स जातो येनजातेन यातिवंश समुन्नतिम्
विश्वेश्वरप्रसाद कोइराला (वि.सं.१९७१ भाद्र २४-२०३९ श्रावण ६) । त्यसलाई जन्मेको मानिन्छ जसका जन्मले मानव जातिकै समुन्नति होओस् त्यसो हुन नसके पनि ऊ जन्मेका वंशको उन्नति होस् । यो आजभन्दा दुई हजार तीन सय वर्षअघिका चाणक्य नाम भएका राजनीति र अर्थशास्त्रका उद्भट विद्वान्को भनाइ हो । चाणक्यपछि बालगंगाधर तिलक, मदनमोहन मालवीय, गान्धी, नेहरू, जयप्रकाश नारायण सिंगो भारतलाई उज्वल बनाउने दीप्तिमान् प्रतिभा जन्मेका देखिन्छन् । भारतका तुलनामा नेपाल अति सानो देश मानिएला भौगोलिक क्षेत्रफलका आधारमा तर वैदिककालदेखि नै समग्र भारतीय उपमहाद्वीपको शीर्षस्थानमा नेपाल रहेको देखिन्छ ।
पृथ्वीनारायण शाह, नारायणदास अर्याल, भक्ति थापा, अमरसिंह थापा, भीमसेन थापा, पछि नेपाललाई विश्वबिरादरीका हारमा लगेर राख्न समग्र नेपालीलाई एकताका सूत्रमा बाँधेर २००७ सालको क्रान्तिको नेतृत्व गर्दै क्रान्तिनायक बनेका व्यक्ति हुन बीपी कोइराला । उनले नेपाल र नेपालीलाई विश्वका स्वायत्त स्वतन्त्र राष्ट्रको हैसित दिलाएर आधुनिक राष्ट्रनिर्माणको जग बसाल्ने जनताका नायकका रूपमा आफूलाई उभ्याएका हुनाले नै आज पनि हामी उनलाई जननायक बीपी भन्छौं । उनका पिता कृष्णप्रसाद कोइराला वनारसमा बसेका बेला उनको जन्म वनारसमा नै भएको थियो । न्वारानको नाम चूडामणि कोइराला भए पनि उनका हजुरबाले विश्वनाथको प्रसादस्वरूप मानेर उनलाई विश्वेश्वर भने र पछि साहित्यमा विश्वेश्वरप्रसाद कोइराला र राजनीतिमा बीपी कोइरालाका नामबाट उनको परिचय स्थापित भयो ।
व्यक्तिका नाममा र जातिका नाममा रहेको नेपाली वनलाई राष्ट्रियकरण गर्नु, जमिनको हदबन्दी तोक्नु, देशको वार्षिक आयव्यय संसदमा प्रस्तुत गर्ने प्रथा बसाल्नु, गाउँगाउँमा रहेका राजाका श्रीपेच भत्ता खारेज गर्नु, मुक्तिसेनालाई राष्ट्रिय सेनामा मिलाउनु, वाक् प्रेस लेखन स्वतन्त्रता कायम गर्नु जस्ता अनेकौं सुधारका काम गरेका थिए । बनेपा-सिन्धुली बाटो, भैंसे-हेटौंडा बाटोको कल्पनाकार पनि उनी थिए ।
शालीन स्वभाव र दूरदृष्टियुक्त व्यक्तित्व
सानैदेखि बीपी हुने बिरुवाको चिल्लो पात थिए । उनी नवौं कक्षमा पढ्दापढ्दै भारतमा गान्धीको अंग्रेजविरुद्धको ‘भारत छोडो’ आन्दोलनले जोर पकडन थालेको थियो । उनी पढ्दै गरेका विद्यालयमा गान्धी र नेहरू आएर आन्दोलनको कुरो गरेपछि बीपीले हड्ताल गर्न आह्वान गरेका थिए । भारतीय स्वतन्त्रताका संग्राममा भाग लिएर उनी हजारीवाग जेलमा पनि जेल सरुवा गरेर पुर्याइएका थिए । भारतका प्रथम राष्ट्रपति डा.राजेन्द्रप्रसादसँगै उनी त्यहाँ पुर्याइएका थिए । त्यहाँ बसेकै बेला उनले भारत स्वतन्त्र भएपछि नेपाललाई पनि स्वतन्त्र गराएर नेपालमा विश्वविद्यालय खोल्ने कल्पना गरेका थिए । उच्च शिक्षा पूरा गरेर जेलमा आएका तारापद चौधरीलगायत पाँचजनासँग उनले नेपाली विश्वविद्यालय खोलेपछि पाढाउन आउनुपर्ने कुरो गरेका थिए ।
