काठमाडौँ । जेन–जी आन्दोलन भएको एक वर्ष पूरा भएको अवसरमा मंगलबार काठमाडौंको नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन परिसरमा दीप प्रज्वलन गरिएको छ।
आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झना तथा घाइतेहरूको सम्मानमा आयोजित कार्यक्रममा ठूलो संख्यामा सर्वसाधारणको सहभागिता रहेको थियो।
कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ, जेन–जी आन्दोलनका घाइते, शहीद परिवारका सदस्य, युवा तथा सर्वसाधारण सहभागी भएका थिए। सहभागीहरूले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको तस्बिरमा पुष्पगुच्छा अर्पण गर्दै दीप प्रज्वलन गरेका थिए। केहीबेर मौनधारण गर्दै शहीदहरूप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरिएको थियो।
सरकारले भदौ २३ गतेलाई ‘जेन–जी शहीद दिवस’का रूपमा मनाउने निर्णय गरेअनुसार देशभर मंगलबार विभिन्न स्मृति तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो। यस अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ।
गत वर्ष भदौ २३ गते सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचार, बेथिति तथा सुशासनको अभावलगायतका विषय उठाउँदै जेन–जी पुस्ताका युवाहरूले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरतर्फ प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा सुरक्षा निकाय र आन्दोलनकारीबीच झडप हुँदा ठूलो मानवीय क्षति भएको थियो।
भदौ २४ गते आन्दोलन थप उग्र बनेपछि देशका विभिन्न स्थानमा हिंसात्मक घटना, आगजनी तथा तोडफोडका घटना भएका थिए। त्यसपछिका घटनाले तत्कालीन राजनीतिक परिस्थितिमा समेत ठूलो परिवर्तन ल्याएको थियो।
एक वर्षपछि पनि आन्दोलनका क्रममा उठाइएका सुशासन, जवाफदेहिता, पारदर्शिता, संस्थागत सुधार तथा डिजिटल अधिकारका मुद्दाको कार्यान्वयनबारे बहस जारी छ।
दीप प्रज्वलन कार्यक्रममा सहभागी शहीद परिवार तथा घाइतेहरूले आन्दोलनमा ज्यान गुमाएका तथा घाइते भएकाहरूको योगदानको सम्मान गर्दै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र आन्दोलनका क्रममा उठाइएका माग सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।















बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज
रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या