काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेन–जी आन्दोलनका शहीद तथा घाइतेका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
जेन–जी शहीद दिवसका अवसरमा जेन–जी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उहाँले वर्तमान सरकारप्रति भरोसा राख्न आग्रह गर्नुभएको हो।
मन्त्री गौतमले जेन–जी आन्दोलनका माग सम्बोधनका विषयमा सरकारमा दैनिकजसो छलफल भइरहेको बताउनुभयो। लोकतन्त्रमा समेत गत भदौ २३ गते नागरिकमाथि गोली चलेको उल्लेख गर्दै उहाँले अब त्यस्तो नियति कसैले भोग्न नपरोस् भन्नेमा सबै सचेत हुनुपर्ने बताउनुभयो।
उहाँले शहीद परिवार, घाइते तथा आन्दोलनसँग जोडिएका सबैलाई एक ठाउँमा उभिएर एकअर्कालाई सहयोग, साहस र हौसला दिन आग्रह गर्नुभयो। जेन–जीभित्रै विभाजन र दोषारोपण बढेमा आन्दोलनका विरोधीहरूले त्यसको फाइदा उठाउन सक्ने उहाँको भनाइ थियो।
आन्दोलनपछि भएको निर्वाचनमार्फत नेपाली जनताले आफ्नो नेतृत्व रोजेकाले वर्तमान सरकार जनताको आवाज सुन्न तयार रहेको उहाँले बताउनुभयो। सरकार गठन भएको करिब पाँच महिना मात्र भएको उल्लेख गर्दै उहाँले यस अवधिमा सरकार सञ्चालन सहज नभएको बताउनुभयो।
सरकारसँग प्रतिनिधिसभामा पर्याप्त संख्या भए पनि कानून निर्माणलगायतका प्रक्रियामा संवैधानिक संरचनाका कारण चुनौती रहेको उहाँको भनाइ थियो।
माग सम्बोधनमा ढिलाइ हुँदा जेन–जी समुदायको धैर्य टुट्न सक्ने अवस्था आउनसक्ने स्वीकार गर्दै उहाँले संयम कायम राख्न आग्रह गर्नुभयो। सरकारले जेन–जी आन्दोलनका शहीद तथा घाइतेले देखेका सपना पूरा गर्न सफा नियतका साथ काम गरिरहेको उहाँले बताउनुभयो।
कार्यक्रममा उहाँले भन्नुभयो, “यो स्मृति दिवसमा हामी सबैले सङ्कल्प गर्नुपर्छ कि २३ गतेको जस्तो नियति यो देशमा अब कहिले पनि हामी कसैले पनि भोग्न नपरोस्, कोही आमाले पनि भोग्न नपरोस्, कोही परिवारले पनि भोग्न नपरोस्।”
उहाँले जेन–जीका माग सम्बोधनका लागि सरकारमा रहेका मन्त्री तथा संसद्मा रहेका सांसदहरूबीच हरेक दिनजसो छलफल र सरसल्लाह भइरहेको बताउनुभयो। सरकारको संरचनाभित्र काम गर्ने तौरतरिका बुझ्न केही समय लागेकाले माग सम्बोधनमा ढिलाइ भएको उहाँको भनाइ थियो।
“यहाँहरूको धैर्यताको बाँध पक्कै पनि अलिकति फुट्ने अवस्थामा हो कि भन्ने कुरा अनुमान लगाउन सकिन्छ। तर यति भन्छु, जुन पीडा तपाईंहरूलाई भएको छ, त्यो त्यत्तिकै पीडा हामीहरूलाई पनि छ,” उहाँले भन्नुभयो।
मन्त्री गौतमले जेन–जी समुदायलाई एकताबद्ध भएर धैर्य र साहसका साथ अघि बढ्न आग्रह गर्नुभयो। एकआपसमा दोषारोपण र विवाद बढे आन्दोलनको विरोधमा रहेकाहरूले त्यसको फाइदा उठाउन सक्ने उहाँले चेतावनी दिनुभयो।
“सही मान्छेहरू एक ठाउँमा उभिरहनुप¥यो, एकआपसलाई धैर्यता र साहस दिइरहनुप¥यो, हिम्मत दिइरहनुप¥यो। त्यसो भयो भने यो देश पक्कै पनि बन्छ,” उहाँले भन्नुभयो।
सरकार सफा नियतका साथ अघि बढिरहेको दाबी गर्दै उहाँले जेन–जी आन्दोलनका शहीद र घाइतेले देखेका सपना पूरा गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो।
“तपाईंहरूले भनेका हरेक सपनाहरू, हाम्रा शहीदले देखेका हरेक सपनाहरू, घाइते साथीहरूले देख्नुभएका हरेक सपनाहरू पूरा गर्नको लागि यो सरकार पूर्ण रूपमा प्रतिबद्ध छ,” उहाँले भन्नुभयो।
उहाँले सरकारमाथि विश्वास राख्न आग्रह गर्दै भन्नुभयो, “यो सरकारमाथि विश्वास राख्नुस्, यो सरकारले गर्छ।”
मन्त्री गौतमले देशमा भइरहेको भ्रष्टाचार र सुशासनविरुद्ध आवाज उठाउँदा जेन–जी आन्दोलनकारीले गोली खानुपरेको बताउनुभयो। भदौ २३ गते आन्दोलनकारीमाथि राज्यले गरेको दमनका कारण भदौ २४ गतेको घटना निम्तिएको उहाँको भनाइ थियो।
उहाँले भदौ २३ र २४ गतेका घटनालाई एउटै रूपमा हेर्न नहुने धारणा पनि राख्नुभयो।







खर्क व्यवस्थापनमा नेपालले भुटानबाट सिक्नुपर्छ
सुनचाँदीको मूल्य घट्यो, आज प्रतिताेला
सर्लाहीमा भर्याङबाट लडेर महिलाको मृत्यु
भोटेकोशी बाढीपछि एक हजार ३९९
भक्तपुरमा पनि रात्रिकालीन सार्वजनिक यातायात
रसुवा बाढीपछि मकवानपुरका ६२ जना