काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले मन्त्रालयका कर्मचारीहरूले आफूलाई काम गर्न असहयोग गरिरहेको आरोप लगाउनुभएको छ।
बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री यादवले कर्मचारीहरूले उद्योगी व्यवसायीसँगको मिलेमतोमा काम गर्ने गरेको आरोप लगाउनुभएको हो। आफूले उद्योग क्षेत्रमा सुधार गर्न खोज्दा उद्योगी तथा कर्मचारीतन्त्र दुवैबाट अवरोध सिर्जना भएको उहाँको गुनासो थियो।
मन्त्री यादवले मन्त्रालयबाट बन्ने विधेयक तथा कानुनमा समेत उद्योगी व्यवसायीको हितअनुकूल प्रावधान राख्ने गरिएको आरोप लगाउनुभयो। आफूले त्यस्ता व्यवस्था परिवर्तन गर्न निर्देशन दिँदा कर्मचारीहरूले असहयोग गर्ने गरेको उहाँको भनाइ थियो।
उहाँले भन्नुभयो, ‘कर्मचारीले साथ नदिएसम्म तपाईं केही पनि गर्न सक्नुहुन्न। तपाईं भन्नुहुन्छ नि लोकसेवाको ब्रेन छ, त्यो ब्रेन गलत दिशामा लागेको छ। त्यो ब्रेन सही दिशामा लाग्थ्यो भने यो देश कहाँबाट कहाँ पुग्थ्यो ? तर पुग्दैन, किनभने तपाईंको साथ दिँदैन त्यहाँ।’
मन्त्री यादवले आफूले उद्योग क्षेत्रमा सुधारका लागि पटक–पटक निर्देशन दिए पनि कर्मचारीहरूले परिवर्तन गर्न नमानेको बताउनुभयो। विधेयक निर्माणका क्रममा समेत आफूले आवश्यक परिवर्तन गर्न निर्देशन दिँदा कर्मचारीतन्त्रले नमानेको उहाँको आरोप छ।
उहाँले आफूले सुधारका लागि काम गर्न खोज्दा सबैको ‘आँखाको तगारो’ बन्न पुगेको बताउनुभयो। ‘धेरै चेन्ज गर्न खोजिरहेको छु, तर गर्न सकिरहेको छैन। किनभने कर्मचारीले साथ नदिएसम्म तपाईं केही पनि गर्न सक्नुहुन्न,’ उहाँले भन्नुभयो।
मन्त्री यादवले नेपालमा आवश्यकताभन्दा धेरै ग्यास उद्योग सञ्चालनमा रहेको दाबी गर्दै उद्योगको संख्या घटाउनुपर्ने बताउनुभयो। उहाँका अनुसार नेपालमा ५८ वटा ग्यास उद्योग आवश्यक नरहेको भन्दै ग्यास आपूर्ति सहज बनाउन दुईवटाभन्दा बढी उद्योग आवश्यक नभएको उहाँको धारणा छ।
उहाँले भन्नुभयो, ‘दुईवटाभन्दा बढी ग्यास उद्योग चाहिएको छैन। साँच्चिकै सोध्नुहुन्छ भने धेरैमा दुईवटा। अरू सबै खारेज गर्नुपर्छ।’
ग्यास आपूर्ति सहज बनाउन आफूले उद्योगीहरूलाई बोलाएर पटक–पटक छलफल गर्ने प्रयास गरे पनि अपेक्षित परिणाम नआएको उहाँले बताउनुभयो। उद्योगीहरूको प्रभावबाट नीति निर्माण प्रक्रिया मुक्त नगरेसम्म ग्यास आपूर्तिको समस्या समाधान गर्न कठिन हुने उहाँको दाबी थियो।
मन्त्री यादवले उद्योगीहरूलाई सरकारी समिति तथा कानुन निर्माण प्रक्रियामा प्रभाव पार्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रहितलाई केन्द्रमा राखेर कानुन निर्माण गर्नुपर्ने भन्दै उहाँले उद्योगीहरूको प्रभावबाट समितिहरूलाई मुक्त गर्नुपर्ने बताउनुभयो।
नेपालमा स्वदेशी उद्योग स्थापना गर्ने वातावरणसमेत सहज नरहेको उहाँको भनाइ थियो। कच्चा पदार्थ आयात र तयारी वस्तुको आयातमा रहेको भन्सार नीतिमा पुनरावलोकन आवश्यक रहेको उहाँले बताउनुभयो।
सस्तो मूल्यमा तयारी वस्तु आयात हुने तर नेपाली उद्योगले उत्पादनका लागि आवश्यक कच्चा पदार्थ महँगोमा आयात गर्नुपर्ने अवस्थाका कारण स्वदेशी उद्योगले प्रतिस्पर्धा गर्न नसकेको उहाँले उल्लेख गर्नुभयो।
मन्त्री यादवले आफूलाई सरकारको समर्थन रहे पनि कर्मचारीतन्त्रको असहयोगका कारण अपेक्षाअनुसार काम गर्न नसकेको गुनासो गर्नुभयो। कर्मचारीतन्त्रमा सुधार आवश्यक रहेको भन्दै उहाँले युवाहरूले चाहेमा प्रशासनिक संरचनामा सुधार गरेर अघि बढ्न सकिने धारणा राख्नुभयो।







उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज
रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या
जेनजी आन्दोलनका सहिदको अनुहारसँग सालिक