काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले जेन–जी आन्दोलनका शहीदहरूको बलिदान खेर जान नदिने बताउनुभएको छ।
जेन–जी शहीद दिवसका अवसरमा जेन–जी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सुशासनका लागि आवाज उठाउँदा ज्यान गुमाएका शहीदहरूको बलिदान खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो।
सांसद सुनारले वर्तमान सरकार भ्रष्टाचारविरुद्ध कठोर रूपमा प्रस्तुत हुने दाबी गर्नुभयो। पूर्व वा बहालवाला जुनसुकै पदाधिकारी भए पनि भ्रष्टाचार गरेको प्रमाणित भए कारबाही गरिने उहाँको भनाइ छ।
‘चाहे पूर्व हुन्, चाहे बहालवाला हुन्, चाहे हिजोका हुन्, चाहे आजका हुन्, जसले १ रुपैयाँ पनि भ्रष्टाचार गरेको छ, प्रत्येकको कठालो समातेर कारबाही हुनेछ । सबै ठाउँमा हुनेछ, हिसाब हुनेछ, एक–एक गनेर हिसाब हुनेछ, खनखनी गनेर हिसाब हुनेछ,’ उहाँले भन्नुभयो।
उहाँले जेन–जी आन्दोलनका शहीद परिवार, घाइते तथा आन्दोलनका माग सम्बोधन गर्न सरकारसँग आग्रहसमेत गर्नुभयो।
सुनारले जेन–जी आन्दोलनका शहीदहरूको बलिदानका कारण देशमा नयाँ सुशासनको आधार तयार भएको दाबी गर्नुभयो।
शहीद परिवारलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘आमा, तिमीलाई लागेको होला मेरो गर्भबाट जन्मेको छोरो मर्यो, म एक्लो परेँ । होइन आमा, तिम्रो छोरो मरेको होइन । तिम्रो छोरो यो समाजमा, यो देशमा एउटा बीउ बनेर रोपिएको छ । तिम्रो छोरो मर्यो, नयाँ सुशासनको वृक्ष उम्रिएको छ ।’
शहीदकी आमाको गर्भलाई सम्मान गर्दै उहाँले शहीदहरूले देशका लागि न्याय र उज्यालो भविष्यको आधार तयार गरेको बताउनुभयो।
‘तिम्रो छोरो ढल्यो, यो देश उठ्यो । तिम्रो छोरोले गोली खायो र यो देशले सिटामोलको गोली खान पाएको हो,’ उहाँले भन्नुभयो।
रास्वपाको नेतृत्वमा सरकार बनेकाले शहीद परिवार तथा घाइतेहरू निराश हुनुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो।
‘गर्छ यो सरकारले माग सम्बोधन, यो देशको जिम्मा लिन्छ, घाइतेको जिम्मा लिन्छ, शहीदको जिम्मा लिन्छ, प्रत्येक आमाहरूको जिम्मा लिन हामी तयार भएर आएका छौँ,’ उहाँले भन्नुभयो।
सरकारको नेतृत्व र नयाँ राजनीतिक शक्तिमाथि प्रश्न उठिरहेको उल्लेख गर्दै सुनारले आफूहरू अनुभवका हिसाबले नयाँ भए पनि भ्रष्ट नभएको दाबी गर्नुभयो।
‘हामी आला हौँला, काचा हौँला, तर कुहिएका छैनौँ आमा ! ढुक्क हुनु, सुखले बाँच्ने दिन आउँदैछ । यो सरकार स्पष्टको सरकार हो, भ्रष्टको सरकार होइन,’ उहाँले भन्नुभयो।
उहाँले जेन–जी आन्दोलनमा सहभागी युवा तथा शहीद परिवारलाई निराश नहुन आग्रह गर्दै सुशासन कायम गर्न र भ्रष्टाचारविरुद्ध कठोर रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।







कपालमा चाया परेर हैरान हुनुहुन्छ
आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा
भोटेकोशी बाढी : चिन्तित छन्
प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै
उत्तरगयाका १६५ बाढीपीडित परिवारलाई पोखराबाट
आज ऋषिपञ्चमी : ऋषेश्वर मन्दिरमा