काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवाको भोटेकोशी बाढीपछि सरकारले गरेको खोज, उद्धार, उपचार तथा राहत वितरणमा सरकारको भूमिकामाथि प्रश्न उठाउने ठाउँ नरहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्बोधन गर्दै सभापति लामिछानेले विपद्का समयमा सरकारको भूमिकालाई सत्ता र प्रतिपक्षको परम्परागत दृष्टिकोणबाट हेर्न नहुने बताउनुभएको हो ।
उहाँले विपद् सुरु भएदेखि नै सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी खोज, उद्धार, राहत तथा उपचारको काम अघि बढाएको बताउनुभयो । हजारौँ सुरक्षाकर्मी तत्काल प्रभावित क्षेत्रमा परिचालन गरिएको उल्लेख गर्दै उहाँले हवाई उद्धारको ठूलो र व्यवस्थित अभियान यसअघि विरलै भएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, “यो विपद्को समयमा सरकारको भूमिकालाई सत्ता र प्रतिपक्षको परम्परागत चश्माले हेर्नुपर्ने म देख्दिनँ । विपद्को सुरुकै घटनामा सरकारले सम्पूर्ण राज्य संयन्त्र परिचालन गरेर उद्धार, राहत र उपचारको काम सुरु गर्यो । हजारौँ सुरक्षाकर्मी तत्काल प्रभावित क्षेत्रमा खटिए । तथ्यसहित भन्न सकिन्छ, हवाई उद्धारको यति ठूलो र व्यवस्थित अभियान यसअघि विरलै भएको थियो ।”
घाइतेको उद्धार तथा उपचार, विस्थापित परिवारका लागि अस्थायी बसोबास र खाद्यान्न व्यवस्थापनमा सरकारले गम्भीरतापूर्वक काम गरिरहेको उहाँले बताउनुभयो ।
सभापति लामिछानेले बाढी प्रभावित नागरिकको सुरक्षा तथा आधारभूत आवश्यकताको पूर्ण जिम्मेवारी सरकारले लिएको दाबी गर्नुभयो । उहाँले विपद्को समयमा राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर सरकारको प्रतिकार्यलाई हेर्नुपर्नेमा समेत जोड दिनुभयो ।







बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र
सुनसान छन् सौराहाका होटल, पर्यटक
ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा