काठमाडौँ । जेन–जी अभियन्ता मिराज ढुंगानाले नयाँ सरकार गठन भएपछि जनजीविकाका सवालमा अपेक्षित सुधार आउन नसकेको बताउनुभएको छ।
बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उहाँले महँगी बढेको तथा सरकारले सुशासन र सामाजिक न्यायको क्षेत्रमा समेत प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनुभयो।
अभियन्ता ढुंगानाले महँगीको सबैभन्दा बढी मार गृहिणीहरूले खेप्नुपरेको बताउनुभयो। उहाँका अनुसार एक साताका लागि आवश्यक तरकारी खरिद गर्नसमेत दुई–तीन हजार रुपैयाँ खर्च गर्नुपर्ने अवस्था आएको छ।
उहाँले सरकारसँग सुशासनको अर्थबारे प्रश्न गर्दै नागरिकले अनुभूति गर्ने गरी सामाजिक न्याय कार्यान्वयन हुन नसकेको बताउनुभयो। विभिन्न पक्षसँग सरकारले गरेका सम्झौता कार्यान्वयन नभएको भन्दै उहाँले गरिमा चौधरी, गणेश नेपाली तथा जेन–जीसँग भएका सम्झौता अहिले कहाँ छन् भनेर प्रश्न गर्नुभयो।
उहाँले भन्नुभयो, ‘नयाँ सरकार आएपछि उपलब्धि के भयो भनेर मलाई सोधियो। म जनजीविकामा कुनै सुधार देख्दिनँ। गृहिणीहरू सबैभन्दा बढी पीडित छन्। महँगी आकाशिएको छ। एक हप्ताको तरकारी किन्न पनि दुई–तीन हजार रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ।’
सुशासनको नारा दिनेहरूसँग यसको अर्थबारे प्रश्न गर्दै उहाँले भन्नुभयो, ‘सुशासन भनेको के हो ? यो देशमा सामाजिक न्यायसमेत डेलिभर भएको छैन। गरिमा चौधरी, गणेश नेपाली र जेन–जीसँग गरिएका सम्झौता आज कहाँ छन् ? ती सम्झौता कुन डस्टबिनमा पुगे ?’
आफूले विगतमा उठाएका विषय र राखेका अडानबाट पछि नहटेको उहाँले स्पष्ट पार्नुभयो। आफ्ना प्रश्न उठाउँदा आफूलाई अराजक भनिए पनि ती विषयमा आफ्नो अडान अहिले पनि कायमै रहेको उहाँको भनाइ छ।
‘म आफ्ना शब्दबाट पछाडि हटेको छैन र हट्ने पनि छैन। सायद त्यसैले म सडकमा छु र मलाई सडकमा नै हुन मन छ। मलाई सत्ताको लोभ छैन, कुनै पदको लोभ छैन,’ उहाँले भन्नुभयो।
आफू सडकमा रहनुको कारण पनि यही अडान रहेको ढुंगानाले बताउनुभयो। उहाँले सरकारलाई विगतमा विभिन्न पक्षसँग गरिएका सम्झौता तथा प्रतिबद्धतामा फर्किएर तिनको कार्यान्वयनको अवस्था समीक्षा गर्न आग्रह गर्नुभयो।







उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज
रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या
जेनजी आन्दोलनका सहिदको अनुहारसँग सालिक