काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका क्रममा नवयुवाले सडकबाट उठाएका प्रश्नको जवाफ दिने ठाउँमा अहिले समयले आफूहरूलाई उभ्याएको बताउनुभएको छ।
जेनजी आन्दोलन भएको एक वर्ष पूरा भएको अवसरमा मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सभापति लामिछानेले उक्त आन्दोलन कुनै राजनीतिक दल विशेषको आह्वानमा नभई स्वतःस्फूर्त रूपमा भएको जागरण रहेको बताउनुभएको हो।
उहाँले भन्नुभएको छ, “हिजो सडकबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज हामीलाई उभ्याएको छ। र यो पनि सम्झाएको छ, हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ।”
जेनजी आन्दोलनलाई कुनै पनि राजनीतिक दल वा नेताले आफ्नो सङ्कुचित राजनीतिक लाभको औजार बनाउन नहुने उहाँको भनाइ छ।
लामिछानेले ठीक एक वर्षअघि नेपाली इतिहासमा नयाँ जागरणको विस्फोट भएको स्मरण गर्दै वर्षौँदेखि जरा गाडेर बसेको भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत अक्षमता, नागरिकका मौलिक अधिकारमाथिको नियन्त्रण र अवसरविहीनताविरुद्ध सचेत युवा पुस्ता शान्तिपूर्ण तर दृढ सङ्कल्पका साथ सडकमा उत्रिएको उल्लेख गर्नुभएको छ।
“एक थोपा पनि रगत नबगाइ पार्टी स्थापना गरेका हामीलाई परिवर्तनको आवाज बोल्दा युवा पुस्ताको रगत बगेको देख्नु सबैभन्दा पीडादायी क्षण हो,” उहाँले भन्नुभएको छ, “भदौ २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्।”
परिवर्तनका लागि अब कुनै पनि आमाको काख नरित्तियोस् भन्ने कामना गर्दै सभापति लामिछानेले नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचारमुक्त समाजको माग गर्दै ज्यान गुमाएका सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।
उहाँले आन्दोलनका क्रममा अङ्गभङ्ग तथा घाइते भएका र मानसिक एवं शारीरिक चोट भोगेका सबैप्रति सम्मान व्यक्त गर्दै राज्यले सम्बन्धित परिवारको उचित हेरचाह, घाइतेहरूको पूर्ण उपचार र दीर्घकालीन पुनःस्थापनाको दायित्व पूरा गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
सभापति लामिछानेले युवा, नागरिक समाज र आम नागरिकलाई सरकार तथा राजनीतिक नेतृत्वको कार्यसम्पादनमा निरन्तर रचनात्मक खबरदारी गर्न र निर्मम समीक्षा जारी राख्न आग्रह गर्नुभएको छ।
नागरिकमा निराशाको भाष्य स्थापित हुन नदिई नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्नुपर्ने उहाँको भनाइ छ। उहाँले विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट आफूहरू विचलित नहुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।






टिपरको ठक्करबाट एक जनाको मृत्यु
भोटेकोशी बाढीपछि नेपालको प्रश्न :
तीन दिनमै ८७ हजारभन्दा बढी
मुक्त हलियाको समस्या स्थायी समाधान
साउदी अरेबियालाई ५ विकेटले हराउँदै
बालेनलाई गगनको सुझाव : ‘महासभामा