२०१६ सालमा त्रिभुवन विश्वविद्यालय खोल्दा त्यस बेलाका भारतीय युवकलाई उनले नेहरूलाई भनेर त्रिविमा ल्याएर पाटनमा आवास बनाएर राखेका थिए । अरू चारजाना पछि आफ्नै देशमा गए पनि तारापद चौधरी आजीवन यहीँ बसेर त्रिविमा सेवा गरेबापत उनलाई उपकुलपति नवीनप्रकाशजंग शाहले वरिष्ठ प्रध्यापक र तत्सम्बन्धी समग्र सेवासुविधा प्रदान गराएका थिए । चौधरीले पूरै तलब पनि कहिल्यै लिएनन् । महिनावारी चलाएर बाँकी रहेको विश्वविद्यालयलाई नै फिर्ता गर्थे । पुगनपुग १८ महिना बीपी यो देशको प्रधानमन्त्री भएका बेला उनले गरेका देशका लागि आवश्यक पर्ने शासनसम्बन्धी व्यवस्था र सुधारका आधारभूत कुरालाई नै युगानुकूलन गर्दै आजसम्म आएको देखिन्छ ।
व्यक्तिका नाममा र जातिका नाममा रहेको नेपाली वनलाई राष्ट्रियकरण गर्नु, जमिनको हदबन्दी तोक्नु, देशको वार्षिक आयव्यय संसद्मा प्रस्तुत गर्ने प्रथा बसाल्नु, गाउँगाउँमा रहेका राजाका श्रीपेच भत्ता खारेज गर्नु, मुक्तिसेनालाई राष्ट्रिय सेनामा मिलाउनु, वाक् प्रेस लेखन स्वतन्त्रता कायम गर्नु जस्ता अनेकौं सुधारका काम गरेका थिए । बनेपा-सिन्धुली बाटो, भैंसे-हेटौंडा बाटोको कल्पनाकार पनि उनी थिए । उनले गरेका समग्र कार्यको विवरण कैलाश प्रधानांगको ‘चाणक्य र बीपीको तुलनात्मक अध्ययन’ शीर्षक शोधप्रबन्धमा विशद प्रस्तुति छ । शासन सत्ताका नायक बनेका भए पनि बीपीलाई नेपालको राज्यसत्ताले जति दुःख दियो त्यति कसैलाई दिएन होला तर उनले कहिल्यै गुनासो गरेनन् ।
घमण्ड कहिल्यै गरेनन् । शालीनता र सुसंस्कार उनको आत्मसंस्कार थियो । दृढनिश्चय, सैद्धान्तिक निष्ठा, मानव अधिकारयुक्त मानवस्वतन्त्रताका अथक योद्धा थिए बीपी । एक शब्दमा भन्दा मैले जानेदेखिका धेरै मान्छेको धेरथोर मूल्य देखेको छु तर विनामूल्यका मान्छे थिए बीपी । धेरै नेता लेनदेनमा लागेका भेटिन्छन् तर बीपीमात्र एकजना यस्ता राजनेता भेटिन्छन् नेपाली जो राजनीतिको समग्र इतिहासमा जसले बन्दी जीवन, देशबाट निष्काशन, फाँसीका डोरी घाँटीमा सातसात वटा झुण्ड्याएर पनि कहिल्यै कतै सम्झौता गरेनन् र कुनै कुरामा पनि झुकेनन् ।
दुई पूर्ण व्यक्तित्वको विकास
अत्यधिक मान्छेमा एउटा व्यक्तित्वको विकास पनि राम्ररी नहुन सक्छ । बीपीमा दुई भिन्न क्षेत्रका व्यक्तित्वको पूर्णविकास भएको देखिन्छ । समयको आवश्यक्ता अनुसार देशकै दोस्रो दलका रूपमा उनले खोलेर मिलाएर विकास गरेको नेपाली कांग्रेस ८६ वर्षसम्म पनि देशको प्रमुख दलका रूपमा आज पनि रहिरहेकै छ । उनी नै त्यस्ता पहिला नेपाली हुन् जसले राजनीतिमा लागेर देश र जनतालाई मात्र होइन अनेकौं विकार विकृतियुक्त संस्कारलाई पनि परिमार्जन गर्न आरम्भ गर्यो । जनताबाट निर्वाचित प्रथम प्रधानमन्त्रीमात्र भएनन् दुईतिहाइ सिट पनि ल्याएर दुईतिहाइको प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका थिए एकातिर भने अर्कातिर नेपाली साहित्यको कथामा पहिलो मनोवैज्ञानिक कथाकारका रूपमा पनि उनी स्थापित रहेका छन् ।
