काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपद्का बेला सत्ता पक्ष र प्रतिपक्षको परम्परागत सोचभन्दा माथि उठेर राष्ट्रिय एकता र मानवीयताका आधारमा जलवायु न्यायका लागि विश्व समुदायमाझ एकढिक्का भएर उभिन आह्वान गर्नुभएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा समय लिएर बोल्दै सभापति लामिछानेले भोटेकोशी विपत्तिमा सबै एकजुट भएको उल्लेख गर्दै विवेक र मानवीयताको उज्यालोमा देशले फेरि भविष्य खोज्ने विश्वास व्यक्त गर्नुभयो ।
सरकारले दिनरात नभनी सक्दो प्रयासका साथ खोज तथा उद्धारको काम गरिरहेको बताउँदै उहाँले प्रियजन गुमाएका नागरिकले राज्यले केही गरेन भन्दै गुनासो र आक्रोश पोख्नु स्वाभाविक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “गहिरो चोटमा परेको मानिसले भगवान्लाई त सराप्छ भने यो सरकार, रास्वपा र राज्यलाई गुनासो र आक्रोश पोख्नु कुनै ठूलो कुरा होइन ।”
पीडामा रहेका नागरिकमाथि सामाजिक सञ्जालमार्फत अवाञ्छित तथा अमानवीय टिप्पणी गर्ने कार्य सह्य नहुने उहाँले स्पष्ट पार्नुभयो । त्यस्तो कार्यमा रास्वपाका कुनै कार्यकर्ता संलग्न भए पार्टीले कारबाही गर्ने र सरकारले पनि कानुनबमोजिम कारबाही गर्नुपर्ने उहाँको भनाइ थियो ।
सभापति लामिछानेले विपद् व्यवस्थापनका लागि प्रतिपक्षबाट आउने रचनात्मक सुझावलाई सरकारले आत्मसात् गर्नुपर्ने बताउँदै विपद्को नाममा राजनीति नगर्न सबै पक्षलाई आग्रह गर्नुभयो ।
जलवायु सङ्कटबाट प्रभावित नागरिक जलवायु अन्यायका पीडित भएको उल्लेख गर्दै उहाँले विपत्तिका कारक स्वयं पीडित नागरिक नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “जलवायु सङ्कटको असमान भारका कारण जीवन गुमाउन विवशहरूलाई श्रद्धाञ्जली दिएर मात्रै पुग्दैन, विश्वसँग न्याय माग्ने साहस बटुल्नुपर्छ ।”
सभापति लामिछानेले खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र उद्धारकर्ताको प्रशंसा गर्नुभयो । उहाँले विपद्को समयमा मित्रराष्ट्रहरूबाट प्राप्त साथ र सहयोगका लागि धन्यवाद दिँदै निजी क्षेत्र, सञ्चार क्षेत्र तथा गैरआवासीय नेपाली समुदायले गरेको योगदानको समेत प्रशंसा गर्नुभयो ।







कृष्णभीरमा सडकको ट्रयाक खोल्ने काम
एघार दिनपछि एक महिलाको सकुशल
त्रिशूली बाढीको ११ दिनपछि दुई
प्रदेशलाई अधिकार नदिए संघीयता कार्यान्वयन
सिआन महिला पुनर्स्थापना केन्द्रको दुई
अलोकनगरमा निःशुल्क स्वास्थ्य शिविर तथा