशस्त्र प्रहरी बलले आफ्ना संयन्त्रमार्फत ६ हजारभन्दा बढी घाइतेको उपचार गरेको प्राधिकरणले जनाएको छ।
विस्थापित नागरिकका लागि रसुवा, नुवाकोट र धादिङमा ३९ वटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ। ती केन्द्रमा ३ हजार ५ सय ३३ जना आश्रित रहेको प्राधिकरणले जनाएको छ।
२१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
उद्धार तथा राहत कार्यका लागि २१ हजार ४ सय २ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। तीमध्ये नेपाली सेनाका ९ हजार २ सय ८७, नेपाल प्रहरीका ७ हजार ९ सय १२ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना रहेका छन्।
उद्धारका लागि नेपाली सेना, निजी क्षेत्र तथा सशस्त्र प्रहरी बलका हेलिकप्टरले १ हजार ४ सयभन्दा बढी पटक उडान भरेका छन्।
राहत वितरणमा पनि तीव्रता
सरकारले प्रभावित क्षेत्रमा राहत वितरणलाई समेत तीव्रता दिएको छ। रसुवा र नुवाकोटलाई १–१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ।
त्यसैगरी, प्रभावित १५ स्थानीय तहका लागि १३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। खाद्यान्न तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पुर्याउन हेलिकप्टर र ट्रकको प्रयोग भइरहेको छ।
विद्युत् आपूर्ति क्रमशः सामान्य बन्दै
पूर्वाधारतर्फ धादिङमा ९९ दशमलव ८ प्रतिशत, नुवाकोटमा ९६ दशमलव ७ प्रतिशत र रसुवामा ७८ प्रतिशत घरधुरीमा विद्युत् आपूर्ति सुचारु भएको प्राधिकरणले जनाएको छ।
प्रभावित क्षेत्रमा इन्धनको मौज्दात सुनिश्चित गरिएको छ भने ४ सय ५७ वटा ग्यास सिलिन्डर अनुदानमा पठाइएको प्राधिकरणले जनाएको छ।






वर्षासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम
भोटेकोशी बाढी : शिक्षण अस्पतालमा
पाल्पाको लोपउन्मुख लाखे संस्कृति जोगाउँदै
कृष्णभीरमा खोलिएको ट्र्याक फराकिलो बनाइँदै,
टिपरको ठक्करबाट एक जनाको मृत्यु
भोटेकोशी बाढीपछि नेपालको प्रश्न :