राजनीतिको केन्द्रीय व्यक्ति भएर पनि साहित्यमा त्यसको आलोकाँचो गन्धमुक्त साहित्य सिर्जना गर्ने पहिलो नेपाली स्रष्टा पनि हुन् उनी । हिन्दी साहित्यका इलाचन्द्र जोशी र विश्वेश्वरप्रसाद कोइराला समानान्तर वृत्तमा रहेका देखिन्छन् । देश, समाज, व्यक्ति र उसका संस्कार संस्कृतिका अतिरिक्त व्यक्तिका अन्तरमनमा रहेका विराट् अभीप्सा र कुण्ठाका द्वन्द्वको परिणाम प्रदर्शनका दृष्टिले उनका कथा पठनीयमात्र छैनन् अपितु अविस्मर्तव्य रहेका छन् । २००६ सालमा प्रकाशित भएको ‘दोषी चश्मा’ का कथाको अवस्था यस्तो छ भने पछि प्रकाशित भएको ‘श्वेत भैरवी’ कथासंग्रह पनि झनै दुर्धर्ष कृतिका रूपमा स्थापित भएको छ । साहित्यमा कोइरालाले कविता पनि लेखेका छन् ।
कवितामा उनी छायावादका काव्यप्रवृत्तिका नजिक र सुधारकामी कविका रूपमा देखिन्छन् भने निबन्धमा र समालोचनाका क्षेत्रमा उनी सौन्दर्यवादी समालोचक या विश्लेषक र सहज स्वच्छन्द निबन्धकारका रूपमा रहेका छन् ।
वस्तुतः विप्र कोइरालाको प्रख्यातिको क्षेत्र साहित्यमा आख्यान (उपन्यास) र कथा नै हुन् । उपन्यासमा पनिउनको धार आफ्ना समकालीनभन्दा पृथक रहेको छ । उनका उपन्यास मिथकीय दृष्टिले, पौरस्त्य र पाश्चात्य दर्शनका दृष्टिले पनि महत्त्वपूर्ण प्राप्तिका रूपमा रहेका छन् । मनोविज्ञान, सभ्यता, संस्कृति र मिथकीयताका कारणले कोइराला नेपाली उपन्यासका क्षेत्रमा पनि सशक्त स्रष्टा रहेका देखिन्छन् । प्रजातान्त्रिक समाजवादका नेपाली माटोका प्रणेता व्याख्याता र सदृढीकरणकर्ताका रूपमा उनी प्रख्यात छन् नेपाली राजनीतिका क्षेत्रमा । भारतीय भूमिका जवाहरलाल नेहरूले ज्ञान, विज्ञान र इतिहासका क्षेत्रमा महनीय कार्य गरेका छन् ‘विश्वइतिहासको झलक’ नामक पुस्तक लेखेर, उनको सिर्जनात्मक लेखन छैन ।
कोइराला युद्ध, हिंसा, हत्या पटक्क रुचाउँदैनन् । युद्ध र हिंसात्मक क्रियाकलापले मानव र मानवनिर्मित मूल्यका साथै प्राकृतिक सम्पदा पनि समाप्त गर्छ जसको पूरण कदाचित् असम्भव हुन्छ भन्छन् ‘मोदिआइन’ उपन्यासमा । उनको अर्को ‘हिटलर र यहूदी’ मा मानवताको धज्जी उडाउने तत्व यथार्थिक या काल्पनिक जे जुन भए पनि धनी, राजामहाराजा र ईश्वर भनिएका समाजका या संस्कार र प्रकृतिमा रहेका अतिवादी तत्व नै हुन् भनिएको छ ।
गान्धीका चिठी र भाषण संकलित रहेका छन् तर उनको सिर्जना जत्तिकै शक्तिशाली चिठी छन् । राजेन्द्रप्रसादका संस्मरण महनीय रहेका छन् भने बालगंगाधर तिलक वेदविज्ञानका निष्णात मानिन्थे । कोइरालाले १९९६ अघि लेखेका कथा २००६ सालमा छापिएपछि उनी राजनीतिका मैदानमा पुगे । २०१७ साल पुस १ गतेको प्रजातन्त्र, राष्ट्र र जनताको विकासोन्नति घाती कदमपछि सुन्दरीजल सैन्यगृहमा बन्दी भएका बेला छवटा उपन्यास लेखेर नेपाली साहित्यलाई मानवीय रक्त र संस्कार सभ्यतामा शुद्धता खोज्नुभन्दा विकास विस्तार समायोजन र देश, काल, परिस्थिति अनुकूलन गरी जीवनमूल्यलाई नित्य वर्द्धितायन स्थितिमा लैजाने सन्देश सुम्निमा उपन्यासबाट दिएका छन् ।
देशज, इतिहासज, परम्परित कुराभन्दा पनि मानव जीवनका लागि नियति या विधिले दिएको चयनको स्वतन्त्रता महनीय हुन्छ । मान्छे अनेकौं विकल्पमध्ये एउटा कुनै विकल्प छान्न स्वतन्त्र छ । त्यो छनाइबाट दुःख या सुख जे आइपरे पनि प्रशान्त चित्तले भोग्नु पालन गर्नु नै अस्तित्व निर्माणका सोपान हुन् भन्ने कुरो इन्द्रमाया, पीताम्बर र इन्द्रमाया र रमेशका संयोजनबाट जन्मेकी छोरीका माध्यमले अस्तित्ववादको सुन्दर व्याख्या प्रस्तुत गरेका छन् । मान्छे कुल, घरान, जातभात र अन्य कतिपय सामाजिक मूल्यका कारण डरलाग्दा नियतिका भुमरीमा जाकिन पुग्छ भन्ने कुरो परिपुष्ट पारेका छन् ‘बाबु, आमा र छोरा’ उपन्यासका माध्यमबाट । कोइरालाले रिक्सा तान्ने कथामा जुन कुरो उठाएर नेपाली भारतीय समाजमा मानवताको दलमर्दन लतमर्दन गरिएको जुन उदाहरण दिएका थिए रिक्सा तान्ने र रिक्सा तनाउने मालिकबाट प्रतिपादन गरेकै प्रभावमा लैनसिंह वाङदेलले ‘लंगडाको साथी’ २००८ उपन्यासमा अझै सविस्तार ती बिम्बको विकास गरेका छन् ।
कोइराला युद्ध, हिंसा, हत्या पटक्क रुचाउँदैनन् । युद्ध र हिंसात्मक क्रियाकलापले मानव र मानवनिर्मित मूल्यका साथै प्राकृतिक सम्पदा पनि समाप्त गर्छ जसको पूरण कदाचित् असम्भव हुन्छ भन्छन् ‘मोदिआइन’ उपन्यासमा । उनको अर्को ‘हिटलर र यहूदी’ मा मानवताको धज्जी उडाउने तत्व यथार्थिक या काल्पनिक जे जुन भए पनि धनी, राजामहाराजा र ईश्वर भनिएका समाजका या संस्कार र प्रकृतिमा रहेका अतिवादी तत्व नै हुन् भनिएको छ ।
समग्रमा बीपी कोइराला व्यक्ति एक आयाम अनेक बनेर देखिन्छन् । नेपाली समाजको ऐतिहासिक विकासलाई शृंखलाबद्ध अध्ययन गर्ने हो भने । उनी धेरै विश्लेषण गरेर उनका वरिपरिको समग्र समाज, दर्शन मानव सभ्यताले पाएका र गुमाएका कतिपय कुराको सांगोपांग आकलन नगरिकन आफ्नो मत स्थापन गर्दैनन् । जब उनी आफ्नो मत स्थापन गर्दछन् अनि इतिहासदेखि आजैसम्मका पनि कुरा उनका अडान, व्याख्या र प्रस्तुतिका कारणले अकाट्य र अद्वितीय जस्ता प्रतीत हुन्छन् : (१) विप्र कोइरालाको समग्र व्यक्तित्वले असल मान्छेका पक्षमा व्यक्ति र समाज पुग्छ नकि ठूलाठालुका पक्षमा । (२) सैद्धान्तिक निष्ठाका पक्षमा अविचलित व्यक्ति (३) प्रजातान्त्रिक समाजवादी सिद्धान्तलाई युग, देश, समाजसापेक्ष्य व्याख्या गरी नित्य नयाँ प्राप्तितर्फ उन्मुख हुने व्यक्ति (४) राजनीतिमा मर्यादा, नियम, विकास, स्वतन्त्रताको पक्षधर साहित्यमा सर्वतन्त्र स्वतन्त्र वैयक्तिक सिर्जनात्मक स्फुरणलाई महिमा प्रदाताका रूपमा बीपीलाई स्मरण गर्दा नै न्याय हुन्छ ।







अविरल वर्षासँगै बाजुरामा पहिरो, साँफे–मार्तडी
कोरिडोर केन्द्रित कृषि उत्पादन कार्यक्रम
लेदुवा खोलाको पुल सात वर्षदेखि
चोरीको खसी खरिद–बिक्रीको आरोपमा चार
सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन
चितवनमा फेला परेका ३६२ शवमध्ये