काठमाडौं । रामबाबु-ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले यस वर्षको रामबाबु-ज्ञानु सामाजिक सेवा पुरस्कार धनकुटा नगरपालिका-९, मूलघाटस्थित विश्रान्ति मन्दिरलाई प्रदान गर्ने भएको छ । ४३ वर्षदेखि आश्रित ज्येष्ठ नागरिकहरूलाई आश्रय, गाँसवास, औषधोपचार, धार्मिक गतिविधि र दाहसंस्कारसम्मको मानवीय सहायता उपलब्ध गराउँदै आएको योगदानको कदर गर्दै दुई लाख रुपैयाँ नगद राशिसहितको पुरस्कार दिन लागिएको हो ।
कोषको साधारणसभाले जनही एक लाख रुपैयाँ नगद राशिको रामबाबु-ज्ञानु समाजसेवी पुरस्कार भने तीन सामाजिक संस्था र तिनका प्रमुखहरूलाई प्रदान गर्ने निर्णय गरेको कोषका अध्यक्ष ध्रुव नेपालले जानकारी दिनुभयो । मोरङको विराटनगरमा रहेको पूर्वाञ्चल बालसेवा आश्रम, काठमाडौंको चन्द्रागिरिमा रहेको ॐ अपांग बालबालिका स्याहार केन्द्र र कैलाली बर्दगोरियामा रहेको असहायका लागि सहयोगी हातहरू नेपाल–सहारा घरले जनही एक लाख रुपैयाँको पुरस्कार पाउने भएका हुन् ।
स्वयंसेवाको भावनाले समाजमा योगदान पुर्याउनेहरूलाई प्रोत्साहन गर्न रामबाबु-ज्ञानु नेपाल दम्पतीले आफ्ना मातापिता शोभाकान्त नेपाल र सुशीला नेपालको पुण्य स्मरणमा २०७० सालमा अक्षय कोष खडा गरी यस संस्थाको स्थापना गर्नुभएको थियो ।
२०७१ सालमा दुई लाख रुपैयाँबाट सुरु भएको पुरस्कार राशि हाल वार्षिक कुल पाँच लाख रुपैयाँ पुर्याइएको छ । कोषका अनुसार निष्पक्ष, स्वतन्त्र र उद्देश्यमूलक ढंगबाट योगदानको मूल्यांगन गर्न पाँच सदस्यीय छनोट समिति गठन गरिएको थियो । सोही समितिको सिफारिशलाई साधारणसभाले अनुमोदन गर्दै यस वर्षका पुरस्कृत र सम्मानित व्यक्तित्व तथा संस्थाहरूको नाम टुंगो लगाएको कोषका नेपालले जानकारी दिनुभयो ।







हुप्सेकोटको घाँगी भीरमा निरन्तर धुँवाको
त्रिभुवनराजपथ भासिएपछि एकतर्फी यातायात सञ्चालन
नयाँ कोष थप्ने होइन, एकीकृत
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई